नेपालको सम्भावना कायमै

क्वालालम्पुर, ११ असार । एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१९ एसिया कपमा नेपालले आइतबार मलेसियालाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । नेपालसँग भिड्नुअघि आइतबार नै भारत पाकिस्तानसँग भएको खेलमा एक रनले पराजित भएपछि नेपालको सम्भावना कायमै रहेको हो ।
समूह ‘ए’मा पाकिस्तान दुई खेलबाट चार अंक बटुल्दै सेमिफाइनल प्रवेश गर्‍यो । दुई खेल खेलेको भारत र नेपालको समान दुई/दुई अंक छ । आ–आफ्नो अन्तिम खेलमा मंगलबार भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले मलेसियालाई १ सय ७ रनले पराजित गर्‍यो । नेपालले प्रस्तुत गरेका २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली मलेसिया ४३ ओभरमा १ सय ४० रनमा सीमित भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा स्पिनर राहुलकुमार विश्वकर्माले पाँच विकेट लिए । त्यस्तै, अविनाश कर्ण र पृथु बाँस्कोटाको नाममा समान दुई विकेट रह्यो । आठ ओभर बलिङ गर्ने क्रममा राहुलले एक मेडन राखेर ३० रन खर्चिएका थिए । उनी म्यान अफ द म्याच भए ।
अघिल्लो दिन पाकिस्तानविरुद्ध सन्तोषजनक ब्याटिङ प्रदर्शन गर्न नसकेको नेपाल मलेसियाविरुद्ध भने निर्धारित ५० ओभर टिक्यो र यस क्रममा नेपालका सागर पुनले ७१ रनको व्यक्तिगत इनिङ खेले । प्रदीप ऐरी र राजेश पुलामी मगरले समान ३९ रनको योगदान गरे । त्यस्तै सुभाष खकुरेलले ३३, हसिम अन्सारीले २१ र भुवन कार्कीले २३ रनको योगदान गरे । पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको नेपालका लागि सागरले ९० बलमा चार चौका र तीन छक्का प्रहार गरे । सागर र राजेशबीच पाँचौँ विकेटका लागि ८४ रनको साझेदारी भएको थियो ।
यसअघि शनिबार पाकिस्तानविरुद्ध टस हारी पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले १ सय ५६ रन जोड्ने क्रममा आठ विकेटले पराजय सामना गरेको थियो । पाकिस्तान र भारतबीचको खेल भने रोमाञ्चक एवं प्रतिस्पर्धात्मक रह्यो । २ सय ८८ रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम बलमा जितका लागि दुई रन आवश्यक थियो तर त्यसअघि पछिल्ला पाँच बलमा १५ रन खर्चिएका पाकिस्तानी बलर मोहमद नवाज उक्त बलमा भने ‘भाग्यमानी’ ठहरिए अर्थात् भारतले रन जोड्न सकेन ।
नवौं क्रममा ब्याटिङ गर्न आएका भारतका सेयेदले उक्त बल ड्राइभ गर्दै बलरको दिशामा प्रहार गरे पनि उनले रन लिने अवसर पाएनन् । ५० औं ओभरमा जितका लागि १७ रन आवश्यक रहँदा भारतले दुई चौका र एक छक्का प्रहार गरेको थियो । भारतका लागि विजय जोलले अविजित १ सय ९ रनको योगदान गरे । त्यस्तै कप्तान उन्मुक्त चन्दले ४९ रन बनाए । निर्धारित ५० ओभर खेल्दै सात विकेट गुमाएको पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान सामी अस्लमले १ सय २१ रन बनाए भने इमाम उल हकको नाममा ८८ रन रह्यो । इमाम र सामीले दोस्रो विकेटका लागि २ सय १३ रनको साझेदारी गरेका थिए ।
समूह ‘बी’ अन्तर्गतका खेलमा आइतबार श्रीलंकाले बंगलादेशलाई पराजित गर्‍यो । १ सय ८४ रनको लक्ष्य पछ्याएको बंगलादेशविरुद्ध श्रीलंका ४३ रनले विजयी हुँदै लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो । सोही समूहको अर्को खेलमा अफगानिस्तानले कतारलाई १ सय ९१ रनले पराजित गर्‍यो । ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको कतार १ सय १७ रनमा सीमित भएको थियो । पहिलो खेलमा अफगानिस्तान श्रीलंकासँग पराजित भएको थियो । अन्तिम खेलमा बंगलादेश र अफगानिस्तान तथा श्रीलंका र कतारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया