जेभिस थापा र जेनिस थापा जुम्ल्याहा दाजुभाइ हुन् । २४ जेठ २०६२ गते जन्मिएका । अहिले उनीहरूको उमेर ७ वर्ष भयो । जेभिस दाजु हुन्, जेनिस भाइ । उनीहरू दुवैको स्वभाव र रुचि एउटै छ । एउटै कक्षामा पढ्छन् । नयाँबजारस्थित अक्सफोर्ड उच्च माविको कक्षा दुईमा । सँगै स्कुल जाने–आउने र अरू काम पनि सँगै नै गर्छन् यी दाजुभाइ । स्कुल जान खुब मन गर्छन् दुवै जना । स्कुलबाट आउनेबित्तिकै उनीहरूको ध्यान होमवर्कमै हुन्छ, त्यसपछि मात्र अरू क्रियाकलापमा लाग्छन् ।
जेभिस र जेनिसका बुबाको नाम जयराम थापा हो भने आमा सरस्वती देउजा (थापा) । बुबा कामका सिलसिलामा विदेशमा हुनुहुन्छ । फोन तथा इन्टरनेटमार्फत बुबासँग उनीहरूको गफ भइरहन्छ । उनीहरूलाई इन्टरनेटबाट च्याट गर्न पनि आउँछ । पढाइ र अन्य कामबाट फुर्सद हुँदा टिभीमा कार्टुन हेर्न रुचाउँछन् । उनीहरू दुवैको मन पर्ने खेल फुटबल हो अनि खेलाडीचाहिँ लिओनल मेस्सी । मेस्सीलाई टिभीमा देख्दा रमाउँछन् दाजुभाइ ।
पढाइमा जाँगरिला नै छन् उनीहरू, कक्षामा राम्रै मानिन्छन् । जेभिसलाई चित्र बनाउन मन पर्छ भने जेनिसलाई प्रविधिबारे चासो लिन । जुम्ल्याहा भएकाले एकअर्काको अनुहार लगभग मिल्दोजुल्दो छ । अपरिचित मानिसलाई त को जेभिस र को जेनिस भनेर छुट्याउनै मुस्किल । एकअर्कालाई खुब माया गर्छन् उनीहरू । मिल्छन्, सँगै खेल्छन् पनि । आपसमा झगडा गर्दैनन् । आफूसरहका अन्य साथीसँग पनि खेल्न मन पराउँछन् । ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ भन्छन् ।
प्रतिक्रिया