सुन्तलीको सन्तुष्टि

खुसी पाउने चाहना सबैको हुन्छ । आफन्त होऊन्, परेकाबेला हेरचाह अनि संरक्षण पाइयोस्, आफूलाई पुग्ने घरजग्गा अनि सम्पत्ति होस् । सुखद जीवनको परिकल्पनाभित्र यी सबै कुराको अपेक्षा गर्छ मानिस । यी साधनले जीवन बलियो भएको अनुभूति गराउँछन् । तर, भोगाइ अनि दृष्टान्त साक्षी छन्, यस्तो सुख सबैका भागमा पर्दैनन् । अनि जिन्दगीका दुखाइलाई सँगालेर तिनैका भरमा एउटा सम्पूर्ण जीवन बाँच्छन्, निरीह आत्माहरू । देख्नेहरू रूखो दृष्टान्त बनाउन थाल्छन्, यसरी पनि खुसीसाथ बाँच्नु पो बाँच्नु त † चितवनको कोराकमा पुगेर सुन्तलीमाया चेपाङलाई भेट्नेले पनि कृत्रिम संवेदनाका यस्तै वाक्य बाँड्दा हुन् । करिब सात दशक उमेरले लुछिसेकको कमजोर शरीर अझै घोटिरहिछन् उनी जीविकाका लागि, सुकुम्बासी जिन्दगीभित्रका दुरूह समस्यासँग जुधेर । अनि तिनै दु:खबीचबाट चुहिने केही सानातिना खुसीले पनि उनलाई असीम सन्तुष्टि प्रदान गरिरहेछन् ।
धादिङको पखेरामा जन्मिएकी उनी । बाबुआमाको काखको न्यानो कस्तो हुन्छ, उनलाई थाहा छैन । न त बिहेपछिको न्यानो दाम्पत्य संरक्षण । ‘थाहा पाउने हुँदा बाबुआमा ‘नुन लिन’ गइसकेका रहेछन्’, उनले सम्झिइन् । उमेर यकिन बताउन सक्दिनन् । मनमनै गम्छिन्, ‘बुढा १४ वर्षका छँदा बिहे भएको हो, खोइ कति वर्ष पो भएँ †××’ त्यो बिहे थियो वा के थियो, परम्पराअनुसार धादिङ भालडाँडाका जमानसिंह चेपाङसँग सिन्दुरपोतेको अर्थ नबुझ्ने उमेरमै उनको लगनगाँठो कसिएको चाहिँ पक्कै हो । यही संयोगबाट सुरु भए उनका संघर्षका गाथाहरू । नारी भएर जन्मनुका व्यथाहरू ।
बिहेपछि लगातार नौ सन्तान जन्मिए । सातवटा काखैमा बिते । ‘कोही पाउनेबित्तिकै, कोही ५/६ महिनामै त कोही टुकुटुकु हिँड्ने भए’सि ।’ उनीहरू कुन रोगले मरे, त्यसको कुनै सुइँको छैन सुन्तलीलाई अहिलेसम्म । लगातार सन्तान मर्नाले उनको पिरलोचाहिँ कम थिएन उतिबेला । चिन्ताले मन खङ्ग्रङ्गै बनाउँथ्यो । आफ्नै कोखमा पो केही खोट छ कि भनेर धामीझाँक्री पुकारिन् । गाउँका जान्नेलाई गुहारिन् । जान्ने झाँक्रीले ‘विद्या’ दिएछन्, ‘सौताने ग्रह रहेछ, त्यसैले बच्चा मारेको । अब श्रीमान्लाई अर्को बिहे गराइदेऊ सब ठिक †’
अन्धविश्वासमा जन्मिएर त्यसैमा हुर्किएकी उनी धामीको वचनलाई झूटो मान्न कहाँ सक्थिन् र ? आफ्नै कोख अनि कर्मलाई धिक्कारिन् र सुरु गरिन् आफ्नै लागि सौता खोज्न । धादिङको स्यादुलमा बाहुनका घरमा काम गर्न बसेकी बिरामी पालु चेपाङलाई आफैंले बोकेर घर ल्याइन् । ‘सौतेनी ग्रह काट्न, सौतालाई नै बोकेर ल्या×को बाबै’, चाउरी परेको मुख छोप्दै बेस्सरी हाँसिन्, अनि थपिन्, ‘चार बिसौनी बोकेर भालडाँडा ल्याएको ।’ ग्रह काट्न आफैंले ल्याएकी बिरामी सौतालाई भने झाँक्रीले ‘निको’ बनाइदिए । तर, उनका सन्तान त्यसपछि पनि बाँचेनन् । बाँकी छन् दुई छोरी मात्रै ।
उनको परिवार भालडाँडाबाट जुटपानीस्थित प्यारीढाप बसाइँ आए । चामलको भात खान चितवन झरेका । उतिबेला फाँडेर बनाएको ऐलानी भए पनि जग्गा प्रशस्तै थियो । ‘सौता र मेरो ६०/६० रुपियाँ जाने फूली र बुलाकी बेचेर जग्गा जोडेको’, यद्यपि त्यो समय भने उनी सम्झन सक्दिनन् ।
आफैंले भित्र्याएकी सौता र सम्पत्ति दुवै उनका आफ्ना बनेनन् । श्रीमान् पनि वैरी भए । एक्लै हुर्किएकी उनी फेरि एक्लिइन् । सौतेनी व्यवहार खपिनसक्नु भएपछि चितवन र पर्सा जिल्लाको सिमानामा रहेको बाँदरझुला गइन् । सौताको माहिला छोराका दुई नातिलाई साहराको आशमा साथै लिएर गएकी थिइन् । त्यहाँ पनि आफ्नै बलबुताले दुई बिगाहा जग्गा, हलगोरु पनि जोडेकी थिइन् । ‘तर, १४ वर्ष अघि, ‘बुढाले आइज कि आइज भनेर खबर गरेपछि बाँदरझुलामै बसिरहन सकिनँ ।’ अ‍ैलानी नै भए पनि आफ्नै बलबुताले जोडेको जग्गा, घर, एक हल गोरु जम्मा ३६ हजार रुपियाँमा ‘फालेर’ श्रीमान् भेट्न कोराक–८, काबरमा आइन् । ‘घरबारी सबै त्यत्तिकै छोडेर दुईवटा नाति अघि लाएर राति नै जंगल पसेको, बिहान छर्लङ्ग हुँदा पो नारानघाट आइपुग्यो’, श्रीमान्लाई भेट्न आएको दिन सम्झँदै थिइन् उनी ।
बेलाबेलामा आफ्ना कुरासँगै चाउरी परेको अनुहारमा मनैदेखि आएको हाँसोलाई खित्कामा बदलिदिन्थिन् । अनि फेरि आफ्ना कुरा सुरु । पोल्टाको ३६ हजार नारायणगढमा लुटियो । ‘हारगुहार माग्न चिनेजानेको कोही छैन । फेरी दुई बालकको साथमा आइमाई मान्छे ।’ दश नङ्ग्रा खियाएर जोडेको जायजेथा एकैछिनमा सकिएपछि उनी रित्तोहात कोराक पुगिन् । त्यहाँ पुग्दा पनि हालत उस्तै । सौता मरिसकिछन्, भएका गरगहना श्रीमान्ले बेचिसकेछन् । ‘अहिलेको सबै नम्बरी जग्गा उतिबेला हाम्रै थियो’ । तर, उनी भने अझै ऐलानीमै छिन् । उतिबेला आफंैले खोस्रिएर अहिले पराइका नम्बरी जग्गा बनेका भूमि देख्दा उनी भावुक हुन्छिन् । उनीचाहिँ दरिएकी छिन्, चितवनका सुकुम्बासीको कित्तामा ।
भेटेको केही दिनमा श्रीमान् पनि खसे । कोराकमा दुईपाखे खरले छाएको झुप्रोमा सुकुम्बासी बनेर बस्न थालिन् । स्थानीय सत्यदेवी सामुदायिक वन कार्याललयका आडैमा उनको झुपडी थियो । ‘बार पनि थिएन । हावा पानी आए थाङ्ना–मुङ्ना बोकेर अर्काको घरमा शरण लिन पुग्नु पथ्र्यो ।’
एक वर्षयता घर फेरिएको छ । सामुदायिक वनले एकलख ५० हजार लागतमा पालीसहितको घर बनाइदिएको छ । टिनले छाएको, ब्लक लगाएर बनाइदिएको घरमा सुन्तली सरेकी छिन् । रातसाँझ अर्काको घरको शरणमा जाने दिन सकिएका छन् । बुढेसकालमा भातभान्छाका लागि पनि सुन्तलीले सुख पाएकी छिन् । जेठो नाती जंगलालले गएको मंसिरमा बिहे गर्‍यो । ‘भात पकाउन, भाँडा माझ्न पर्दैन,’ उनी भन्छिन्, सबै नातिनी बुहारीले गर्छे ।’ जीवनका हरेक दु:खलाई आत्मसात गर्दै आएकी उनलाई आफ्नो नामको जमिन नभए पनि मनको खुसी भने कम्ती छैन । अब एउटै चाहना छ, ‘सजिलो गरेर मर्न पाए हुन्थ्यो, कसैलाई दु:ख दिनुपर्ने थिएन ।’

प्रतिक्रिया