विशाल र सानीआमा

विशाल टिभी खुब धेरै हेर्न थालेको थियो । भर्खरै उसको टिभीमा केबुल लाइन पनि जोडिएको थियो । पहिले नेपाली च्यानल मात्र हेर्ने ऊ हिजोआज स्कुलबाट फर्किनासाथ कार्टुन नेटवर्क, डिज्ने, जेटिक्स, निकजस्ता च्यानलमा कार्टुन हेर्दै राति अबेर मात्र सुत्ने गथ्र्यो । यही कारण विशालको पढाइ बिस्तारै खस्किँदै गयो । आमाबुबाको एक्लो छोरो भएका कारण पुलपुलिएको थियो । केही भन्यो कि रोइहाल्ने, रिसाइहाल्ने गथ्र्यो । त्यसैले आमाबाबु केही भन्दैनथे ।
राति अबेरसम्म टिभीमै बिताउने भएपछि ऊ स्कुलबाट दिइएका होमवर्क गर्नै भ्याउन छाड्यो । त्यत्तिकै स्कुल जान्थ्यो । गुरुले ‘पढेर आऊ’ भनेका पाठहरू पढ्दैनथ्यो । कक्षाकोठामा निद्रा नपुगेजसरी झुलेर बसिरहन्थ्यो । उसको यो बानीबाट वाक्कै भएर स्कुलले उसका बाबुआमासमक्ष ‘कम्प्लेन’ गर्न थाल्यो । अभिभावकलाई पर्नु पिर पर्‍यो ।
एकपटक विशालकी सानीआमा शान्ति केही दिन बस्न भनेर विशालको घरमा आउनुभयो । उहाँ बालमनोविज्ञानकी ज्ञाता हुनुहुन्थ्यो । विशालका अभिभावकले उसको टिभी हेर्ने बानी, बिग्रँदै गएको पढाइ अनि स्कुलबाट आएको कम्प्लेनबारे सानीआमालाई बताए । चिन्ता गरे– अब छोरो बिग्रने भयो । सानीआमाले उहाँहरूलाई नआत्तिन भन्नुभयो र विशालका क्रियाकलाप नियाल्न थाल्नुभयो । बाबुआमाले त अब केही पिटेर पनि तह लगाउनुपर्छ कि भनेर सल्लाह गरे । तर, सानीआमाले बालबालिकालाई पिटेर होइन, माया गरेर बिस्तारै नराम्रो बानीबाट छुटाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।
विशालका क्रियाकलाप नियालिरहेकी सानीआमा अब ऊसँग झन् नजिकिन थाल्नुभयो । स्कुल बिदा भएपछि उसलाई घुमाउन लैजानुभयो । मनपर्ने खानेकुरा, लुगा किनिदिनुभयो । उहाँ जसरी हुन्छ विशालको मन जित्न चाहनुहुन्थ्यो । उसलाई आफूले भनेका सबै कुरा मान्ने बनाउनु थियो । नभन्दै सानीआमासँग बजार डुल्दा, मीठो खानेकुरा र लुगा पाउँदा विशाल झ्याम्मियो पनि । उहाँले भनेका हरेक कुरामा मान्न थाल्यो । अब त ऊ सानीआमासँग बाबुआमासँग भन्दा बढी नजिकियो ।
सानीआमालाई अब विशालले आफूले भनेका सबै कुरा मान्छ भन्ने निश्चित भइसकेको थियो । यही मौकामा उसको अधिक टिभी हेर्ने बानी छुटाउन केही गरिहाल्नुपर्ने विचार गर्नुभयो । एक दिन उसलाई आफ्नो काखमा राखेर भन्नुभयो– विशाल तिमीले मैले भनेको केही कुरा मान्यौ भने म तिमीलाई राम्रो–राम्रो पुरस्कार दिनेछु । सानीआमाको कुरा सुनेर ऊ खुसी भयो । र, भन्यो– त्यसका लागि मैले के गर्नुपर्छ त सानीआमा ?’ सानीआमाले भन्नुभयो– ‘सबैभन्दा पहिले त तिमीले स्कुलबाट आउनासाथ होमवर्क गर्नुपर्छ । त्यसपछि गुरुले भनेका पाठ राम्ररी तयार गर्नुपर्छ । टिभीमा पनि राम्रा शिक्षावद्र्धक कार्यक्रम मात्र हेर्नुपर्छ तर रातभर होइन । यसो गर्‍यौ भने तिमीलाई भविष्यमा पनि फाइदा हुन्छ । राम्रा पुरस्कार र सबैको स्याबासी पाउँछौ ।’
नभन्दै विशालले सानीआमाले भनेका सबै कुरा मान्न थाल्यो । स्कुलबाट आउनासाथ होमवर्क सकिहाल्थ्यो अनि पुरस्कार लिन सानीआमाका अगाडि पुगिहाल्थ्यो । सानीआमा पनि उसलाई काम लाग्ने सामग्री पुरस्कार दिनुहुन्थ्यो र उसको हौसला बढाउनुहुन्थ्यो । टिभीमा पनि ज्ञानवद्र्धक र उसलाई काम लाग्ने कार्यक्रम मात्र हेथ्र्यो । बेलैमा सुत्ने भएपछि बिहान पनि समयमै उठ्थ्यो । स्कुलमा निदाउँदैनथ्यो । सरले भनेका पाठ पनि पहिलेको तुलनामा राम्रो तयारी गरेको हुन्थ्यो । सानीआमाले भनेको मान्दै जाँदा उसको बानी सुध्रिएको थियो ।
यत्तिकैमा सानीआमाको पनि घर फर्कने बेला आयो । विशालका आमाबाबुलाई अब ऊ फेरि बिग्रने हो कि भन्ने चिन्ता लाग्यो । सानीआमा जाने कुराले विशाललाई पनि नियास्रो लागेको थियो । सानीआमाले भन्नुभयो– ‘विशाल † नियास्रो नमान्नू, तिमीले राम्रो पढ्यौ भने अर्कोचोटि आउँदा झन् राम्रो पुरस्कार ल्याइदिउँला ।’ विशालले पनि उहाँलाई अब मनलागी टिभी नहेर्ने, बेलैमा होमवर्क गर्ने, स्कुलमा ननिदाउने वचन दियो । हिँड्ने बेलामा सानीआमाले बाबुआमालाई पनि सम्झाउनुभयो– विशाललाई कहिले पनि नपिट्नु है, बालबालिकालाई गाली गर्ने, तर्साउने गर्नु हुँदैन । बरु माया गरेर राम्रो बानी बसाल्न प्रेरित गर्नुपर्छ ।’

प्रतिक्रिया