अभियुक्तका परिवारबाटै पीडित परिवारलाई धम्की

दोलखा, १३ असार । अवैध यौनसम्बन्ध राखेर गर्भ बोकाएपछि परिवारकै हत्या गरेको अभियोगमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय दोलखामा मंगलबार किटानी जाहेरी दिएपछि आफन्त पनि असुरक्षित भएका छन् । बालकुमारी तामाङ र उनका छोराछोरीको हत्यामा संलग्न रहेको आरोपमा गैरीमुदी–१ का किरण बुढाथोकीविरुद्ध जाहेरी दिइएपछि अभियुक्तका बाबुले धम्की दिएका हुन् ।

तामाङकी आफन्त रामबहादुरले जाहेरी दिएपछि बुढाथोकीका बाबु शिवबहादुरले तामाङलाई सहयोग गरेका ज्ञानबहादुर कार्की, बलबहादुर तामाङ, मानबहादुर तामाङ, विष्णुमाया तामाङ र लालुमति तामाङलाई मार्ने धम्की दिएको पीडितले बताए ।
प्रहरीले सोमबार नै घटनामा संलग्न रहेको आशंकामा बुढाथोकीलाई नियन्त्रणमा लिएको थियो । मंगलबार अबेर किटानी जाहेरी परेपछि अनुसन्धान सुरु भएको इन्स्पेक्टर गोविन्द झाले बताए । मंगलबारको प्रारम्भिक अनुसन्धानमा अभियुक्त बुढाथोकीले पनि हत्या गरेको स्किारेका छैनन् । उनीमाथि अनुसन्धान जारी छ ।
आफ्ना छोराको अवैध सम्बन्धबाट तामाङ गर्भवती भएपछि शिवबहादुरले छोरालाई तीन हजार रुपियाँ दिएर सदरमुकाम चरिकोटका गर्भपतन गर्न पठाएका थिए । मेरी स्टोप्समा गरिएको परीक्षणमा गर्भ ६ महिना नाघेको पाइएपछि बुढाथोकी परिवार तनावमा थिए । १३ वैशाखमा गाउँमा बसेको राजनीतिक दलको भेला र गाविस सचिव मानबहादुर तामाङको रोहवरमा गर्भवती तामाङलाई बुढाथोकीको जिम्मा लगाइएपछि अभियुक्त किरणले तामाङलाई कुटपिट गर्दै आएका थिए भने बाबु शिवबहादुरले पनि दुव्र्यवहार गर्दै आएका थिए ।
मंगलबार मृतकहरूको शव बुझ्न कोही नआएपछि पोस्टमार्टम पनि भएको छैन । बुढाथोकीले काठमाडौं जाने प्रलोभन दिएर गर्भवती बालकुमारी, उनका सात वर्षीय छोरा धावा र तीन वर्षीया छोरी निमालाई तामाकोसीमा हत्या गरेको आफन्तले बताएका छन् । उनीहरू तामाकोसीमा मृत भेटिएका थिए भने बुढाथोकीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया