रुसी केन्द्रमा अफ्रिकी चलचित्र

काठमाडौँ, १२ असार । नेपाल–अफ्रिका फिल्म फेस्टिबल २०१२ सोमबारदेखि राजधानीको रूसी सांस्कृतिक केन्द्रमा सुरु भएको छ । कलेज अफ जोर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना रहेको महोत्सवमा नेपालीलगायत इथोपिया, केन्या, तान्जानिया, युगान्डा र जाम्बियालगायत अफ्रिकी मुलुकका फिल्मले सहभागिता जनाएका छन् ।

१४ असारसम्म चल्ने महोत्सवमार्फत नेपाल र अफ्रिकी मुलुकको जनजीवन र अन्य विभिन्न पक्षबारे एकअर्कालाई जानकारी गराउने लक्ष्य रहेको आयोजक संस्थाकी अध्यक्ष मञ्जु मिश्रले बताइन् ।
यी चलचित्रले अफ्रिकाका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र आर्थिक जीवनशैलीलाई समेटेको महोत्सवमा सहभागिता जनाउन आएकी अफ्रिकाकी सेलिना माकाब्वाले जानकारी गराइन् । भनिन्– ‘अब हामीले नेपाली चलचित्रमार्फत यहाँको जनजीवनबारे पनि थाहा पाउने भयौँ ।’ सामाजिक अनि प्रेमका विषयवस्तु पनि समेटिएका अफ्रिकी चलचित्रले तान्जानियाका माउन्टकी, मन्जारोजस्ता हिमाल, अफ्रिकी क्षेत्रका जनावर अनि साउथ अफ्रिकी मुलुकमा हुने रंगभेदका घटनाबारे यथेष्ट जानकारी गराउने सेलिनाले बताइन् ।
अफ्रिकाका १३ वटा चलचित्र प्रदर्शन हुने महोत्सवमा नेपालबाट भने दासढुंगा मात्र छनोट गरिएको छ । नेपालको राजनीतिक घटनाक्रम प्रस्तुत गर्न यो चलचित्र छानिएको आयोजकले बताए ।
प्रदर्शन हुने अफ्रिकी चलचित्रमा नासेर, एन्थोनी फाबियन निर्देशित स्किन, राउल पेक निर्देशित समटाइम्स इन अप्रिल, मगोन फ्रिमनको बोफा, एन्ड्रयु मुर्रेको वाइल्ड अफ्रिका, स्टिभन कानुम्बाको अङ्कल जेजे, तिस्ती डाङ्रेम्बाको सियरिङ डे, एकेचुक ओनेको क्राइसेज इन प्याराडाइज, निकोल स्माग्लीको ङोरोङोरो, म्याट विसको ब्याटल अफ द सोल, च्यान्टल बीको द लास्ट कोलोनियल्स, माइकल ओस्लाको किरिकु एन्ड सोर्सरेस र लेनिनग्राडलगायत छन् ।
महोत्सवको उद्घाटनमा नेपालका लागि इजिप्टेली राजदूत डा. मुस्ताफा, पूर्वाञ्चल विश्वविद्यालयका महेश्वरमान महर्जन, उद्योगी प्रदीपकुमार श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, नेप्लिज फेसन होम्स प्रालिकी अध्यक्ष हेमा मानन्धर र युगान्डा प्रेस एसोसियसनकी नाली नोउरा रिता सहभागी थिए ।

प्रतिक्रिया