पार्टी खोल्न भण्डारीको भेला

काठमाडौं, १४ असार । मधेसी नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री डा.बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको मिलेमतोमा संविधानसभा विघटन भएको बताएका छन् ।

नयाँ पार्टी गठनका लागि बुधबार सुरु राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले संविधानसभा जोगाउने विभिन्न विकल्प हुँदाहुँदै हठात्मा भंग गरिएको बताए । सरकारले घोषणा गरेको संविधानसभाको अर्को चुनाव संविधानसम्मत नरहेको भन्दै भण्डारीले सरकारको उक्त निर्णयले संवैधानिक र राजनीतिक जटिलता थपेको धारणा राखे । ‘संविधानसभा आपैँmले विकल्प खोज्न सक्ने सम्भावना हुँदाहुँदै पनि संविधानसभाको विघटन गराउन गच्छदारले महत्त्वपूर्ण सहयोगीको भूमिका निर्वाह गरे,’ उनले भने ।
‘मधेसको नाम भँजाएर सत्तालिप्सामा लिप्त’ गच्छदारले प्रमुख दलहरूसित मधेसविरोधी सम्झौता गरेको आरोपसमेत उनले लगाए । सम्पूर्ण मधेसलाई एक प्रदेश बनाउनुपर्ने जनभावनाविपरीत गच्छदारले मधेसलाई पाँच प्रदेशमा विभाजन गर्ने सर्वदलीय सहमतिमा हस्ताक्षर गरेको उनको जिकिर थियो ।
फोरम लोकतान्त्रिकबाट रक्षामन्त्री हुँदा तराईका २२ जिल्ला टुक्रिन सक्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले भण्डारीलाई बर्खास्त गरेका थिए । उनी त्यसपछि बृहत् मधेसी मोर्चामा सक्रिय बनेका थिए । पार्टी नीतिविपरीत काम गरेको भन्दै पार्टीले उनलाई कारबाही गरेको थियो । कारबाहीपछि नयाँ पार्टी गठनमा लागेका भण्डारीले डाकेको दुईदिने सम्मेलनमा तीन हजारभन्दा बढीको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

नयाँ पार्टीको नाम ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’
काठमाडौं : राष्ट्रिय राजनीतिक सम्मेलनले नयाँ पार्टीको नाम ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’ राख्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ पार्टीको अध्यक्ष शरत्सिंह भण्डारी नै हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विधान उपसमितिका संयोजक रामेश्वर साहले सम्मेलनमा प्रस्तुत गरेको नयाँ पार्टीको विधानमाथि छलफल गरी बन्दसत्रले पार्टीको नाम र झन्डाको टुंगो लगाएको हो । पार्टीको झन्डा माथिल्लो भाग सेतो र तल्लो भाग हरियो रङ भएको हुनेछ । जसमा हरियो भागबाट सेतो भागतिर उदाउँदै गरेको सूर्य राखिनेछ । बिहीबार पत्रकार सम्मेलन गरी नयाँ पार्टीको नाम, झन्डा, विधान र घोषणा–पत्र जारी गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया