चन्द्रमा घुम्न जाने हो ?

काठमाडौं, १७ असार । अन्तरिक्ष अभियान अब बाह्य विश्वको खोज वा अनुसन्धानको विषयमा मात्र सीमित रहेन । अन्तरिक्ष अब नयाँ क्षेत्र अवलोकनको विषय पनि बन्ने भएको छ । वैज्ञानिकहरूको अन्तरिक्ष खोजीको पछिल्लो अभियानले यसलाई नयाँ रूप दिएको छ । यस्तो नयाँ अभियानमा अमेरिका तथा बेलायत निजी कम्पनीले आफूलाई प्रतिस्पर्धामा उतारिसकेका छन् । दुवै देशका कम्पनी तपाईंलाई चन्द्रमाको सयर गराउन तयार छन् । तर, त्यसका लागि तपाईंले करिब १५ करोड अमेरिकी डलरको जोहो गर्नुपर्ने हुन्छ ।

वैज्ञानिकहरूको अथक प्रयासको पछिल्लो चामत्कारिक उपलब्धिका रूपमा मानवजगत्ले अब चन्द्रमाको भ्रमण गर्न पाउने भएका हुन् । बेलायतको आइरिस सीमा रहेको आइल अफ म्यानमा अवस्थित एक्सक्यालिबर अलमाज नाम गरेको कम्पनीले जुन १९ मा चन्द्रमा भ्रमणका लागि टिकट उपलब्ध गराउन थालेको छ । यसअघि अमेरिकी अन्तरिक्ष पर्यटन संस्था स्पेस एड्भेन्चर्सले यस्तै टिकट उपलब्ध गराएको थियो । यसका लागि दुवै कम्पनीले एक स्थानका लागि १५ करोड अमेरिकी डलर लिने भएका छन् । यसमा महिनौँसम्म पृथ्वीमै तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । अर्कातिर दुवै कम्पनीले चन्द्र धरातलमा पर्यटकलाई लैजान नसक्ने बताएका छन् ।
पृथ्वीबाट चन्द्रमासम्मको पाँच लाख माइलको यो यात्रा सन् २०१५ को आरम्भसम्म सुरु हुने अनुमान गरिएको छ । हुन त अन्तरिक्ष अभियानमा अमेरिकाले पूर्वसोभियत संघमाथि विजय हासिल गरेको दाबी गरेको थियो । यसपटक पूर्वसोभियत संघको उत्तराधिकारी रूसले विजय हासिल गरेको देखिएको छ । अमेरिकी तथा बेलायती दुवै कम्पनीले रूसमा बनेका रकेट तथा अन्तरिक्षयान उपयोग गर्ने भएका छन् । स्पेस एड्भेन्चर्सले सोयुजलाई पुन: प्रयोग गर्ने योजना बनाएको छ । यसै अन्तरिक्षयानमा बसी सातजना अन्तरिक्ष पर्यटकले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसम्मको यात्रा पूरा गरेका थिए । एक्सक्यालिबरले सोभियत सशस्त्र सेनाले तयार गरेको दुई अलमाज अन्तरिक्ष केन्द्रलाई पुन: काम गर्न सक्ने बनाउने योजना बनाएको छ ।
अन्तरिक्ष पर्यटन छोटो समयको भए पनि यसको तयारीका लागि लामो समय दिनुपर्छ । त्यसै पनि यी दुवै व्यापारिक संस्थाले ठूला इन्जिनियरिङ समस्या भोग्नुपर्छ । स्पेस एड्भेन्चर्ससँग पहिले नै राम्रैसँग परीक्षण गरिएको सोयुज विमान त छन् तर ती सन् १९६० देखि कुनै न कुनै रूपमा उपयोग भएका छन् । यसमा पनि अझै राम्रो दूरसञ्चार प्रणाली आवश्यक पर्छ । बाहिरको दृश्य हेर्न ठूलो झयाल चाहिन्छ र पृथ्वीमा पुन: फर्कन राम्रो ताप निरोधक कवच चाहिन्छ । त्यसो त यस विमानलाई पृथ्वीको कक्षबाट चन्द्रमाको कक्षमा जानका लागि अर्को पृथक रकेट आवश्यक पर्नेछ ।
अर्कातिर अलमाजको ठूलो अन्तरिक्ष केन्द्रलाई चन्द्रमासम्म पुर्‍याउन निकै कुरा परिवर्तन गर्नुपर्छ । यसलाई अगाडि धकेल्न उच्च प्रविधिको प्रणाली आवश्यक पर्छ । यसको अर्थ अलमाजलाई यस्तो परिवर्तनका लागि ६ महिना लाग्न सक्छ । त्यसै पनि अन्तरिक्षयात्रा निकै जोखिमयुक्त छ र सूर्यबाट निस्कने ऊर्जाले दिने समस्या अर्कातिर स्पष्ट नै छ र यी कम्पनीहरूले आफ्ना यात्रुहरूलाई यस्तो जोखिमबाट जोगाउन अनेकौँ सुधार गर्नु आवश्यक छ । अलमाजले किनेको विमानले सन् २०१५ देखि २०२५ सम्म ३० स्थान उपलब्ध गराउनसक्ने अनुमान गरिएको छ । त्यसो त दुवै कम्पनीले हालसम्म अन्तरिक्ष यानहरूमा समायोजन गर्ने काम आरम्भ गरेका छैनन् । यो काम गर्न करिब तीन वर्ष लाग्न सक्छ ।
हाल उनीहरूले आफ्नो टिकट पहिले नै उच्च प्रविधिको ज्ञान भएका, अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेका वा पृथ्वीको तल्लो कक्षमा आनन्दका लागि पुग्ने प्रयास गरेका र पैसा तिरेर यस्तो अनुभव लिन चाहेका व्यक्तिहरूलाई बेच्न चाहेका छन् । स्पेस एड्भेन्चर्सले अहिले नै एउटा टिकट बिक्री भइसकेको बताएको छ । यसका कारण एक्सक्यालिबर अलमाजले आफ्नो यात्रीका लागि अझै राम्रो प्रस्ताव राखेको छ । उसले पहिलो अन्तरिक्ष यात्रीले कम्पनीको सेयरसमेत प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जाने पर्यटकले हालसम्म दुई करोड अमेरिकी डलरदेखि तीन करोड ५० लाख अमेरिकी डलरसम्म तिरेका छन् भने चन्द्रमाको कक्ष पुग्न यसको सात गुणाभन्दा बढी रकम तिर्नुपर्छ । साथै महिनौँसम्मको शारीरिक तथा मानसिक तालिम पनि आवश्यक पर्छ । हालसम्म त यी विमानको इन्जिनियरिङ आवश्यकता नै पूरा गर्न बाँकी छ । यो पूरा भए पनि विश्वका कतिजना अर्बपतिहरू यो जोखिम मोल्न तयार हुनेछन् भन्न कठिन छ । के तपाईं तयार हुनुहुन्छ ? यदि तयार हुनुहुन्छ भने १५ करोड अमेरिकी डलरको जोहो गर्नुहोस् र पर्यटनका लागि चन्द्रमातिर लाग्नुहोस् । (रासस/एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया