दाङमा भएका दुर्घटनामा दुइको मृत्यु

दाङ, १३ असार । दाङमा भएका अलग अलग सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नजिक बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।
गएराति धनगढी तर्फ जाँदै गरेको ना ४ ख ६४०३ नम्बरको बस र लमहीबाट भालुबाङतर्फ जादै गरेको लु ७ प ४७४२ नम्बरको मोटरसाईकल लमही बजार नजिकैको सुनखोलीमा ठोक्किदा लालमटिया–६, मौरीघाटका ३८ बर्षीय मोटरसाईकल चालक मोहनबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । शाहीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलको पछाडी बसेका मौरिघाटका २९ बर्षीय टेकबहादुर मल्ल गम्भीर घाईते भएका छन् । मल्लको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भीक उपचारपछि कोहलपुर पठाइएकोे छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, घोराही–तुलसीपुर सडक खण्डको सर्रामा साइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
घोराही–१, सर्रा नजिकै सेवार खोलामा चिप्लिदा नारायणपुर–४, अम्राई निवासी १७ बर्षीय साइकल यात्री अदीप चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया