आफ्नै खाडलमा माओवादी

वार्ता, सहमति, सहकार्य साथै सद्भावभन्दा बन्दुक, गोली, लाठी, तोडफोड र झडप मन पराउने एनेकपा माओवादी र नेकपा–माओवादीबीच मुलुकका विभिन्न स्थानमा झडप हुन थालेको छ । केही समयअघि विभाजित यी दुई पार्टीबीच सैद्धान्तिक विवादले खासै मान्यता पाएन । पुष्पकमल दाहाल पक्षलाई मोहन वैद्य पक्षले दक्षिणपन्थी, संशोधनवादीको आरोप र दाहाल पक्षले वैद्य पक्षलाई उग्रवामपन्थी, जडसूत्रवादीको आरोप लगाउनबाहेक अन्य भिन्नता छुट्याउन सक्ने खालको छैन । तर, द्वन्द्वकालमा पार्टीले लुटेको, कब्जा गरेको, आतंकित पार्दै चन्दा असुलेर जम्मा गरेको र अवैधानिक तरिकाले आर्जन गरेको सम्पत्तिमाथि भने दुवै पक्षले दाबी गर्न थालेका छन् । आयस्रोतविना अथाह सम्पत्ति जम्मा गरेको एमाओवादीलाई अहिले त्यही सम्पत्तिले विवादमा तानेको हो । अवैधानिक ढंगले जम्मा गरेको त्यही अपारदर्शी सम्पत्ति कसले कब्जा गर्ने भन्ने सिलसिलामा मुलुकका विभिन्न स्थानमा झडप हुन थालेका छन् । यी दुई पक्षबीचको झडपले उग्ररूप लिँदा समाजमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । तसर्थ, यस्ता खालका झडप रोकेर सहमतिमै सम्पत्ति बाँडफाँड गरेर माओवादीले समस्या सुल्झाउनुपर्छ ।
२०५२ सालदेखि सशस्त्र युद्धमा होमिएको माओवादी पार्टी संविधानसभाको निर्वाचनपछि ठूलो दल बन्न सफल भयो । तर, आफ्नो युद्धकालीन घङधङीबाट मुक्त हुन सकेन । हतियारसहितको लडाकु बनेका र माओवादीको सदस्य भएपछि लडभिड तोडफोड र काटमारमा उत्रनै पर्छ भन्ने मानसिकता बोकेकाहरूले सैद्धान्तिक र वैचारिक ज्ञान लिनै पाएनन्, जसले गर्दा आपसमै भए पनि लड्ने–भिड्ने प्रवृत्तिको विकास भयो । यो प्रवृत्तिलाई माओवादीका दुवै पक्षले बेलैमा सैद्धान्तिक ज्ञानद्वारा हटाउन सक्नुपर्छ अन्यथा यही प्रवृत्तिले अराजक अवस्था निम्त्याउनेछ । शिक्षा र सामाजिक व्यवहारभन्दा पर रहेर १५ वर्ष लामो जीवन सशस्त्र युद्ध र ध्वंसात्मक कार्यमा सक्रियतापूर्वक लागेको व्यक्तिले आफूले जे जानेको छ त्यही गर्छ । युद्धकालमा माओवादीलाई ठीक भएको लडाकु व्यक्ति अहिले घाँडो हुन सक्छ । हतियार नै राज्यसत्ता प्राप्तिको एक मात्र माध्यम ठान्दै आएको नेतृत्वले आफू मात्र सुध्रिएर हुँदैन । कार्यकर्तालाई पनि त्यही खालको शिक्षा दिन सक्नुपर्छ । जतासुकै साना हतियारहरू छ्यासछ्यास्ती छन् । जहाँसुकै जुनसकै बेला गोली पड्किन सक्छ, जसले माओवादीलाई आतंकित नबनाए पनि समाजलाई आतंकित बनाउन सक्छ । यसर्थ, माओवादीका दुवै पक्षले आफ्ना कार्यकर्तालाई अब लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्न र फरक विचारको सम्मान गर्न सिकाउन जरुरी छ ।
चितवन भरतपुरमा पार्टी कार्यालय कब्जाको विषयलाई लिएर वैद्य र दाहाल पक्षमा गोली हानाहान भयो । यो घटना माओवादीका कार्यकर्ताका हकमा स्वाभाविक भए पनि स्थानीय जनतालाई भयभीत बनायो । यसरी माओवादी झडप विस्तार हुँदैछ । यो राम्रो होइन । अथाह सम्पत्तिको अपारदर्शी प्रयोगले एमाओवादीभित्र पहिलेदेखि नै विवाद थियो । पालुङटार विस्तारित बैठकमा पनि यो विषय प्रमुख रूपमा उठेको थियो । तर, पार्टीको सम्पत्ति पारदर्शी गर्न सक्ने अवस्था एमाओवादीमा छैन । अहिले सम्पत्तिभन्दा पनि दुई पक्षबीचको द्वन्द्वले उग्ररूप लिएपछि हुने क्षतिबारे आँकलन गरेर सर्वसाधारणमा त्रास पैदा हुन थालेको छ । सत्ता र सडक दुवै ठाउँमा रहेको एमाओवादीले आफूभित्रको समस्या समाधान गरेर जनतालाई आश्वस्त बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया