भण्डारीद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं : लोकतान्त्रिक फोरमबाट अलग्गिएका शरत्सिंह भण्डारीले राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका छन् । भण्डारीले बुधबार र बिहीबार राष्ट्रिय सभागृहमा भेलाको आयोजना गरी पार्टी घोषणा गरेका हुन् ।
नवगठित पार्टीमा १६ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिमा प्रमोद गुप्ता, रमानन्द मण्डल, निलम वर्मा, कौशल यादवलगायतका नेता छन् । यी सबै नेता लोकतान्त्रिक फोरमबाट निकालिएका हुन् ।
पार्टीको विधान र झन्डा पनि टुङ्गो लागिसकेको छ । पार्टीको कार्यालय बालकुमारीमा रहने भएको छ । बुधबार दिउँसो नेता भण्डारीले मधेस आन्दोलनका सहिदहरूको तस्बिरमाथि माल्यार्पण गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।
बिहीबारसम्म चलेको उक्त सम्मेलनमा मधेससहित पहाडका जिल्लाहरूबाट करिब दुई हजारको संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो । नयाँ पार्टी घोषणा गरेपछि भण्डारीपक्षीय कार्यकर्ताहरूले बिहीबार दिउँसो काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेका थिए । (सौस)

प्रतिक्रिया