खड्गीको संगीतमा एकसाथ तीन एल्बम


काठमाडौं : वरिष्ठ संगीतसाधक रत्नबहादुर खड्गीद्वारा संगीतबद्ध तीन एल्बम एकैसाथ बजारमा आएका छन् । विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरिएका ती एल्बम हुन्– गीतकार रमेश कोइरालाद्वारा रचित विधाता, गायक तारालक्सम लिम्बूद्वारा गाइएको माया छ्यासछ्यास्ती र गायक उमंग लामाको वारिपारि ।
झन्डै पाँच दशकदेखि संगीतमा साधनारत खड्गीले यी तीनै एल्बममा एकल संगीत दिएका छन् । नेपाली संगीतमा केही विकृति मौलाइरहेका बेला यी एल्बमले गतिलो स्थान लिन सक्ने विश्वास उनले सौर्यसँग व्यक्त गरे । उनले अहिलेको सांगीतिक यात्रा क्षणिकतातिर ढल्किरहेको प्रति चिन्ता व्यक्त गरे, ‘संगीत रहरको विषय होइन, साधना हो । कालजयी संगीतका लागि साधनाको खाँचो छ ।’
विधातामा रहेको हजारौँको भीडमा बोलको गीतमा दीप श्रेष्ठले स्वर दिएका छन् । आठ गीत रहेको एल्बमको दोस्रो गीत तिमीलाई देख्दामा आनन्द कार्कीको आवाज सुन्न सकिन्छ । अन्य छ गीत लासमित राई, प्रास्ना शाक्य, जुना प्रसाई, नारायण लामा, तारा लक्सम र मीना निरौलाले गाएका छन् ।
माया छ्यासछ्यास्ती गायक तारा लक्समको पहिलो एल्बम हो । यसमा गीतकार राजेन्द्र थापाको छ्यासछ्यासती माया, ललिता कुँवरको किन यस्तो कसम र भनभन, वीरेन्द्र राईको दोबाटोमा र के देखेथेँ बोलका गीत छन् । त्यस्तै साहित्यकार हेमन्त विवशले लेखेको कटेकै छन् र प्रणीता चाम्लिङको तिमीसँग पनि सो एल्बममा समावेश गरिएका छन् ।
गायक उमंगको वारिपारिमा लोकआधुनिक छनक पाइन्छ । ताराबहादुर बुढाथोकी, ललिता कुँवर, प्रणीता चाम्लिङ, डिआर र भोला निरौलाको शब्द तथा लय यसमा छ । नयाँ–पुराना कलाकारलाई एउटै एल्बममा समेटेर दुई पुस्ताबीच सेतुको काम गर्न खोजिएको प्रति वरिष्ठ संगीतकार खड्कीले सन्तुष्टि व्यक्त गरे । (सौस)

प्रतिक्रिया