पैसाअनुसारको शिक्षा भो

समयले चिरञ्जीवी नेपालको परिचयमा थुप्रै प्वाँख हालिदिएको छ । आज तिनै प्वाँखहरूको सहायताले सफलताको आकाशमा निस्फिक्री उडिरहेछन् । तीमध्ये उनको व्यक्तित्वका दुई हाँगा विशेष परिचित छन्, वरिष्ठ अर्थशास्त्री र शिक्षाविद् । सफलताका यी फसल उमार्न आºनो मेहनत र पसिनाको बलले बहुत मलिलो पारेका छन् उनले आºनो समयलाई । नत्र ०१७ सालमा पाल्पाको मैनादीमा जन्मेको एउटा बालकका लागि राजधानी देख्नु मात्रै पनि ठूलो सपना हुन्थ्यो । उनले गाउँमै छोडेर आएका तोते बोली बोल्ने ती समवयीहरूले उनैले जसरी सफलतालाई कज्याउने अवसर कहाँ पाए होलान् र ? त्यसो त यसका लागि उनले परिश्रमका पापड पनि प्रशस्तै बेलेका छन् ।
पिताको जागिर काठमाडौंमै भएका कारण उनी पनि यता हान्निएका थिए, उद्देश्य र लक्ष्यहरू फक्रिइनसकेको काँचो बाल मस्तिष्क बोकेर । उनले सुनाए– ‘बुबा उपत्यकाको डिएसपी हुनुहुन्थ्यो, उहाँकै कारण चार वर्षको उमेरमा यहाँ आएँ ।’ शिक्षा बुझेका पिता थिए, त्यसैले शिक्षाको ज्योति देशका कुनाकुनामा पुगिनसक्दा पनि उनका लागि चाहिँ पढाइ प्राथमिकतामै थियो । डिल्लीबजारको शिशुनिकेतन स्कुलले उनलाई क, ख चिनायो । उमेरले काला केशहरूलाई सेताम्मे बनाउने सुरसार गरिरहँदा अहिले पनि उनी आºनो बालस्पर्श बोकेका ती डेस्कबेन्च नियाल्ने प्रयास गर्छन्, डिल्लीबजारतिर रुमल्लिँदा । तर, त्यो स्कुलै देख्दैनन् । भन्छन्– ‘अहिले बन्द भइसकेछ क्यारे †’ पढाइमा तगडै थिए । त्यसैले त्यहाँ दुई कक्षा पढ्दै गरेका उनलाई ल्याबेरोटरी स्कुल पुर्‍याएर पाँचमा भर्ना गरिएछ । सुनाउँछन्– ‘अहिलेका शिक्षासचिव किशोर थापा र म त्यहाँ सँगै पढेका, हामी छँदा ल्याबेरोटरी स्कुल अमेरिकाले चलाएको थियो ।’
बुबाको जागिरसँगै उनको पढाइ पनि जिल्लाजिल्ला सरुवा भयो । ल्याबमा सात कक्षाको आधाउधी पढ्दै गरेका उनी २०२८ सालमा राजविराजको एमपी हाइस्कुल पुर्‍याइए । सम्झिए– ‘त्यो स्कुलले सिकाएको स्वावलम्बी बन्ने शिक्षा मलाई अझै याद छ ।’ त्यसपछि काठमाडौं कमलपोखरीको सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलको होस्टेलमा बसेर पढे कक्षा आठ । फेरि उही सरुवाको रोग । नेपालगन्जको पिबिएमपी हाइस्कुलमा जम्मा तीन महिना पढेर काठमाडौं फर्किए र पद्मोदय हाइस्कुलमा भर्ना भए । त्यहाँको स्मृति– ‘हास्य कलाकार हरिवंश आचार्य पनि सँगै पढ्थे ।’
दश कक्षामा छँदा बुबालाई पञ्चायत सरकारले जागिरबाट हटाइदिएछ । उनी पनि पद्मोदयबाट हटेर भैरहवा पुगे । त्यहीँबाट एसएलसी पास गरे, दोस्रो श्रेणीमा । भन्छन्– ‘०३२ सालमा दोस्रो श्रेणी पनि ठूलो कुरा हुन्थ्यो ।’ उच्च शिक्षाका लागि मेहनत गर्दै जाँदा त्रिवि केन्द्रीय विभागबाट अर्थशास्त्रमा एमए सकाएका उनले सन् १९९५ मा बनारस हिन्दू विश्वविद्यालयबाट पिएचडी गरेर आºनो नाममा ‘डाक्टर’ को वजन थपे । यो पिएचडीमार्फत उनले सोही विश्वविद्यालयभित्र मात्र परिचित रेकर्ड बनाएका छन्, प्रयास थालेको सबैभन्दा छोटो समयमा पिएचडी सक्ने व्यक्ति भनेर । जसका लागि उनले खर्चिएका थिए, जम्मा दुई वर्ष तीन महिना । यही परिचयका कारण सो विश्वविद्यालयले अहिले पनि उनलाई विशेष दृष्टिले हेर्छ र†े यसकै प्रभावले उनको आत्मविश्वास दह्रिलो हुँदै गयो र मेहनतको ‘गियर’ लाई तल झर्न दिएनन् ।
अध्ययनले दिलाएको त्यही क्षमताका भरमा दर्जनौं संस्थामा जागिरेका रूपमा आºनो खुबी देखाए । एमए सकिनेबित्तिकै २०४४ सालमा पाल्पा फर्किएर पढाउन थालेका उनी दुई वर्षमै त्रिवि केन्द्रीय विभागमा सरुवा भए । ०४६ मा नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य भएर शैक्षिक राजनीतिको स्वाद पनि चाखे ।
पिएचडी सकेर फर्किएपछि आइटी पार्कको प्रमुख भएर विज्ञानप्रविधितिर पनि खुबी देखाएछन् । भन्छन्– ‘त्यो पार्कको कन्सेप्ट मैले नै ल्याएको थिएँ, तर त्यहाँ एक वर्षभन्दा बढी समय दिन सकिनँ, विश्वविद्यालयबाट काजमा आएको थिएँ ।’ त्यसपछि आइएलओ हुँदै नेपाल साउथ एसिया सेन्टरको महासचिव भएर वृत्तिविकासका फरकफरक पाटाहरूलाई अनुभूति गरे । सुनाए– ‘सन् १९९८ मा पहिलो मानव संसाधनको रिपोर्ट हामीले नै तयार पारेका हौँ ।’ विश्व बैंकको उच्च शिक्षा परियोजनाको परामर्शदाता, उच्च माध्यमिक शिक्षा परिषद्को योजना तथा सम्बन्धन निर्देशक अनि विश्व बैंकको विद्यालय सहयोग कार्यक्रमको संयोजक हुँदा उनले व्यक्तित्व विकासका महत्त्वपूर्ण छलाङहरू मारिसकेका थिए । तर, विद्यालय सहयोग कार्यक्रममा राजनीतिक दबाबमा काम गर्नु परेपछि ६ महिनामै छाडेछन् । भन्छन्– ‘मलाई हटाउन वासिंटन डिसीमै चिठी पो पठाएछन् ।’
उनको सफलताको यात्रा भने निरन्तर नै रह्यो । सन् २००० देखि चार वर्षसम्म औद्योगिक विकास प्रतिष्ठानमा कार्यकारी निर्देशकका रूपमा काम गरेपछि लन्डनको स्काटक्लार युनिभर्सिटीबाट इन्टरप्राइज डेभलपमेन्टमा डिप्लोमा गर्ने मौका पाए । अस्ट्रेलियाको चाल्र्स युनिभर्सिटीमा पढाउन भनेर पनि पुगेछन् । तर, नेपाली मन स्वदेशी रसको अभावमा साह्रै न्यास्रिएछ । देशको मायाले अचाक्ली गरेपछि जे त होला भन्दै स्वदेशै फर्किएछन् । सम्झन्छन्– ‘त्यहाँ त नेपालीहरू नै नेपाललाई गाली गरिरहेका देखिन्थे ।’ फर्किएर उद्योग वाणिज्य महासंघको वरिष्ठ सल्लाहकार भएछन् । शिक्षा र अर्थ दुवै क्षेत्रले उनको क्षमतामा कसी लगाइरहेकै थिए । एसियाली विकास बैंकको परामर्शदाता भएर काम गर्दा केयुमा एमफिल पनि पढाइरहेका हुन्थे ।
सन् २००७ ले उनको करियरमा अर्को महत्त्वपूर्ण जिम्मेवारी थप्यो, धितोपत्र बोर्डको अध्यक्ष । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईसँग कुरा नमिलेपछि त्यहाँ पनि १४ महिना बढी टिक्न सकेनछन् । तर, पछि डा. भट्टराईले भने रे– ‘तपाईं त खासमा राम्रो मान्छे हुनुहुँदो रहेछ ।’ बोर्डमा छोटो समयमा पनि राम्रो गरेको दाबी गर्छन् उनी । सुनाउँछन्– ‘सातवटा नियमावली ल्याएँ । बैंकमा खाता खोल्नुपर्ने, नराम्रा दलालको लाइसेन्स खारेज गर्नेजस्ता व्यवस्था गराएँ ।’
सन् २००९–२०१० मा परराष्ट्र मन्त्रालयमा सल्लाहकार भए । आºनै रिसर्च सेन्टर सिइएमआइडीको अध्यक्ष भएर पनि काम गरिरहेका छन् । जिटिजेड, एसेम्ब्ली नेपाल, युएनडिपीजस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाले उनलाई पत्याइसकेका छन् ।
अहिलेचाहिँ उनी नोबेल एकेडेमीमा चिफ अफ एकेडेमिक पर्सनका रूपमा काम गरिरहेछन् । यतातिर जोडिनुपछाडिका उनका सपना र चाहना पनि उत्तिकै छन् । त्यसो त आफूले हात हालेका संस्था प्राय:ले राम्रो क्षमता देखाएकामा आत्मगौरव पनि छ उनलाई । हाकाहाकी भन्छन्– ‘नोबेलबाट उत्पादन भएको विद्यार्थी बाहिर स्पर्धामा जाँदा प्राय: एक नम्बरै हुन्छन्, किनकि हामी अन्यत्रभन्दा फरक शिक्षा दिन्छौँ । विद्यार्थीलाई उत्कृष्टता पहिल्याउने र बाँच्ने तरिका सिकाउँछौं । केही नभए पनि आºनै सीपले बाँच्न सक्ने हुन्छ हाम्रो विद्यार्थी ।’
अनपढले यसै पनि दु:ख पाउने अहिलेको समयमा पढेकाहरूले पनि क्षमताअनुसारको काम नपाउने दु:खद अवस्था उनीबाट पनि छिपेको छैन । त्यसैले केही दुख्छन् पनि । अनि विश्लेषण गर्छन्– ‘शिक्षाले पढेकाहरूमा समेत आर्थिक र बौद्धिक परिवर्तन ल्याउन नसकेकाले यस्तो भएको हो ।’ औद्योगिक विकास प्रतिष्ठानमा छँदा आफूले व्यावसायिक शिक्षा लागू गर्न खोजे पनि त्यसलाई सफल हुन दिएनन्, भन्छन् उनी ।
