दिसामुक्त अभियान तीव्र

दैलेख, २० असार । यतिबेला देशभरका किसानलाई असारको चटारो छ । तर, दैलेखका किसानले भने असारकै चटारोमा पनि गाउँलाई दिसामुक्त बनाउने अभियानलाई जारी राखेका छन् । यहाँका गाउँलेबीच दिसामुक्त गाउँ बनाउने होडबाजी नै चलेको छ ।

यही अभियानअन्तर्गत मंगलबार ठूलो तामझामका साथ खड्काबाडा गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । योसँगै दैलेख जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गाविसको संख्या १२ पुगेको छ । मेहेलतोली, लाँकुरी, बडाभैरव, बडाखोला, तोलीजैसी, पगनाथलगायतका गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
कतिपय गाविसमा शौचालयहरू निर्माण नहुँदै अस्थायी शौचालयहरू बनाएर भए पनि खुला दिसामुक्त घोषणा गरिएका छन् । गतहप्ता मात्र सिगासैन गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । स्थानीयवासीले पर्याप्त पूर्वाधार निर्माण नगरी खुला दिसामुक्त गाविस घोषणा गरिएको गुनासो गरेका छन् । ‘पानीको व्यवस्ता गर्न जरुरी छ पिउने पानी नै छैन गाउँबाट एक–डेड घन्टा लगाएर पानी ल्याउनु पर्छ,’ सिगासै–६ की स्थानीय एक महिलाले भनिन्, ‘सरसफाइ पूर्ण रूपमा भएको भन्दै हचुवाका भरमा गाविसलाई खुला दिसामुक्त घोषणा गरियो ।’
यसअघि नै सन् ०१२ सम्म दैलेख जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सर्वदलीय सहमति भएको थियो । यही साता थप चार गाविसलाई खुला दिसामुक्त घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया