आठ सहकारीको दर्ता खारेज

काभ्रे, १३ असार । चालु आर्थिक वर्षमा जिल्लाका आठवटा दुग्ध उत्पादक सहकारी दर्ता खारेज भएका छन् । संस्थाले मासिक विवरण नुबुझाएको, काम नगरी निष्क्रिय रहेको र कार्यालय नभेटिएकाले दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार सूचना प्रकाश गरी सम्पर्कमा आउन दिएको म्यादभित्र पनि संस्था नआएपछि खारेज गरिएको हो ।
खारेजीमा पर्नेहरूमा विनायक, रानीपानी, महाकाली, रयाले, कालिका, भेडाबारी र सिमसार दुग्ध उत्पादक सहकारी रहेका छन् । सहकारी ऐन ०४८ को दफा ३४ मा कुनै पनि सहकारी संघ/संस्थाले लगातार दुई वर्षसम्म साधाराणसभा र कारोबार नगरी निष्क्रिय रहे दर्ता खारेज हुने व्यवस्था छ ।
सहकारीको स्थलगत अनुगमन
अछाममा गठित बचत तथा ऋण सहकारी संस्थाको सहकारीको केन्द्रीय टोलीले स्थलगत अनुगमन गरेको छ ।
टोलीले कैलाली जिल्लामा रहेका मालिका, जनालीबन्डाली, सिर्जनशील बान्नातोली, हातेमालो विनायक र महिला उत्थान बचत तथा ऋण सहकारी संस्था तुर्माखादको अनुगमन गरेको हो ।
दुईजनाको समूहमा आएको केन्द्रीय टोलीले सहकारी संस्थाको व्यवस्थापन, खाता सञ्चालन, संस्थागत सुशासन तथा पारदर्शिताबारे अनुगमन तथा अवलोकन गरी आवश्यक सुझाव दिएको छ । त्यसैगरी पछिल्लो समयमा सहकारी संस्थाले सोलार सिस्टममा गरिरहेको लगानीलाई अझै प्रोत्साहन गराउन अनुगमन गरिएको राष्ट्रिय सहकारी संघ काठमाडांैका आयोजना तथा विकास कार्यक्रम प्रबन्धक बाबुल खनालले बताए ।
संस्थाको व्यवस्थापन र सोलारमा गरिएको लगानीको अवस्था र अन्य समस्याबारे जानकारी लिएको अनुगमनमा गएका टोलीका प्रतिनिधिले बताए । टोलीमा विनरक ईन्टरनेसनलका कार्यक्रम सहयोगी उमेश आचार्यले आर्थिक वर्ष ०६४/०६५ देखि रुकुम, रोल्पा र सुर्खेतमा गरिएको सोलार कार्यक्रम राम्रो भएकाले ०६६/०६७ देखि कालीकोट, डोटी र अछाम जिल्लामा सहकारी संस्थामार्फत सोलार कार्यक्रम लागू भएको जानकारी दिए । यसबाट करिब पाँच हजार परिवार लाभान्वित भएको उनको भनाइ छ ।

प्रतिक्रिया