अहिले शिक्षा विभाजित अवस्थामा रहेको सुनाउँदै नेपालमा पाँच किसिमको शिक्षा रहेका र शिक्षाको समस्या अर्थसँग जोडिएको देख्छन् । भन्छन्– ‘वर्ग र हैसियतअनुसारका विद्यालय छान्नुपर्ने अवस्था बनेको छ । धेरै धनाढ्य महँगा विद्यालयमा पढाइरहेका छन् भने अति दुर्गम ठाउँका बालबालिका, गरिबका छोराछोरीलाई विद्यालयमा ल्याउनसमेत अप्ठ्यारो छ । पैसाअनुसारको शिक्षा छ । आर्थिक हैसियतअनुसार शैक्षिक हैसियत निर्धारण हुन थालेको छ । यस्तो अवस्थाका कारण तीक्ष्ण दिमाग भएकाले पनि गतिलो शिक्षा आर्जन गर्ने अवसर पाइरहेका छैनन् ।’ शिक्षाभित्रको यो वर्गीय विभाजनका कारण न्यून क्षमताको सुकिलो विद्यार्थीले जुम्लाको झुम्रे तर उत्कृष्ट विद्यार्थीलाई ह्युमिलियट दृष्टिले हेर्ने अवस्था निम्त्याएको देख्छन्  । ‘शिक्षाले शिक्षालाई ह्युमिलिएट गरिरहेछ, जुन घातक हो,’ भन्छन्– ‘यो सबै नीतिगत त्रुटिका कारणले भएको हो ।’
उनी पनि अहिले निजी सक्रियतामा मुलुकका विद्यार्थीहरूको शैक्षिक भाविष्य चम्काउने जिम्मेवारीलाई आत्मसात् गरिरहेछन् । शिक्षालाई शिक्षाले नै हेप्ने यो अवस्था न्यूनीकरण गर्न के गरिरहेका छन् उनी ? अरू कलेजका लिडरभन्दा के फरक छ उनमा ? भन्छन्– ‘हामी तीक्ष्ण बुद्धि भएका तर पैसा नभएकालाई शतप्रतिशत छात्रवृत्ति दिएर पढाउँछौँ । विद्यार्थी र मुलुकको बर्बादी हुने गरी पैसामा लाग्नुहुँदैन । झन् शिक्षाक्षेत्रले त त्यसरी हेर्नै हुँदैन । स्कुल कलेज पैसा भएकाले नै खोल्ने हो तर आफूले सामाजिक दायित्व बोकेको छु र अधिकतम सेवामुखी हुनुपर्छ भन्ने पनि बिर्सन हुँदैन ।’ यही सोचका साथ नोबेललाई अझ उदाहरणीय बनाउने मार्गमा लागिपरेको सुनाउँछन्– ‘नोबेललाई साँच्चैको नोबेल बनाउँछु ।’ सायद त्यस दिन भरियाको छोराले पनि नोबेललाई आºनो सम्झनेछ ।
भर्खरै रिजल्ट आएको छ एसएलसीको । विद्यार्थीहरू अन्योलमा छन्, कुन कलेज छान्ने । नेपालचाहिँ ठूला भवन र तडकभडक हेरेर नभई कलेजको लिडर अनि पृष्ठभूमि बुझेर मात्र छनोट गर्न सुझाउँछन्– ‘एक्कासि हामफाल्दा भविष्य अन्योलमा पर्छ, त्यसैले स्थायित्व पाइसकेका कलेजमा जानु राम्रो हो ।’
महँगो कलेज राम्रो हुन्छ भन्ने भ्रम पनि त्याग्नुपर्ने उनी बताउँछन् । कलेजको हाइफाइ होइन, शिक्षा हेर्नुपर्छ भन्छन् । अनि हाइफाइ गरे पनि त्यसको पैसा कलेजहरूले अभिभावकबाटै असुल्ने भएकाले यसप्रति छोराछोरीहरू संवेदनशील हुनुपर्ने उनले देखेका छन् । उनको निष्कर्ष– ‘एसएलसी उत्तीर्ण गरेका विद्यार्थीले यत्ति विवेक देखाए भोलि पछुताउनु पर्दैन ।’

प्रतिक्रिया