इजिप्टले इजरायलसँगको सम्बन्धमा पुनर्विचार गर्ने

तेहरान, १२ असार । इजिप्टका नवनिर्वाचित राष्ट्रपति मोहमद मोर्सीले इजरायलसँगको शान्तिसन्धि र इरानसँगको सम्बन्धमाथि पुनर्विचार गर्न अफू इच्छुक रहेको बताएका छन् । मध्यपूर्वमा रणनीतिक सन्तुलन कायम गर्ने उद्देश्यले आफूले यस्तो विचार गरिरहेको उनले जानकारी दिएका छन् ।
इरानको फार्स समाचार एजेन्सीले सोमबार प्रकाशन गरेको राष्ट्रपति मोर्सीको अन्तवार्तामा उनले यस्तो बताएका हुन् । मोर्सीको भनाइ सार्वजनिक भएपछि यसले इजरायल र उसको साझेदार अमेरिकालाई तनाबमा पारेको छ । ‘सन् १९७९ मा गरिएको क्याम्प डेभिड सम्झौतामाथि हामी पुनर्विचार गर्नेछौँ,’ अन्तर्वार्तामा मोर्सीले भनेका छन् । क्याम्प डेभिड सम्झौतालाई इजिप्ट–इजरायल शान्तिसन्धि भनिन्छ जुन सोही मितिदेख लागू हुँदै आएको छ ।
सन् १९४८ मा अरब–इजरायल युद्ध हुँदा विस्थापित भएका प्यालेस्टाइनी शरणार्थीहरू घर फर्किनु महत्त्वपूर्ण भएको जिकिर उनले गरेका छन् । यस्ता यावत संवेदनशील विषयमा क्याबिनेट र सरकारी निकायले निर्णय लिने उनले उल्लेख गरेका छन् ।
इरानसँग सम्बन्ध सुधार्न आफू तयार रहेको उनले स्पष्ट पारेका छन् । इजिप्टले इजरायलसँग शान्ति सन्धि गरेपछि इजरायलको चर्को आलोचक इरानले सन् १९८० मा इजिप्टसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । ‘इरान र इजिप्टसँग सम्बन्ध बिकास गरेर यस क्षेत्रमा रणनीतिक सन्तुलन कायम गर्नु मेरो प्राथमिकताभित्रका विषय हुन्,’ मोर्सीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले लेखेको छ ।
पूर्वराष्ट्रपति होस्नी मुबारक जनआन्दोलनबाट पदमुक्त भएपछि भएको निर्वाचनले मोर्सीलाई नयाँ राष्ट्रपति चुनेको हो । इस्लामिक राष्ट्रवादका पक्षधर मानिएका मोर्सी राष्ट्रपति पदमा विजयी भएपछि इजरायलमाथि चर्को दबाब परेको छ । पश्चिमी राष्ट्र तथा इजरायलसँग विवादमा रहेको इरान भने यसबाट उत्साही भएको छ । इरानी विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रपति मोर्सीको भनाइको स्वागत गरेको छ । इरानमा सिया मुसलमान र इजिप्टमा सुन्नी मुसलमानको बाहुल्य रहे पनि ‘अरब राष्ट्रिता’ प्रवद्र्धन गर्न उनीहरूले हात मिलाए इजरायल र अमेरिका अप्ठेरोमा पर्ने विश्लेषकको भनाइ छ ।
केही दिनअघि चरमपन्थी संगठन अल–कायदाले समेत इजरायलसँग शान्तिसन्धि खारेज गरी इस्लामिक कानुन लागु गर्न इजिप्टसँग माग गरेको थियो । जेरुसलमलाई ‘यहुदी सहर’ बन्नबाट रोक्न इजिप्टले इजरायलसँगको सन्धि खारेज गर्न अत्यावश्वक भएको अल–कायदाका सर्वोच्च नेता यमन अल जवाहरीले जनाएका थिए । ‘गद्दार अन्वर सदात (इजिप्ट पूर्वराष्ट्रपति) लाई शान्तिसन्धिमा हस्ताक्षर गराएर इजिप्टलाई युद्धमैदानबाट नहटाएको भए यहुदीवाद अहिलेको स्तरमा उठ्न सक्दैन भन्ने उसको नियमित आपराधिक क्रियाकलापले पुष्टि गरिसकेको छ । यदि जेरुसलमको यहुदीकरण रोक्नु छ भने इजिप्टले सारिया कानुन लागु गर्नु, इजरायलमाथि दबाब बढाउनु र उसँगको सन्धि खारेज गर्नुको विकल्प छैन,’ अडियो सन्देशमा जवाहरीले भनेका थए । (एजेन्सी)

प्रतिक्रिया