एनओसीविरुद्ध आक्रोश

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार आयोजना गरेको ‘लन्डन ओलम्पिक सहभागिता, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताले नेपाल ओलम्पिक कमिटी खेलाडीको मनोभावनामा नचलेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव तथा अदालतबाट मान्यताप्राप्त ओलम्पिक कमिटी भएको दाबी गर्ने किशोरबहादुर सिंहले ओलम्पिक चार्टरको गलत व्याख्या गरिएको आरोप लगाए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले नेपाल ओलम्पिक कमिटी परिषद्मा दर्ता भएको संघ भएका कारण यसले परिषद्को निर्देशनअनुसार चल्नुपर्ने बताए । परिषद् नेतृत्वले आफ्ना संघलाई आफ्नो नियन्त्रणमा राख्न पाउनुपर्ने जिकिर तिम्सिनाले गरे । स्मरणीय छ, यसअघि राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई परिषद्ले पनि मान्यता दिएको बताउँदै ओलम्पिक विवाद नभएको दाबी गरेको थियो । तथापि, बिहीबारको कार्यक्रममा परिषद्ले अन्तर्राष्ट्रिय मान्यताप्राप्त र अदालतबाट मान्यताप्राप्त ओलम्पिक कमिटीको रूपमा दुई ओलम्पिक कमिटीका प्रतिनिधिलाई बोलाएको थियो । ओलम्पिक कमिटीका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यो भेला अलि अघि नै हुनुपर्ने बताए ।
नेपाल तेक्वान्दो संघका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङले ओलम्पिक खेलमा कर्मचारीको भैंm काम गर्नुपर्ने सेभ द मिसन पदका लागि विवाद हुनु आश्चर्यजनक रहेको बताए । सरकारबाट मान्यताप्राप्त कराते संघका अध्यक्ष दावा गुरुङले खेलकुद क्षेत्रमा खेल व्यक्तित्वकै प्रभाव हुनुपर्नेमा राजनीतिकर्मी हाबी भएका कारण सम्पूर्ण समस्या उत्पन्न भएको बताए । उनले राजनीतिक नियुक्ति पाएर खेलकुदमा प्रवेश गरेकालाई इंगित गर्दै भने, ‘राजनीतिक झोलेतुम्बे पार्टीकै काममा मात्र सक्रिय रहेमा सम्पूर्ण समस्याको समाधान हुन्छ ।’ सरकारबाट मान्यताप्राप्त एथलेटिक्स संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आफ्नो खेलमा कसले सहभागिता जनाउने भन्ने पनि थाहा नपाउनु आश्चर्यजनक रहेको बताए । (सौस)

प्रतिक्रिया