माइक्रोबस दुर्घटनामा ११ को मृत्यु

कैलाली, १३ असार । डोटीमा यात्रुवाहक माइक्रोबस सडकबाट दुई सय मिटर तल खस्दा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

डडेलधुराबाट कञ्चनपुरको महेन्द्रनगर आइरहेको महाकाली यातायातको से १ ख ५०२ नम्बरको हाइस माइक्रोबस डोटी छतिवन–९ रुवसकाँडामा दुर्घटनामा परेको हो । बस सडकबाट दुई सय मिटर तल खाँेचमा खसेको घटनास्थलमा उद्धारमा खटिएका डोटी बुडरस्थित प्रहरी चौकीका असइ दानसिं भाटले बताए ।
दुर्घटनामा भारत बरेलीका फिदा हुसैन, डोटी घण्टेश्वर–१ का २८ वर्षीय चन्द्रबहादुर विक, बैतडी सिलंगा–४ का ४२ वर्षीय मदनराज पन्त, कञ्चनपुर पिपलडाँडीका जगन्नाथ बोहराको मृत्यु भएको छ ।
यस्तै, डडेलधुरा जोगबुढाका कैलाशदत्त जोशी, भागेश्वर–७ की जानकीदेवी जोशी, रूपाल–५ की चन्द्रादेवी पाण्डेय, चिपुर–९ का बलबहादुर ऐरी, ५० वर्षीय राजेन्द्र महतो र सनाखत हुन नसकेका अन्य दुईजनाको पनि मृत्यु भएको छ । महतोको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको असइ भाटले बताए । बसचालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परेर डडेलधुरा चिपुर–९ की कविता महतो, रोजना महतो, बसका सहचालक बैतडीका १४ वर्षीय गणेश चन्द र डोटी छतिवनका हस्तबहादुर विक गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएकोमा उपचार हुन नसकेपछि भारतको बरेली पठाइएको छ । बैतडी सिलंगा–४ का धर्मराज पन्तको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया