फुर्वाको यार्लिङ र युयुत्सु

भोलि यतिबेला लन्डनमा हुने ओलम्पिक सेलिब्रेट गर्नका लागि आयोजना गर्न लागिएको ‘पोयट्री प्रनासेस’ को पाहुना हुनेछु म ।’ कवि युयुत्सु आरडी शर्मा केही स्वप्निल हुँदै आफ्नो हालसालै निस्किएको कवितासंग्रह ‘मिलरोपाज् बन्स’ का केही प्रति लन्डन लान ठिक्क पारिएका आफ्ना कृतिहरूका थाकमा राख्छन् । कार्यालय छुटेपछिको उपत्यकाको सडकमा देखिने गाडीहरूको घुइँचो ‘ह्वाइट लोटस’ का ढोकाको सिसाभित्र बसेका हामीलाई समेत सकस हुनेगरी बढ्दो छ । साना–ठूला गाडीसँगै बगेको सडकका किनाराको ‘ह्वाइट लोटस बुक सप’ मा कविको कविताको लन्डन उडानको अघिल्लो साँझ म आइपुगेको छु । संसारभरका दुई सय चार देशका तीन सय कविहरूले भाग लिइरहेका ठाउँमा अंग्रेजी कवितासँगै नेपाली भाषामा पनि कविता वाचन गर्ने कविको नेपाली भाषाप्रेमलाई म सेलिब्रेट गर्दै छु, तात्तातो चियाले ।
साउथब्यांक सेन्टरमा हुन गइरहेको (लेख प्रकाशित हुँदा भइरहेको) बेलायतकै आजसम्मको ठूलो कवि सम्मेलनमा संसारभरका ख्यातिप्राप्त कविहरूको जमघट हुनेछ । यसमा नोबल पुरस्कारले सम्मानित नाइजेरियाका कवि तथा नाटककार ओले सेयन्का अर्का ख्यातिप्राप्त नोबल पुरस्कार विजेता कवि सेमस हेनी तथा पुलिट्जर पुरस्कारले सम्मानित के रायन र पौल मल्डुन पनि सहभागी हुँदै छन् । विभिन्न सत्रहरूमा संसारभरका दुई सय चार देशका लगभग तीन सय कविहरूले कविताका साथसाथै आफ्ना लेखन र समसामयिक काव्य चर्चा गर्नेछन् । लेखनका आरोह अवरोहलाई आफ्ना देशका लवजका चास्नीमा घोलेर प्रस्तुत गर्नेछन् र संसारकै सबभन्दा जेठो विधा कविताको उत्सवमा आफूलाई समाहित गर्नेछन् । कवितामै जीवन अर्पित गरेका महान् समकालीन कविहरूका बीचमा आफूलाई पाउँदा प्राप्त हुने खुसी बाँड्न केही छिन् व्यस्त हुन्छन्, युयुत्सु । उनी फेसबुकका भित्तामा ‘पोयट्री प्रनासेस’ का नवीन सूचनाहरू पनि टाँस्छन् । म ‘ह्वाइट लोटस’ का किताबतिर घोरिन्छु । अनि घोरिन्छु युयुत्सुले सुनाएका उनका विगततिर ।
सन् १९६० मा पञ्जाबको नकोदरमा जन्मेका युयुत्सुका बुबा रामाज्ञादासजीका भक्त थिए । सतलज नदीको किनारमा रहेको रामाज्ञादासजीको आश्रममा बालक युयुत्सु पनि बुबासँग जाने गर्दथे । उनको नाम त्यसबेला ओमप्रकाश थियो । रामाज्ञादासजीले युयुत्सुको नाम ओमप्रकाशबाट रामदास राखिदिए । बुबाले झन्डै गुरुचरणमा चढाएका युयुत्सुलाई राम्ररी पढाउनु भन्दै गुरुले नस्विकारी फर्काइदिए । तब युयुत्सुले पढ्ने मौका पाए । उनी उच्च शिक्षाका लागि पञ्जाबबाट राजस्थान लागे र राजस्थान युनिभर्सिटीमा उनको भेट नेपालका गुणनिधि शर्मासँग भयो । शर्माकै सहयोगमा भर्खरै चौबीस टेकेका युवा नेपाल आए र सुपिंग क्याम्पस भीमफेदीमा अंग्रेजी पढाउन थाले । भिन्न भाषा, भेष, संस्कृति र परिवेशमा उनीभित्रको एउटा लक्का जवान बिस्तारै घुल्न थाल्यो । अनि चिहाउँदै गरेको उनीभित्रको साहित्य कञ्चन पहाडी छाँगा भएर हुत्तिँदै हामफाल्न थाले । पहाडका थाप्लाबाट भीमफेदीको बसाइले उनको पहिलो कवितासंग्रह ‘अ प्रेयर इन डे लाइट’ जन्मियो । जसमा उनका नेपालका सुरुआती दिनका रंग अनि गन्धले गम्केका कविताहरू रहेका छन् ।
‘मैले नेपाललाई यहाँका मानिससँग संगत गरेर मन पराएको हुँ । पहाडका नेपालीहरू संसारकै सुन्दर जातिमध्ये एक हुन् । सदा उन्माद र उत्सवले भरिएको हुन्छ उनीहरूको अनुहार । त्यसमाथि नेपालको भू–बनोट उनी नेपालसँग आफ्नो नाता गाँसिनुको गाँठो खोल्दै जान्छन्’, उनले यतिभन्दा छेवैमा चियाको कप उठाउँदै गरेकी ललितपुर थातथलो भएकी उनकी जीवनसंगिनी मुसुक्क हाँस्छिन् । भीमफेदीपछि उनी राजधानी छिरे, कविता र पहाडको मोहनीले । उनले क्याम्पसमा अंग्रेजी पढाउने काम सुचारु राखे । पाटन मल्टिपलमा पढाए, त्रिचन्द्रमा पढाए र अन्तमा पढाउने काम छाडेर उनी रातोदिन कविता कोर्न थाले । कलेज पढाउन छाडेपछि उनले कुपन्डोलमा ‘ह्वाइट लोटस बुक सप’ खोले । कविता लेख्नु, गोष्ठीहरूमा धाउनु र श्रीमतीलाई पसलमा पालो दिनु उनको दिनचर्या हुन थाल्यो । भीमफेदीमै छँदा भूपी र रिमालका रचनासँग उनी नजिक भइसकेका थिए । नेपाली कविताको शक्तिले उनी लठ्ठिइसकेका थिए । अत : यी कवि र कवितालाई विश्व साहित्यमा लानुपर्छ भनी उनले अंग्रेजीमा अनुवाद पनि गर्न थाले । नेपाली कविताको अनुवाद र नेपालको जीवन्त तस्बिर कोर्ने जमर्कोमा उनका दिनहरू बित्न थाले । यो बुद्धको भूमिमा, यो सगरमाथाको आँगनमा एउटा कवि भएर बाँच्ने संघर्षमा उनी लागे ।
‘यसैको प्रतिफल हो…, भारत र नेपालको प्रतिनिधित्व गर्न पोयट्री प्रनासेसमा मलाई डाकियो ।’ कवि आफ्नो काव्य साधना खेर नगएकामा प्रफुल्ल छन् । भर्खरै न्युयोर्क युनिभर्सिटीमा स्प्रिङ सेमेस्टरमा भिजिटिङ पोयटको रूपमा केही व्याख्यान र कविता पाठ गरी फर्केका उनको मुहारको थकान नमेटिँदै उनी बेलायत जाँदैछन् । यसभन्दा अगाडि पनि क्यानाडाको युनिभर्सिटी अफ ओटाबा र जर्मनीको हाइडलबर्ग युनिभर्सिटीमा उनी भिजिटिङ पोयटका रूपमा उनी गइसकेका थिए । त्यहाँ उनले आफ्नो रचनाकर्मका बारेमा कलेजका साहित्यका विद्यार्थीलाई व्याख्यान दिएका थिए र सुनाएका थिए नेपालका केही कविता । नेपालको प्राकृतिक छटा, नेपालीको सुन्दर मन र झन्–झन् गाँज्दै गएको गरिबी । उनका कविताले युरोप र अमेरिकाका काव्यप्रेमीलाई नेपालबारे सोच्न बाध्य बनाउँछन् । यो पृथ्वीको एकटुक्रा स्वर्गको तस्बिर प्रस्तुत गरिदिन्छन् । उनका यिनै नेपालका, हिमालका कविताहरू अन्य समकालीन कविकासाथ जुबली गार्डेनमा हेलिकप्टरबाट वर्षा गराइनेछ मौसमले साथ दिएमा जुन २६ नभए २७ वा त २८ तारिखका दिन ।
तीन सय समकालीन कविका लगभग एक लाख कविताहरू लन्डनको आकाशबाट वर्षा हुनेछन् । विगतका कहालीलाग्दा युद्धमा हवाइहमला भोगेका बेलायतबासीले सिर्जना वर्षाको आनन्द लिन पाउनेछन् । यसमा वर्षने कवितामा अन्नपूर्ण, गोसाइँकुण्ड अनि हेलम्बुको कुनै ढुंगेनी बाटोको कविता पनि हुनेछ । न्यानो आतिथ्यका लागि संसारप्रसिद्ध कुनै शेर्पा आमा आफ्ना हिमाली शीतल हातहरू मन्त्रेका लुङदरजस्तै फर्फराउनेछिन् र नेपालको मोहनी छरिदिनेछिन् हावामा ।
जुन २६ देखि जुलाई २ सम्म हुने यो कविता उत्सवमा आएका द्वन्द्वका चपेटामा परेका देशका पाँच कविलाई समेटेर ‘एक्जायल इंक’ नामको पोयट्री सोसाइटी अफ इंग्ल्यान्डले पोयट्री क्याफेमा कविता वाचन कार्यक्रम पनि गर्दै छ । त्यसमा युगोस्लाभियाका इडिन सुल्जिक, जिम्बाबेका डुमी सेन्डा, हंगेरीका थमस ओल्यान्ड, साइप्रसका एएम अली र नेपालबाट युयुत्सु आरडी शर्माले द्वन्द्वका पीडा र त्यसका असरको बारेमा लेखिएका कविता वाचन गर्नेछन् । यो भनिरहँदा युयुत्सु आफ्नो हालसालै बजारमा आएको ‘मिलोरोपाज् बन्स’ उठाउँछन् र त्यसै किताबबाट उनी केही कविताहरू वाचन गर्ने जनाउँछन् । ‘तपाईं, मसँगै हेलम्बु घुम्न जाँदाका कविताहरू छन् यसमा ।’ उनी हाम्रो हेलम्बु यात्रालाई ताजा बनाउँछन् । गाडी बिग्रेर चिया खान टाढा जाने हुँदा पाँचखालको जिरो किलोमा गाडी छुटेर यात्राको सुरुआत नै अविस्मरणीय रहेको हाम्रो यात्रा मेलम्चीमा रातिको थकान बिसाउन पुगेको अनि तार्के घ्याङमा पर्व चलाउन काठमाडौंदेखि लर्को लागेका हेलम्बुबासीसँगै उँभो लागेको त्यो तस्बिर आँखाअगाडि नाच्न आउँछ । पाँच दिनको त्यो लेकको यात्रामा देखेका अनि भोगेका नेपाली जीवनलाई उनले उतारेका थिए तत्क्षणै र अहिले त्यो लेक मेराअगाडि सुन्दर किताब भएर हाँसिरहेको थियो गुरु रिम्पोछेको स्वच्छ हाँसो ।
कविताको दिनगन्ती सुरु भइसकेकाले उपन्यास लेख्न थालेको बताउन नचुक्ने निर्लज्ज कविहरूका बीच कविता नै लेखेर बाँचिरहेका युयुत्सु आरडी शर्मालाई उनको भोलि उडानका लागि सामान बाँध्न ढिलो भइसकेको थियो । उनको कार्यक्रमका लागि तयारी बिथोल्न मैले चाहिनँ । कवितायात्रापछिको अनुभूति सुन्न पाइयोस् भन्दै म उठेँ र यात्रा शुभ होस् भन्दै बाहिरिएँ । साँझको घुम्टोमा गुटमुटिन तैयार ललितपुरलाई छाडेर बागमती पुल तर्दा मेरा अगाडि–अगाडि युयुत्सुको ‘फुर्वाको यार्लिङ’ कविताकी फुर्वा थिई । लावण्य गुमाएर यार्लिङहीन हिँड्दै झुत्रा, चिथरा लुगामा खै के–के फलाक्दै गरेकी उसको अनुहार र तत्कालीन देहको अनुहारमा केही फरक थिएन ।

प्रतिक्रिया