आज नेपालको “भाग्य–परीक्षा”

काठमाडौं, १२ असार । एसियाली क्रिकेट काउन्सिल यु–१९ एसिया कपमा नेपालले मंगलबार समूह चरणको तेस्रो तथा अन्तिम खेलमा भारतविरुद्ध खेल्दै छ । टेस्ट मान्यताप्राप्त देश भारतविरुद्ध विजयी भए नेपाल ‘पूर्व लक्ष्य’ बमोजिम सेमिफाइनल पुग्नेछ भने भारत समूह चरणबाटै बाहिरिनेछ ।
समूह ‘ए’मा नेपाल र भारतको दुई खेलबाट समान दुई अंक छन् । रनरेटमा अगाडि रहँदै भारत दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । सोही समूहमा रहेको अर्को टोली पाकिस्तान दुई खेलबाट चार अंक जोडेर समूहको शीर्षस्थानमा छ । नेपाल र भारत दुवैले पाकिस्तानविरुद्ध हार बेहोर्न पुगे भने मलेसियाविरुद्ध दुवैले जित हात पारेका हुन् ।
भारत र नेपालबीच हुने मंगलबारको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । भारतविरुद्ध विजयी हुँदै नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को सफलता हात पार्ने प्रयासमा छ जसमा भारतको बहिर्गमन नेपाली टोलीका लागि थप अर्को स्मरणीय सफलता हुन सक्छ । आसन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यु–१९ विश्वकपको तयारीमा रहेको नेपाली टोली भारतविरुद्ध विजयी भए विश्वकपका अन्य सहभागी टोलीलाई समेत झड्का हुने पक्का छ । त्यसो त नेपालले यु–१९ स्तरमा दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, जिम्बावेलगायत टोलीलाई पराजित गरिसकेको छ ।
भारतजस्तो क्रिकेटको ठूलो टोलीविरुद्ध विजयी हुनु नेपाली टोलीका लागि साँच्चै ठूलो चुनौती छ । तर, आफ्नो आक्रामक बलिङ लयमा फर्किसकेको नेपालले भारतविरुद्ध २ सय ५० भन्दा बढी रन जोड्न सके उक्त खेल भारतीय टोलीका लागि त्यति सहज हुनेछैन । खासगरी स्पिनरद्वय भुवन कार्की र राहुल कुमार विश्वकर्माको बलिङले भारतीय टोलीलाई अप्ठेरो बनाउन सक्नेछ । अन्तिम क्रमसम्मले ब्याटिङ गर्न सक्ने क्षमता भएका कारण नेपाली टोलीले आफूलाई कम आँक्न दिनेछैन ।
त्यस्तै, सागर पुन पनि अलराउन्ड प्रदर्शन गर्दै राम्रो लयमा देखिएका छन् । सिमर अविनाश कर्णको प्रदर्शन पनि सन्तोषजनक छ । यी खेलाडीले किफायती र कसिलो बलिङ प्रदर्शन गरिरहेका छन् । भारत भने एसोसिएट टोलीविरुद्ध जित हात पारेर आफ्नो ‘लाज’ जोगाउने प्रयासमा छ । भारतले उत्कृष्ट ब्याटिङ गरिरहेको छ भने बलिङ अपेक्षित रूपमा राम्रो हुन सकेको छैन । भारत आइतबार रोमाञ्चक खेलमा पाकिस्तानविरुद्ध एक रनले पराजित भएको थियो । यस क्रममा भारतले आफ्नो ‘ब्याटिङ स्ट्ेरन्थ’ बलियोसँग देखायो । पाकिस्तानविरुद्ध २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले अन्तिम समयसम्म संघर्ष गरेको थियो । यस क्रममा भारतीय मध्यक्रमका ब्याट्सम्यान विजय जोलले १ सय ९ रन बनाएर आकर्षक सतकीय इनिङ खेलेका थिए । पाकिस्तानको बलिङसामु नेपालले १ सय ५६ रन मात्र जोड्न सकेको थियो । भारतीय मिडियम फास्ट बलर रस कलरिया नेपाली ब्याट्सम्यानका लागि टाउको दुखाइ बन्न सक्नेछन् । पहिलो खेलमा दुई विकेट लिएका कलरियाले दोस्रो खेलमा पाकिस्तानविरुद्ध चार विकेट लिएका थिए । यद्यपि, भारतको समग्र बलिङ आक्रमण त्यति प्रभावकारी बन्न सकेको छैन । यसअघि नेपाल र भारतबीच यु–१९ स्तरमा एकपटक भेट भएको थियो जसमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया