युवा नेताद्वारा प्रधानमन्त्री भेट्न अस्वीकार

काठमाडौं : राजनीतिक दलका युवा नेताहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसित भेट्न अस्वीकार गरेका छन् । बुधबार प्रधानमन्त्रीले राजनीतिक परिस्थितिका विषयमा परामर्श गर्न भन्दै प्रमुख दलका नाम चलेका युवा नेतालाई भेटघाटका लागि आमन्त्रण गरेका थिए ।
दलहरूलाई उपेक्षा गर्ने र सञ्चारमाध्यममा निजी आकांक्षा अनुरूपको प्रचार गराउन मात्र यस्ता औपचारिक भेटघाट गरेको भन्दै ती युवा नेताहरूले प्रधानमन्त्रीले राखेको छलफल कार्यक्रमलाई अस्वीकार गरिदिएका हुन् । बुधबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्रीले युवा नेताहरूलाई निम्तो गरेपछि एमाओवादीबाहेकका दलका युवा नेताहरू भेला भई भेट अस्वीकार गर्ने निर्णय गरेका थिए । आफैले संविधानसभा सिध्याएर असंवैधानिक बाटो हिँडेको र प्रोपोगन्डा र ढोँगका लागि मात्र भेटघाट कार्यक्रम राखेको भन्दै उनीहरूले प्रधानमन्त्रीले राखेको भेटघाट कार्यक्रम अस्वीकार गरेको बताएका छन् ।
प्रतिपक्षमै रहे पनि कांग्रेस र एमालेका युवा नेताहरूले प्रधानमन्त्रीले बोलाएका बेला भेटेर राजनीतिक निकासबारे उनलाई सुझाव दिँदै आएका थिए । तर, प्रधानमन्त्री भट्टराईको पछिल्लो गतिविधि मुलुकलाई निकास दिनेभन्दा अवरोध गर्नेतर्फ उन्मुख रहेकोले भेट अर्थहीन भएको युवा नेताहरूको भनाइ छ । ‘फरक–फरक दलमा रहे पनि लोकतान्त्रिक गणतन्त्र, शान्तिप्रक्रियालगायतका विषयमा प्रधानमन्त्रीले बोलाएका बेला दलीय सीमाभन्दा माथि उठेरै भेटघाट र सुझाव दिँदै आएका थियौँ,’ कांग्रेस युवा नेता गगन थापाले सौर्यसँग भने, ‘हामीसँगको सम्बन्धलाई त्यस्तो विशेष ठानेको भए संविधानसभा विघटन गर्दा हामीलाई किन एकपटक सम्झिनुभएन ? अहिलेको अवस्थामा उहाँसँग भेट गर्नु कुनै पनि हिसाबले अर्थपूर्ण हुँदैन भनेर नभेटेका हौँ,’ थापाले प्रधानमन्त्री मुलुकलाई निकास दिनभन्दा समस्या बल्झाउनतिर लागेको पनि बताए ।
प्रधानमन्त्री भट्टराईले एमाओवादी, कांग्रेस, एमाले र मधेसी दलआबद्ध युवा नेताहरूसँग राजनीतिक परिस्थितिबारे परामर्श गर्ने भन्दै भेटघाट कार्यक्रम राखेका थिए । त्यसका लागि कांग्रेसका नरहरि आचार्य, गगन थापा, चन्द्र भण्डारी, एनपी साउद, बद्री पाण्डे, एमालेका प्रदीप ज्ञवाली, योगेश भट्टराई, रामनाथ ढकाल, घनश्याम भुसाल, विजय पौडेल, रवीन्द्र अधिकारी, एमाओवादीका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हेमराज भण्डारी, देवी खड्का, मधेसी दलका जितेन्द्र सोनाललगायत १५ जनालाई बोलाइएको थियो । प्रधानमन्त्रीले बोलाएको भेटमा प्रधानमन्त्रीकै मुख्य राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, मन्त्री टोपबहादुर रायमाझी, एमालेबाट असन्तुष्ट भई निष्क्रिय बसेका जनजाति नेता राजेन्द्र श्रेष्ठ र कांग्रेस युवा नेता एनपी साउद मात्र सहभागी भए ।
‘४५ दिनमा शान्तिप्रक्रिया र संविधान निर्माणमा प्रगति गर्न नसके पद छोड्छु भन्ने वाचा गरेर प्रधानमन्त्री भएका भट्टराईले पदमा टिक्नकै लागि संविधानसभा सिध्याउनुभयो र असंवैधानिक र अधिनायकवादी बाटोबाट चुनाव घोषणा गर्नुभयो,’ एमाले युवा नेता रवीन्द्र अधिकारीले सौर्यसँग भने, ‘प्रधानमन्त्रीको हिँडाइ मुलुकको हितमा छैन र उहाँ कसको इसारामा चल्नुभएको छ भन्ने पनि स्पष्ट छैन, केवल प्रोपोगन्डा र ढोँगको खोक्रो प्रचारका लागि भेट गर्नुको औचित्य छैन ।’ (सौस)

प्रतिक्रिया