आंखैअगाडि ढले चिनियाकाजी

‘विचित्रको माहोल थियो त्यस बेला । वातावरणमा एक किसिमको सन्त्रास, कौतुहल, विस्मय र अनिश्चय थियो । टुँडिखेलमा जम्मा भएको ठूलो जनसमूह हनुमानढोकातिर जाँदै थियो । जुलुसका सहभागीहरूमा आक्रोश थियो, र उत्तिकै उत्साह पनि । जुलुसको नारा थियो, ‘प्रचण्डराजलाई रिहा गर,’ राजधानीको डल्लुस्थित निवासमा शेख सइदुद्दिन नियाजी आफ्नो अतीतका पाना खोतल्दै थिए । समयका साढे आठ दशक उनका आँखैअगाडिबाट बितिसकेका छन् । र, अहिले त्यही अतीत उनको अवकाशप्राप्त जीवनको समय कटाउने सम्बल भएको छ ।
धेरै थोरै मानिसलाई मात्र थाहा होला, नेपालमा हाल प्रचलनमा रहेको जन्म, विवाह, सम्बन्धविच्छेद र मृत्यु दर्ता गर्ने ‘सिस्टम’को जग बसाल्ने व्यक्तित्व यिनै सइदुद्दिन हुन् । ‘भाइटल रजिस्ट्रेसन सिस्टम’ नामक यो दर्ता प्रणाली उनले विसं ०३२/३३ तिरबाट चलाए । ०३९ देखि अवकाशप्राप्त गुमनाम जीवन बिताउन थालेका उनी त्यही प्रणालीबारे अध्ययन र प्रशिक्षण लिन अमेरिका पठाइएका थिए । यो दर्ता प्रणालीले दस–दस वर्षमा हुने जनगणना कुर्नुभन्दा तत्कालीन जनसंख्याको वस्तुस्थितिबारे तत्काल थाहा पाउन सहज हुने परिवेश तयार गर्दछ ।
मुलुकमा भर्भराउँदो राणा शासन चलिरहेको समयमा किशोरवय बिताएका सइदुद्दिन भन्दै थिए, ‘भर्खर राणाशाही ढलेर मुलुकमा लोकतन्त्रको नयाँ बिहानी उदाएको थियो । तर, कताकता त्यो बिहानी उदासउदास थियो, रौनक कतै हराए–हराएजस्तो थियो किनभने जुन राणातन्त्रविरुद्ध त्यत्रो आन्दोलन र सशस्त्र संघर्ष भएको थियो, आन्दोलनको सफलतापश्चात् पनि उही राणातन्त्रका अन्तिम प्रधानमन्त्री मोहनशमशेर जबराको प्रधानमन्त्रीत्वमा नै नयाँ सरकार बनेको थियो । त्यही राणा–कंग्रेस संयुक्त सरकारले सभा जुलुस गर्न नपाइने उर्दी जारी गरेको थियो । त्यो उर्दीसमेत दिल्ली सम्झौताको पनि विरोधमा इटुम्बहालमा भएको कोणसभामा प्रचण्डराजले भाषण गरेका थिए । त्यही आरोपमा उनलाई पक्राउ गरिएको थियो । जुलुस उनै प्रचण्डराजलाई सरकारी हिरासतबाट छुटाउन चाहन्थ्यो ।’
उनी त्यो समयमा त्रिचन्द्र कलेजका विद्यार्थी थिए । तिनताका दुईवटा विद्यार्थी संगठन अस्तित्वमा थिए– छात्र संघ, जसमा पुष्करनाथ उप्रेती र हरिहर रिसाल आदिसमेत थिए भने अर्को संघ थियो– नेपाल स्टुडेन्ट फेडरेसन, जसमा उनीसमेत मोहम्मद मोहसिन, विजयप्रसाद प्रधान, भरत जोशीसमेत अनेक युवाहरू थिए । यो फेडरेसन वामपन्थी झुकावको थियो, तर त्यसमा लागेका छात्रहरू कोही पनि कम्युनिस्ट पार्टीका सदस्य भने थिएनन् ।
प्रचण्डराज उनीहरू आबद्ध स्टुडेन्ट फेडरेसनप्रति समर्पित थिए । करिब साढे पाँच फिट उचाइ पाएर अहिले कपाल र दाह्रीजुँगा सबै सेतै बनाइसकेका सइदुद्दिन ती पुराना दिनहरू सम्झन खोज्छन्, ‘विक्रमीय संवत् २००८ को कुरा हो । मिति भने बिर्सिसकेँ । हामीहरू पहिले टुँडिखेलमा भेला भएका थियौँ । त्यति नै बेला सायद भारत वा सिलोनबाट गौतमबुद्धको ‘महाबौद्ध गलियान’ वा यस्तै केही नाम भनिने अस्तु हाड काठमाडौं ल्याइएको थियो । त्यो अस्तु दर्शनार्थीहरूका लागि भनेर टुँडिखेलमा राखिएको थियो । हामीहरू पनि सबैजना त्यही दर्शन गरेर त्यहाँबाट जुलुस बनाई हनुमानढोकातर्फ लागेका थियौँ ।
‘जुलुस कालभैरव मन्दिर हुँदै बढ्दो थियो । अचानक विनाकुनै पूर्वजानकारी र चेतावनी जुलुसतिर निशाना गरी गोली चल्न थाल्यो । सबैजना अन्यमनस्कजस्ता भए । समयले गोधुली बेला नाघिसकेको थियो । अँध्यारो बाक्लिँदै गइरहेको थियो । तर, यत्तिकैमा यो के भएको ? एउटा गोली मेरो दाहिने खुट्टाको नलीहाडमा लागेर बाहिरियो । निमेषभरमै रगतको भल बग्न थाल्यो । म सडकमै ढल्नुभन्दा अगाडि मैले देखेँ– मेरै आँखाअगाडि अर्का विद्यार्थी चिनियाकाजी पनि ढले, उनलाई काखमा गहिरो गरी गोली लागेको रहेछ । अर्का एकजना सर्वसाधारण पनि गोली लागेर सामान्य घाइते भएका थिए ।
‘उत्तेजना बढ्दै गए पनि जुलुसका सहभागीहरू हामी तीनैजना घाइतेलाई बोकेर वीर अस्पतालतिर दगुरे । ती सर्वसाधारण को थिए, मलाई सम्झना भएन । उनलाई सामान्य उपचारपछि नै घर फिर्ता पठाउन सकिने रहेछ । उनी फर्किए पनि । तर, कलिला विद्यार्थी चिनियाकाजी भने बाँच्न सकेनन्, अस्पताल पुर्‍याइएको केही घन्टापछि नै त्यही रात उनको निधन भयो । नेपाली राजनीति र इतिहासका पानाहरूमा उत्तिसारो उल्लेख नभए पनि चिनियाकाजी लोकतन्त्रका सहिद हुन् ।’
त्यसको भोलिपल्ट विद्यार्थी र सयौँ सर्वसाधारणले जुलुसमै चिनियाकाजीको शव उनको परिवारलाई बुझाएका थिए । मूलत: यही घटनाले फैलाएको उत्तेजना, आक्रोश र अनिश्चितताले गर्दा चाँडै नै त्यो संयुक्त सरकार ढल्यो पनि ।
उनले थपे, ‘मेरो खुट्टाबाट धेरै रगत बगिसकेको थियो र थप उपचार त्यहाँ सम्भव थिएन । के सोचेर हो कुन्नि हामीलाई अस्पताल लगिएको भोलिपल्टै प्रधानमन्त्री मोहनशमशेरले एकजना सचिवमार्फत पाँच हजार रुपियाँ मलाई उपचार खर्च पठाइदिएका थिए । त्यही रकम र त्यसमा केही थपथाप गरी त्यही दिन दिउँसो मलाई विमानमा राखी मोहम्मद मोहसिन र हाम्रै स्टुडेन्ट फेडरेसनका हेमचन्द्रले पटना अस्पताल पुर्‍याए । पटनामा खुट्टाको शल्यचिकित्सा गर्दा चिकित्सकले मेरो नलीहाडबाट करिब दुई इन्च लामो हाड काटेर झिकेका थिए । प्लास्टर लगाएर म करिब डेढ महिना अस्पताल शय्यामै बसेको थिएँ । त्यो हाड मैले अझैसम्म सुरक्षित राखेको छु ।
‘घटनाहरू कस्ताकस्ता भए, म बिर्सन सक्छु कसरी ? पटनाबाट फर्केपछिको कुरा हो । त्यही २००८ सालमा टुँडिखेलमा स्टुडेन्ट कन्भेन्सन भइरहेको थियो । सभामा कांग्रेस र कम्युनिस्ट, फेडरेसन र छात्र संघवालाहरू सबैथरी थिए । बिपी कोइरालासमेतका दिग्गज नेताहरूको पनि उपस्थिति थियो । विद्यार्थी साथीहरूको साथ र समर्थन पाएपछि म बैसाखी टेक्दै मञ्चमा उक्लिएँ र चिकित्सकले मेरो नलीहाडबाट निकालेको त्यही दुई इन्च लामो हड्डीटुक्रा देखाउँदै भाषण गर्न थालेँ । अचेल सम्झँदा लाग्छ, त्योबेला मैले होसिलोभन्दा जोसिलो भाषण गरेको थिएँ । उपस्थित विद्यार्थीहरूमा निकै आक्रोश जागेको थियो । स्थिति तनाबपूर्ण र असहज बन्दो थियो । बिपी कोइरालासमेतका वरिष्ठ नेताहरू कार्यक्रमस्थलबाट कतिबेला हिँडे, कसैले पत्तै पाएन ।’
धेरै समय बित्यो । करिब ६ महिना उनी बैसाखीको सहाराले हिँड्दै रहे । अनि पूर्ण स्वस्थ भएपछि एमए (राजनीतिशास्त्र) को अध्ययन गर्न लखनऊ विश्वविद्यालयतिर लागे । पढाइ सकेर फर्किंदा नेपालमा संसदीय व्यवस्था थिएन । धेरै नेताहरू जेलमा थिए, मुलुकमा पञ्चायती व्यवस्था लागू भइसकेको थियो । उनी लोकसेवा आयोग लडेर अधिकृत बन्न पुगे । नारायणी अञ्चलाधीश कार्यालयमा उनको दरबन्दी थियो । त्यसपछि क्रमश: विद्यार्थी वा अन्य राजनीतिसित उनको सम्बन्ध टुट्दै गयो ।
‘बेलाबेलामा म उनै चिनियाकाजीलाई सम्झिन्छु,’ स्मृतिहरू अझै बिरानिएका छैनन्, ‘उनी तिनताक अहिलेको भीमसेनस्थानतिर रहेको सायद सीताराम स्कुलमा पढ्थे । उनी त्यही स्कुलको प्रतिनिधि भएर हाम्रो जुलुसमा मिसिन आएका थिए । तर, भवितव्य अर्कै भइदियो । उनीसँगै मेरा गुरु दमनराज तुलाधरलाई पनि सम्झिन्छु । म जे जति राजनीतिमा सक्रिय भएँ र रहेँ, सबै उहाँकै प्रेरणाले हो ।’
‘त्योबेला अहिलेको जेपी हाइस्कुल नयाँ सडकमा घोडाको तबेलाजस्तो टहरोमा थियो । उनै दमनराजको अगुवाइमा हामी साना विद्यार्थीसमेत अनेक युवा शोभाभगवतीमा भेला हुन्थ्यौँ र ‘… हे आमा हाम्रो बुद्धि सपारिदेऊ…’ भन्दै नाम मात्रको प्रार्थना गथ्र्यौं । वास्तवमा त्यहाँ राणाशाही फाल्ने कुरा र भारतको विदेशी शासनविरोधी कुरा हुन्थे । म तीन–चारपटक त्यो भेलामा गएपछि एकदिन अचानक प्रधानमन्त्री जुद्धशमशेरले मलाई सिंहदरबारमा बोलाए । जनरल नरशमशेरले मलाई केरकार गरे– तिमी यत्रो फुच्चे भएर त्यहाँ किन गएको ? को–को आउँछन् ? के–के गर्छन् ? कस्ता कुरा गर्छन् ? आदि । मैले त्यहाँ केवल देवी–देउताको नाम लिँदै प्रार्थना गर्छौं भन्नेजस्ता कुरा गरेको थिएँ ।’
विक्रमीय संवत् १९८३ मा राजधानीको ओटु टोलमा जन्मेका सइदुद्दिनको पुख्र्यौली साइनो कश्मिरी राजवंशसम्म पुग्छ । सयौँ वर्षपहिले उनका पुर्खाहरू नेपालको बाटो भएर तिब्बतसित व्यापार गर्न जाने गर्थे । पृथ्वीनारायण शाहका भाइ मुख्तियार बहादुर शाहका पालामा उनका पुर्खाले कश्मिरबाट नेपाल प्रवेश गरी साँखु भएर भोटसम्म जान–आउन पाउने ‘कालो मोहर’ दिएका थिए । (राजाले दिएमा त्यो लालमोहर भनिन्थ्यो) । पछि कुनै पुर्खा काठमाडौंमै बस्न रुचाए । उनका बाजे र बुबा ओटु टोलमा बसे । त्यहीँ उनको जन्म भयो ।
उनी अहिले पचासी वर्षका भए । राजधानीकै नेवार कन्या बद्रीदेवी (जो अहिले रफात नाहिद भइसकेकी छन्) सित प्रेमविवाह गरेका उनी एउटी छोरी र नातिनीसितै बसिरहेका छन् । उनी आफूलाई ‘पाँच वक्तको सच्चा नमाजी’ पूर्ण धार्मिक मानिस भन्न रुचाउँछन् । राजतन्त्रेतर नेपालको राजनीतिप्रति उनी खासै सन्तुष्ट छैनन् । उनलाई लाग्छ– सत्ता औ सुविधाप्राप्तिको स्वार्थले सबै दल र नेतालाई कुनै भयानक लहराले जसरी फनफनी बेरेको छ । पार्टीहरूले विद्यार्थी राजनीतिको ‘ब्रेन वास’ नै गरिदिएका छन् । वातावरणमा निराश हाँसो फ्याँके पनि सइदुद्दिनको जोसमा निर्बलता छैन । बूढो शरीरको कमजोर मुठ्ठी उठाउँदै उनी भन्छन्, ‘मलाई अहिले पनि जुलुसमा हिँड्न मन लाग्छ, जोस पनि आउँछ । तर, शरीरले साथ दिँदैन ।’
आह, समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ †

प्रतिक्रिया