संविधानसभा पुन:स्थापनामा फोरमको असहमति

काठमाडौं, १७ असार । राजनीतिक अन्योलको निकासलगायत विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । शनिबार भएको छलफलमा फोरम अध्यक्ष यादवले प्याकेजमै सहमति हुनुपर्ने भन्दै संविधानसभा पुन:स्थापनामा असहमति राखेका छन् ।

प्रधानमन्त्रीसमक्ष संविधानसभा पुन:स्थापना गर्ने विषयमा आफूले असहमति जनाएको अध्यक्ष यादवले बताए । ‘चार वर्षमा पनि संविधान बनाउन नसकेको संविधानसभालाई कुनै पनि अवस्थामा पुन:स्थापना गर्न सकिँदैन । त्यो विकल्प हुन सक्दैन,’ उनले भने ।
नयाँ सरकार, संविधान निर्माण, चुनावी प्रक्रिया, संघीयतालगायत विषयमा प्याकेजमै सहमति हुनुपर्ने धारणा आफूले राखेको जानकारी दिँदै उनले अब संसदीय चुनाव गर्नुपर्ने बताए । ‘नयाँ संविधानको मस्यौदा बनाऔँ । त्यो मस्यौदालाई आगामी संसद्बाट अनुमोदन गरौँ,’ उनले भने ।
प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमति जुटे आफू पद छाड्न तयार रहेको बताएको जानकारी उनले गराए । ‘वर्तमान अन्योलको निकासका लागि तपाईंले राजीनामा गर्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेँ,’ उनले भने, ‘उहाँले पनि नयाँ सरकार निर्माणका लागि राष्ट्रिय सहमति कायम भयो भने म छाड्न तयार छु भन्नुभयो ।’

प्रतिक्रिया