धान दिवसमा २५ किसान पुरस्कृत

इलाम, १५ असार । राष्ट्रिय धान दिवस २०६९ को अवसर पारेर जिल्ला कृषि विकास कार्यालयल इलामले उत्कृष्ट २५ जना किसानलाई पुरस्कृत गरेको छ । धान, गहुँ, तरकारी, फलफूलबाली तथा अन्तर समूहमा आवद्ध २० जना र तरकारी खेतीमा आवद्ध पाँच जनालाई नगद पुरस्कार सहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको हो ।
नगरपालिका–३ स्थित सेरामा आयोजित धान रोपाई कार्यक्रम मार्फत उनीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई प्रथम, द्वितीय, तृतीय र सान्तवना श्रेणीमा विभाजन गरी क्रमशः एक हजार पाँच सय, एक हजार दुई सय, नौ सय र पाँच सय रुपियाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी विदेशबाट फर्किएर आफ्नै गाउँमा तरकारी खेती गर्ने पाँच जनालाई पनि पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा कन्यामका अमृतबहादुर बराईली, गोदकका युवराज ढुंगाना, कन्यामकै भूपाल गुरुङ, मंगलबारका कमला आचार्य र माबुका हेमन्त थापा रहेका छन् ।
उनीहरुलाई उत्कृष्ट तरकारी खेती गरेबापत जनही नगद एक हजार पाँच सय रुपियाँ सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्रकुमार मल्लले बताए ।

प्रतिक्रिया