काठमाडौंका कला संग्रहालय : दु:खी अनुहार पोट्रेट


कला संग्रहालयका भित्ताभरि देखिन्छन्– अनेकन चित्रमय इतिहास, मत–अभिमत, अनुभव, अभिव्यक्ति । ती भित्ताहरू क्यानभास हुन्, जहाँ अनेक रंग पोतिएका छन् । प्रेम, पीडा, महत्त्वकांक्षा, सपना, सोच, भोग, जीवन, जगत् सबै एउटै रंग–तरेली भएर लहरै उभिएका हुन्छन् भित्तामा । लाग्छ, यी भित्ता मान्छेका आयामिक, पुरातात्विक, आधुनिक सोचका क्यानभास हुन् । काठमान्डूका कला संग्रहालयतिर झुन्डिएका कुनै तस्बिरकी उदास र रुँदारुँदा थाकेकी एउटी नायिकको तस्बिर हेरेर दर्शक कतिबेर कुन अनुभूतिले
घोरिएला ? अनि, भित्तामै टाँगिएकी कुनै न्युड आर्टकी महिलाको बिना लाज पल्टिएको तस्बिरले दर्शक कति भंmकृत होला ? यी आर्टहरू सभ्यताका प्रतिनिधि हुन्, जसको पुरातात्विक र कलात्मक अर्थ छ ।
एउटा चित्रकारले अनेकन सोचबाट लामो समयसम्म रंगहरूमा खेल्दै तयार पारेको चित्र स्पट्लाइटमुनि एउटा कलाकृतिका रूपमा संग्रहालय आगन्तुकसामु ठड्याइन्छन् । हाम्रा चित्रहरूले मात्रै हिप्पोक्रयाट्सका दर्शन पाउँछन् (सर्वसाधारण वा मजदुर वर्गका होइन) जो कलाको अर्थ र रेखाहरू बुझ्दैनन्, मात्र एउटा चित्रलाई हजारौँ मोल तिर्छन् र घरको भित्तामा सजाउँछन्, मानौँ ती कुनै मासिइसकका सभ्यताका प्रतिनिधि हुन्, जसको कुनै कलात्मक अर्थ छैन मात्र सौन्दर्य छर्छन् तिनले । ती चित्रहरूको आकार मात्र छ त्यहाँ, आत्मा र अस्तित्व त्यहाँ हुन्छ जहाँ कला बुझ्ने दर्शक वा कलाभक्तको आगमन हुन्छ । चित्रहरूले इतिहास, संस्कृति र समकालीन समाजलाई प्रखर रूपमा व्यक्त गर्छन् । चित्रहरूले वर्तमानबाट इतिहासको कुनै एउटा कालखण्डमा पुर्‍याउने मोहक क्षमता पनि राख्छन् । र, वर्तमानलाई पनि रंगका माध्यमबाट पुन:सिर्जन गर्छन् ।
तर, हाम्रा कुनै समुदायको कलाकृतिले के त्यस समुदायका सरोकारलाई प्रतिनिधित्व गर्छन् ? काठमान्डूका अँध्यारा, पुराना कलागृहहरूमा राखिएका अनि पसलमा झुन्ड्याइएका परम्परागत कलाकृतिले केबल शान्ति, सौन्दर्य र सामञ्जस्यको मात्र चित्रण गर्दछन् । हामीले छाप्ने गरेका टुरिस्ट गाइडबुकमा नेपाल र नेपालीलाई जुन ‘शान्तिपूर्ण र शान्तिप्रिय’ रूपमा वर्णन गरिएको छ, त्यस भनाइलाई एकै दिनभरिको काठमाडौं–भ्रमणले खण्डन गर्छ । कला संग्रहालयमा काठमान्डूमा छरिएको डिप्रेसनको रोग, डान्सबारहरूमा नाच्ने नर्तकी वा भित्री कठमान्डूको खास चित्रलाई संस्थागत प्रदर्शन गर्दैन, चाहे नेपाल आर्ट काउन्सिल होस, नाफा आर्ट ग्यालरी होस् वा सिद्धार्थ आर्ट ग्यालरी नै किन नहोस् …।
कलाकृतिका रूप सधैँ यसका संरक्षकद्वारा निर्धारित हुन्छ त्यसैले कला पनि कलाकार वा कलाकारले बाँचेको समाजको राजनीतिक एवं आर्थिक विचारधाराबाट प्रभावित हुन्छ । परम्परागत कलाको स्थान कहाँ छ ? अनि समसामयिक कलामा ‘इमानदारी’ को आवश्यकता कति छ ? काठमान्डूको कलाले किन नेपालको गलत प्रतिनिधित्व गर्छ होला ? यस प्रश्नमा कसैले घोत्लिएर सोच्ने प्रयत्न पनि गरेको छैन ।
काठमान्डूका कला संग्रहालयमा भएका मानिस तथा भूदृश्यका आर्टहरूले नेपाललाई व्यापक आदर्शस्थलका रूपमा व्यक्त गर्छन्, जुन छँदै छैन । कलाको विकास सबै नेपालीका तर्फबाट बोल्ने किसिमले हुनुपर्ने हो । यहाँ कलाको विकास त भयो तर प्रबुद्ध सहरी संरक्षकका तर्फबाट र शासकहरूको विवेकबाट मात्रै, जहाँ सर्वसाधारण कहिल्यै अटाउन सकेनन् । हामीमा भित्रिएको पश्चिमी प्रभावले काठमाडौंको ‘उच्च समाज’लाई संग्रहालयको मूल्य बुझाएको छ, तर नयाँ संस्कृति के हो, नेपाली समाजले भोगेको नयाँ यथार्थ के हो र आयातीत संस्कृतिको स्वीकार्य किन भन्ने प्रश्नको उत्तर खोज्नतिर त्यो ‘समाज’ कहिल्यै टाउको दुखाउँदैन ।
आर्ट ग्यालरीहरूमा दर्शक र भित्तामा झुन्डयाइएका तस्बिरबीचको अन्तरसम्बन्ध शैक्षिक र लौकिक हुन्छ (अलौकिक होइन) । मन्दिरका मूर्तिमा कुँदिएका वास्तुकलामा पनि यिनै कुरा लागु हुन्छन् । यदि काठमाडौंको कुनै मन्दिरमा अमेरिकन ‘स्टिललाइफ’ राखियो भने यो समाजलाई त्यो कला उपयुक्त हुन्छ त ? त्यसैले मलाई लाग्छ, कुनै गैरहिन्दुलाई हिन्दु मन्दिरमा प्रवेश नदिनु व्यापक ध्यान दिनयोग्य विषय हो । अझ वर्णव्यवस्थाको चर्को प्रभाव बेहोरिरहेको हाम्रो समाजमा त हिन्दु समुदायभित्रकै शुद्र वा दलितका लागि पनि मन्दिर–प्रवेश वर्जितै छ । गैरहिन्दुका सन्दर्भमा हेर्दा यस्तो निषेध गैरदक्षिण एसियालीहरूका विरुद्ध भेदभावका रूपमा देखिन सक्छ । आस्थाहीन आँखालाई मन्दिरजस्ता पवित्र स्थलबाट टाढै राख्नु ठीकै कदम मान्न सकिएला । तर, हाम्रो समाज आफैँलाई विभाजित गरेर बसेको छ भन्ने बाँकी दुनियाँलाई कति पो थाहा होला र ? पुरातात्विक लौकिक वस्तुहरूलाई संरक्षित गर्ने संग्रहालयहरूले नेपालका अत्यन्तै भिन्नता बोकेका कलालाई प्रतिनिधित्व गर्ने जिम्मेवारी लिनुपर्छ । अतीतका कलामा वस्तुगत प्रस्तुति नभएकाले त्यसबाट प्रसारित सूचनाहरू अहिलेका पूर्वाग्रहहरूद्वारा रंगीन बन्न सक्छन् ।

काठमाडौंको छाउनीमा भएको राष्ट्रिय संग्रहालयले नारी र अल्पसंख्यक समूहको इतिहास पूरै छिपाएको छ । नेपालको इतिहास प्रतिनिधित्व गर्न बनाइएको संग्रहालयमा मल्ल राजाहरू, सबै शाह राजाहरू र तिनका प्रधानमन्त्रीहरूबारे प्रदर्शन सामग्री राखिएको छ । संग्रहालय अवलोकनर्ताहरू साह्रै सामान्य मान्छे, उपत्यकाबाहिरका जातिगत समूह, सीमान्तीकृत जातजाति, अल्पसंख्यक, घरको चौघेरोबाहिर निस्किन बर्जित गाउँले नेपाली नारीबारे केही थाहा पाउँदैनन् । यता, ‘नाफा’ले पनि उपत्यकाको कला र अरू बहुसंख्यक ग्रामीण कलाबीचको आर्थिक र सांस्कृतिक अन्तरलाई मान्यता दिएको छैन । ‘समकालीन कलालाई प्रोत्साहन दिने’ उद्देश्य बोकको नाफा अनेकौँ गलत धारणाद्वारा निर्देशित छ झैँ लाग्छ ।
नेपालमा बसोबास गर्ने बहुसंख्यक जनता कलालाई ‘उपासना’ वा ‘सजावटी’ वस्तुको रूपमा बुझ्छन् । तर, नेपालीको भावनामा चोट पुग्ने गरी राणाहरूले उसबेला भिक्टोरियाली पोट्ेरटलाई निकै प्रोत्साहित गरेका थिए । तेलचित्र, व्यक्तिचित्रहरू, ठूलाठूला स्तम्भहरू भएका दरबार र वेशभूषामा पश्चिमापन यसैका केही परिणाम थिए । राणाशासन हटेपछि नेपालमा पश्चिमको आधुनिक कलाकै प्रभाव बढ्यो र हाम्रा ‘प्रबुद्ध’ वर्गमा ‘आधुनिक’ अमूर्त चित्रहरू फेसन बने ।
त्यसैले यहाँकै चित्रकला थोरै नेपालीको लागि मात्रै बपौती बनेको छ । ग्रामीण इलाकाका समसामयिक कला–गुरुङ महिलाले बुनेका कपडा, मैथली चित्र अनि थारू घरहरूका सजावटलाई कठमान्डूका हिप्पोक्रयाट्सले कला मानेकै छैनन् । ती ‘शिल्प’लाई पाखा लगाइनु र सहरी कलाकारका कलाकृतिलाई बढाइचढाई साथ प्रदर्शनी गरिनुले समग्र नेपाली कलालाई माथि उठाउँदैन । के युवा कलाकारको ध्यान यतातिर जाँदै छ ?
हाम्रा कला संग्रहालयमा झुन्डयाइएका चित्रकलाले ‘पिक्चर–पोस्टकार्ड’ र ‘दु:खी नेपाली अनुहार पोट्रेट’को छाप छाड्छन् जहाँ बाहुल्य हुन्छ, आध्यात्मिक, प्राकृतिक सम्पदा भरिपूर्ण नेपाली जीवन र तथाकथित सुखी बासिन्दा । यो यस्तो गलत प्रतिनिधित्व हो, जसले सम्पूर्ण नेपालको चित्र बोक्दैन । त्यसैले यस्तो लाग्छ, काठमाडौंका अरूबाट संरक्षित कलाकारमा सबै नेपालीको यथार्थता बोल्ने क्षमता नै छैन । सरकारी संरक्षकत्वमा निहित आत्मसन्तुष्टि नै यसको प्रमुख करण हो । जनताबाट सधैँ टाढै बस्ने सरकारले चुनौतीहीन कलाकृतिलाई प्रश्रय दिने एकलकाँटे संस्था बनाउँछन् । यस्ता कलाले न दिशा दिन्छ न सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्छ ।

विदेशी विकास कार्यक्रमबाट आएको आम्दानीबाट सम्पन्न बन्दै गएको काठमाडौंको सानो उच्च र मध्यमवर्ग अब आफ्नो नगदलाई सम्पत्तिको प्रमाण दिएर कलाकृतिहरू किन्नसक्ने फेजमा पुगेको छ । ग्यालरी सिस्टमको जन्म युरोपमा १९औं शताब्दीको अन्त्यतिर (रूढिवादी र मनोमानी गर्ने संग्रहालयहरूको विरोधमा) भएको थियो । ती पुँजीवादी कला संग्रहालयले कलालाई बिक्री गर्न सोरुममा राखे । उनीहरू कुनै नैतिकतामा बाँधिएनन् र प्रगतिशील अनि विभत्स चित्रकृतिहरू पनि प्रदर्शन गर्न थाले । काठमान्डूका कलागृहले समसामयिक कलालाई प्रदर्शन र बिक्रीमा राख्न सकेनन्, इतिहासकै सम्झना गराउने, भगवान् र धार्मिक दृश्यहरू, नेपालका कृषिजीवन देखाउने चित्रहरूलाई प्रदर्शनकक्षका भित्तामा प्रदर्शन गर्छन् । यदाकदा, न्युड आर्ट र अमूर्त कलाको बाहुल्य देखिन्छ ।
नेपालका चित्रहरूले काठमाडौंका प्रबुद्ध जनहरूलाई आफूले भोगेका विशेष सुविधाहरूको मनोवैज्ञानिक बोझबाट मुक्त गराउँछन् । हाम्रा कलाकारले नेपालका अँध्यारा पक्षहरूको चित्रण गर्दैनन् । सुखी बासिन्दा, स्वच्छ प्रकृति, अध्यात्मिकता बोकेको चित्र बनाउँछन् र तिनको बिक्री पनि राम्रै हुन्छ । जब कलागृहमा जाने मान्छेका आँखा नेपालका अँध्यारा दृश्य र तिनका कारणलाई पनि हेर्न खोज्नेछन्, तब मात्रै कलागृहले सम्पूर्ण नेपाल बोल्न थाल्नेछन् ।

जुनै युगको राजनीतिक व्यवस्था किन नहोस्, यसले थुपै्र कारणबाट कलाको संरक्षण गर्छन् । काठमान्डूको जुनसुकै कालखण्डको इतिहासमा पनि सामन्ती व्यवस्थाले कलालाई (खासगरी धार्मिक कलालाई) आफ्नो सान, सौकत र शक्तिलाई प्रतिविम्बित गर्नेे राजनीतिक औजारका रूपमा प्रयोग गरे । मल्ल शासकले आफ्ना दैवीअधिकारलाई दह्रो बनाउने खालका कला र वास्तुकलामा पैसा बगाए । तर, यी कलाका समृद्धि र सौन्दर्यले औसत नागरिकको जीवनमाथि थोपरिएको विपन्नतामाथि कहिल्यै सम्बोधन गरेनन् । पृथ्वीनारायण शाहले काठमान्डू विजय गरेपछि ‘नेवारी कला’को मौलिकताको हत्या भयो । विचरा † युद्धको संस्करमा हुर्किएका ‘वीर’ गोर्खालीहरूमा आफ्नै मौलिक र बलियो कलात्मक परम्परा नै थिएन । कलाका नेवारी रूपहरूले उकासिने मौका नै पाएनन् ।
राणाशासनको अन्त्यपछि सत्तामा शाहवंशको पुन: स्थापनाले अनुदार (यदाकदा सामन्ती तर तुलनात्मक दृष्टिले सबै नेपालीहरूकै सांस्कृतिक अभिव्यक्तिलाई प्रोत्साहन गर्न अभिरुचि भएका) भएको दाबी गरे । तर सरकारले नेपालका संस्कृतिहरूको प्रतिनिधित्व नगर्ने कलालाई नै जन्म दिइरह्यो । काठमाडौंको सहरी केन्द्रमा आर्थिक सम्पदाको संकेन्द्र छ । राजधानीमा जेलिएको नगदी अर्थतन्त्र र ग्रामीण क्षेत्रको अर्थतन्त्र धेरै फरक छ । त्यसैले नेपाली कलामा ग्रामीण समाज समेटिएको छैन । काठमान्डू र ग्राम भेगका संस्कृति साझा धरातलमा छैनन् । अहिलेका कलाका ग्यालरीमा देखिएका चित्रले यिनै कुरा स्पष्ट पार्छन् ।
दार्शनिक रिक्ततामा सिर्जनात्मकता हुर्किन नसक्ने रहेछ । नेपाली कलामा देखिएको सिर्जनात्मक पाटोको खडेरीले यही कुरा पुष्टि गर्छ । नेपालीलाई पैसाको खाँचो छ र पर्यटकलाई मनोरञ्जनको । यसैको आधारमा कठमान्डूका रैथाने र पर्यटकबीच एउटा सुमधुर सम्बन्ध कायम भएको छ जसले एउटा डोरी निर्माण गर्छ र सम्पन्न पर्यटक विपन्न नेपालीका कलाकृति किन्छन् स्ट्रिटहरूबाट । रैथानेहरू आफ्नो धार्मिक सम्पदा, संस्कृति, जातीय पहिचान बिक्रीमा राख्छन् । ठमेल, दरबारमार्गतिरका थांका पसलहरूमा चित्र किन्दै गरेका पर्यटक हेर्नुस न । सहरियालाई विषयवस्तु र रङ रोज्ने अवसर छ, त्यसैले उनीहरू ‘थांका’ उत्पादन गर्छन् (थांका विदेशबाट आयातीत एक्रिलिक रोगन क्यान्भास र अन्य सामग्रीको प्रयोग गरेर हिन्दू र बौद्धमार्गी बनाउँछन्) । यसको प्रयोग खासमा उपासनाका बेलामा यन्त्र वा धार्मिक रेखाचित्रका रूपमा हुन्छ । ‘जातीय’ कला ठाँटको बस्तु हुने विदेशी बजारमा त्यस्ता वस्तुको उपासनात्मक उपयोगको सम्मान कसैले गर्दैन । थांका विदेशी घरका विशेष वालपेपरमा रूपान्तरित हुन्छन् र ती कलाको मूल्य त्यस घरमा हुँदैन । पसलमा बिक्री गरिने ‘जातीय कला’ अहिले रैथाने बासिन्दाको जीवनमा छैन, उनीहरू पनि विदेशीजस्तै भएका छन् । काठमाडौंको रैथानेहरू कंक्रिटका घर बनाउँदै र तिनलाई विदेशी पोस्टरहरूले सजाउँदै छन्, आफ्ना कला विदेशीलाई बेचेर ।
कलाकारका सीप शक्तिशाली अल्पसंख्यकका हातमा पुगेको छ, जसबाट जनताको कला उत्पन्न होला भन्ने कल्पना पनि गर्न सकिँदैन । कलाले सम्प्रेषण गरेको सन्देश नै शक्तिशाली कुरा हो । त्यसमा कलाकर दुरुपयोग नहोस् । सन् १९५० को दशकमा नेपाल चरम आर्थिक संकटको अवस्थामा पनि ‘संसार’ प्रवेश गर्‍यो, त्यसैले नेपाललाई विदेशी प्रभाव, कलाको अगाडि कमजोर बनायो । सच्चा र मौलिक कला छिट्टै ओइलायो । त्यसैले नेपाली कलाको सम्पूर्ण प्रमोसनका निम्ति ग्रामीण नेपालका पाखा पारिएका कला सिर्जनाको योजना बनाइनु आवश्यक छ ।

प्रतिक्रिया