मोडलिङमा भानु


काठमाडौं : सडक नाटकदेखि कलायात्राको थालनी गरेका भानु धमला अहिले मोडलिङसम्म आइपुगेका छन् । राजेशपायल राई, दीपक लिम्बू, डम्बर नेपालीलगायत चर्चित गायकगायिकाका एक दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोमा मोडलिङको अनुभव लिइसकेका उनी आफू अभिनय र नृत्यमा पोख्त रहेको दाबी गर्छन् ।
हिजोआजका कुरा, समयको भेल, चनलचल्तीलगायत सानो पर्दाका टेलिचलचित्रमा अभिनय गर्न भ्याएका धमलाले अहिलेका नायिका नन्दिता केसी, केकी अधिकारी, सुषमा कार्कीलगायतसँग पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् । निरन्तरको मिहिनेतले गर्दा आज जस्तोसुकै भूमिका पनि गर्न सक्ने आत्मविश्वास पलाएको उनी सुनाउँछन् । अनि, मोडलिङप्रति सन्तुष्ट पनि छन् । भन्छन्, ‘मोडलिङ क्षेत्रमा लागेर बाँच्न सक्ने वातावरण बनाएको छु ।’ सुरुका दिनमा रहरले मोडलिङ रोजेका उनी अहिले यसमै व्यावसायिक किसिमले लाग्ने सोचाइमा
छन् । (सौस)

प्रतिक्रिया