विनिता र दिक्पाललाई मुद्दा हाल्छु : विनय


काठमाडौं, १७ असार । आफ्नो नाम र फोटो राखेर फेसबुक आइडी बनाई सबैलाई दु:ख दिएको भन्दै विनिता बराल र दिक्पाल कार्कीविरुद्ध मोडल विनय डिसीले समेत मुद्दा हाल्ने भएका छन् । आफूसँग परिचय नै नरहेका दिक्पाल र विनिताले आफ्नो फोटो राखी मनलागी फेसबुक बनाएको उनको आरोप छ ।
त्यसमा मेल आइडी र फोन नम्बर पनि आफ्नै प्रयोग भएको र त्यसबाट दुनियाँलाई अश्लील गाली गएपछि आफूलाई सयौँ फोन आएर टेन्सन हुने गरेको उनले सुनाए ।
दुई वर्षअघि जिल्ला प्रहरी कार्यालय दाङमा यसविरुद्ध उजुरी गरे पनि प्रहरीले कुनै खोजबिन नगरेका कारण आफ्नो नाममा रहेको विनय डिसीको फेसबुक एकाउन्ट बन्द गरी ६ महिनासम्म फेसबुकविहीन बनेको विनयले बताएका छन् । त्यसपछि आफू अहिले अरमान मलिकको नाममा फेसबुक बनाउन बाध्य भएको उनले खुलाए । ‘केही दिनअघि यो कर्तुत नायिका विनिता र दिक्पालले गरेको थाहा पाएँ, अब उनीहरूलाई मुद्दा हाल्छ ।’ उनले भने, ‘उनीहरूले मेरो करियर बर्बाद पार्न खोजे ।’
करिब तीन वर्षअगाडि साथी बनेका सुहाना लामा र सुनिल चाम्लिङ नाम गरेका व्यक्तिले नै विनय डिसीको नाममा आइडी बनाएको अनुमान उनले गरे । उनले भने, ‘सच्चा साथी सम्झेर आफ्नो सबै विवरण दिएँ, पछि त्यही फोन नम्बर मेरो फेसबुकमा राखेर मलाई गाली गर्न थाले । फेसबुक च्याटमा धेरैजसो यौन, सेक्स र अश्लील शब्द मात्रै बोल्ने गर्थे, त्यसपछि उनीहरूलाई फ्रेन्डलिस्टबाटै हटाएँ । ती व्यक्ति यिनै दुईजना रहेछन् ।’

प्रतिक्रिया