अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माण अलपत्र

काठमाडौं, १३ असार । भक्तपुर सूर्यविनायकमा अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना बनाउन बजेट छुट्याइए पनि चालु आर्थिक वर्षमा काम सुरु नहुने भएको छ । चालु आव ०६८/०६९ को बजेटमा चिडियाखाना बनाउन एक करोड रुपियाँ छुट्याइएको थियो ।

आर्थिक वर्ष सकिन तीन साता बाँकी रहेका बेला सरकारले स्थानीय सामुदायिक वनको स्वीकृति एवं सुझाव संकलन र राष्ट्रिय प्रकृति संरक्षण कोश (एनटिएनसी) लाई खुला चिडियाखाना निर्माणको आधिकारिक जिम्मेवारी दिनसमेत सकेको छैन । वन विभागकाअनुसार चालु आवभित्रै खुला चिडियाखानाको बाँकी काम अघि बढ्ने अवस्था छैन ।
‘सुरुबाटै सामुदायिक वनको स्वीकृति, राय सुझाव संकलनलगायत काम ढिला भयो, निर्माणको जिम्मेवारी एनटिएनसीलाई दिइसकिएको पनि छैन,’ विभागका उपमहानिर्देशक यामबहादुर थापाले भने, ‘बजेट छुट्याइए पनि चालु आवभित्रै काम सुरु गर्ने अवस्था रहेन ।’ उनले बजेट छुट्याइए पनि अर्थ मन्त्रालयले निकासी नदिँदा ढिलाई भएको बताए ।
जनावरलाई पिँजडामा बन्द गरेर आगन्तुकले स्वतन्त्र रूपमा अवलोकन गर्ने हालको पद्धतिको ठिक उल्टो आगन्तुकले बन्द बाटोबाट खुला घुमिरहेका पशुपन्छी अवलोकन गराउने अन्तर्राष्ट्रिय प्रयोगस्वरूप खुला चिडियाखानाको योजना बनाइएको हो । मुलुकको एकमात्र जावलाखेल सदर चिडियाखानाको भार कम हुने र गाउँ सहरबाट समातिएका जनावर राख्न सहज हुने भनेर साढे तीन वर्षअघि तत्कालीन वनमन्त्री किरण गुरुङले अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना निर्माण गर्ने प्रक्रिया अघि बढाएका थिए । कीर्तिपुर, फुलचोकी, चन्द्रागिरि, गोकर्ण र सूर्यविनायकसहित पाँच ठाउँको स्थलगत अध्ययनपछि सूर्यविनायकलाई उपयुक्त ठहर्‍याइएको थियो ।
साढे तीन वर्षअघि अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने प्रक्रिया अघि बढाउँदा नै निर्माण जिम्मेवारी एनटिएनसीलाई दिने भनिए पनि आधिकारिक रूपमा जिम्मेवारी नसुम्पेकाले काम सुरु हुन नसकेको एनटिएनसीले जनाएको छ । ‘मौखिक भनिए पनि हामीलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माणको जिम्मेवारी दिइएको छैन,’ एनटिएनसीका कार्यकारी अधिकृत डा. सिद्धार्थबज्र बज्राचार्यले भने, ‘तयारी भएर पनि काम अघि बढ्न सकेन, स्थानीयस्तरमा तयारी भने भइरहेको छ ।’ उनले सरकारले निर्माण कार्य सुरुका लागि तारबार लगाउनसमेत नपुग्ने न्यून रकम छुट्याएको बताए । सूर्यविनायकमा तीनसय हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गरिने बताइएको छ ।
सदर चिडियाखाना ६ हेक्टरमा छ । चिडियाखानामा करिब एकसय नौ प्रजातिका पशुपन्छी छन् । जसमा पशुपन्छी संख्यात्मक रूपमा करिब आठसय छन् । चिडियाखाना सन् १९३२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेका थिए । सन् १९५० को राजनीतिक परिवर्तनपछि सरकार मातहतमा परेको चिडियाखानाको व्यवस्थापनको जिम्मा सन् १९९५ बाट एनटिएनसीले पाएको थियो ।

प्रतिक्रिया