प्रधानमन्त्री सहमतिमा आऊ

प्रधानमन्त्री बाबुराम भट्टराईले जंगबहादुर बन्ने अभिव्यक्ति दिएपछि नेपालको राजनीतिमा बेग्लैखाले तरंग उत्पन्न भएको छ । स्वदेश फर्किएपछि प्रधानमन्त्रीले सहमतीय राष्ट्रिय सरकारका लागि राजीनामा दिने सम्भावना रहेको अभिव्यक्ति दिइरहेका प्रतिपक्षी दलहरूलाई कठोर जवाफ दिँदै ‘बालहठ’ त्याग्न उनले निर्देशन दिए । जहिले पनि नरम र भद्र शैलीमा प्रस्तुत हुने प्रधानमन्त्री ब्राजिलबाट फर्किएपछि पत्रकार सम्मेलनमा जंगबहादुर बनेर उपस्थित भए । निर्वाचित सरकारलाई मात्र सत्ता सुम्पने अन्यथा अकण्टक राज्य चलाउनुपर्ने संवैधानिक बाध्यता भएको उनको जिकिर थियो । सहमति र सहकार्यका लागि आफू बाधक नबन्ने र पद त्याग्न तयार रहेको भन्दै आएका भट्टराईले ब्राजिलमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेपछि भने पद नत्याग्ने ‘बालहठ’ कोसेली लिएर फर्किए । उनको भनाइले सहमतिको वातावरण पूर्णरूपमा नकारेको छ भने अबको राजनीतिक अवस्था के हुने भन्ने प्रश्न उब्जाएको छ । आफूले अहिले राजीनामा दिए मुलुकमा ठूलो संकट आउने र १९ माघ दोहोरिन सक्ने चेतावनी दिँदै भट्टराईले राजीनामा माग्नेहरूलाई ‘बालहठ’ त्यागेर आफूलाई सघाउन आदेश पनि दिए । पत्रकार सम्मेलनमा जंगे शैलीमा प्रस्तुत भएका प्रधानमन्त्रीले चुनावमा अन्य दलले भाग नलिए एक्लै अगाडि बढ्न सक्ने चेतावनी दिएपछि अबको राजनीति सहज छैन भन्ने स्पष्ट भएको छ । यसर्थ सबै राजनीतिक दलका शीर्ष नेताहरूले संयम भएर गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।
आफू प्रधानमन्त्री रहेसम्म संवैधानिक हुने र अरू भए असंवैधानिक हुने आशयको भट्टराई बुझाइले मुलुकका लागि घातक परिणाम ल्याउने देखिन्छ । चुनावको रटान लगाउँदै आएका प्रधानमन्त्रीले चुनावका लागि संवैधानिक, कानुनी र प्राविधिक कठिनाइ हटाउन पनि सहमतिको खाँचो पर्छ भन्ने चटक्कै बिर्सिएका छन् । रित्तो निर्वाचन आयोगले चुनाव सम्पन्न गर्छ भन्ने ‘बालहठ’ बोकेर कुर्सीमा टाँसिइरहने उनको चाहना पनि खतरनाक देखिन्छ । मंसिरमा चुनाव हुन नसक्ने कुरा निर्वाचन आयोगले नै स्पष्ट पारिसकेको अवस्थामा भट्टराईले ‘विशेष परिस्थितिमा विशेष निर्णयहरू लिने’ जंगे अभिव्यक्ति दिएर सहमतिका सम्भावनाहरू मेटाइदिएका छन् । प्रधानमन्त्री चुनाव हुन सक्ने अवस्था छैन र चुनाव नभएसम्म आफूले राजीनामा नदिने आशय प्रकट गरिसकेको अवस्थामा अबको राजनीतिक वातावरण असहज, पेचिलो र जटिल बन्दै जाने देखिन्छ ।
अहिलेको विषम परिस्थितिमा कामचलाउ सरकारको प्रधानमन्त्रीले सहमति र सहकार्यका लागि सबै ढोका खुला राखेर प्रतिपक्षलाई आह्वान गर्नुपर्ने थियो । तर, भट्टराईले सहमतिका सम्भावित सबै ढोका बन्द गरेर प्रतिपक्ष दलका नेतालाई ‘खेलौना नपाएको बालक’ को संज्ञा दिए । जबसम्म सहमति हुँदैन तबसम्म चुनाव हुँदैन भन्ने बुझेर पनि ‘बालहठ’ प्रकट गर्ने प्रधानमन्त्रीको मनसाय कुनै पनि हालतमा कुर्सी नछोड्ने नै हो । बाबुरामको रूखो, असान्दर्भिक र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले सहमति बन्न सक्ने झिनो सम्भावना पनि तहसनहस बनाएको छ । जंगे प्रवृत्ति लिएर स्वदेश फर्किएका प्रधानमन्त्रीले तानाशाह बन्ने सपना देखेको भए उनको आफ्नै पार्टीले सपना भंग गरिदिनुपर्छ । अन्यथा मुलुक दुष्चक्रमा फस्न सक्छ । अहिले प्रधानमन्त्रीको पक्षमा आफ्नो दलको आधा चिर्को र विजय गच्छदारको अर्को चिर्को मात्र छ । दलहरूको ठूलो पंक्ति यो सरकारले तुरुन्त राजीनामा दियोस् भन्ने पक्षमा छ । तसर्थ ‘बालहठ’ त्यागेर बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट अविलम्ब राजीनामा दिनुपर्छ । त्यसपछि बन्ने सहमतिको राष्ट्रिय सरकारले मात्र सहज रूपमा काम गर्न सक्छ ।

प्रतिक्रिया