दुई महिलाको उद्धार

वीरगन्ज : रोजगारीको प्रलोभन देखाएर दुई महिलालाई खाडी मुलुक लैजान लागेका एक युवक पक्राउ परेका छन् ।
दुवै महिलालाई साउदी अरब पठाइदिने प्रलोभन देखाउने रसुवा भोर्ले–५ का पहलमान थिङ पक्राउ परेका हुन् । उनीले पर्सा ठोरी हुँदै सीमावर्ती भिखनाठोरीबाट भारत लैजान लागेका मकवानपुर काँकडा–५ की २२ वर्षीया कान्छीमाया तामाङ र नुवाकोट माझी–९ की २३ वर्षीया फूलमाया तामाङलाई पनि पारालिगल कमिटीले सोमबार उद्धार गरेको छ । फूलमाया, एक छोरा र दुई छोरीकी आमा हुन् भने कान्छीमाया एक छोरा र एक छोरीकी आमा हुन् ।
सदरमुकामदेखि ६० किलोमिटर उत्तर–पश्चिममा पर्ने ठोरी नाका हुँदै ती महिलालाई थिङले नयाँदिल्ली लैजाने तयारी गरेका बेला उद्धार गरिएको पारालिगल कमिटीकी अध्यक्ष मीना गिरीले बताइन् ।
चितवन भरतपुरबाट माडी हुँदै बाँदरझुला सुकुम्बासीबस्ती आइपुगेका थिङ दुई महिलासहित आइतबार राति बास बसेपछि शंका लागेर स्थानीय धनमाया थिङले पारालिगल कमिटी ठोरीमा जानकारी गराएकी थिइन् । दिल्ली हुँदै साउदी अरब पठाएर घरेलु कामदारका रूपमा काम लगाइदिने आश्वासन दिएर थिङले आफूहरूलाई ल्याएको ती महिलाले बताए ।
उद्धार गरिएका महिलाका साथमा नागरिकताको प्रमाणपत्र र पासपोर्ट नभएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । थिङले दिल्लीमै नागरिकता र पासपोर्ट बनाइदिने आश्वासन दिएर ल्याएको दुवै महिलाले बताए । घरमा पति र सासू–ससुराले हेला गरेकाले रोजगारीका लागि घरपरिवारलाई जानकारी नदिई हिँडेको दुवै महिलाले बताए । (सौस)

प्रतिक्रिया