एक महिनामै साढे १० करोड ठगी

काठमाडौं, ११ असार । वैदेशिक रोजगारीका नाममा एक महिनामै साढे १० करोड रुपियाँभन्दा बढी रकम ठगी हुने गरेको छ । रोजगारीका लागि विभिन्न मुलुक पठाउने भन्दै गत जेठ महिनामा मात्र व्यक्तिगत तथा संस्थागत रूपमा १० करोड ५१ लाख आठ हजार नौ सय ५० रुपियाँ ठगी भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार संस्थागत तथा व्यक्तिगत रूपमा झुटा कागजात बनाउने, झुटो विवरण राखी सम्झौता गराउने र मोटो रकम लिएर विदेश पठाउने भन्दै ठगी गरेका उजुरी विभागमा पर्ने गरेका छन् । चालु आवको जेठ महिनामा मात्र यस्ता ठगीका घटनालाई लिएर दुई सय ४५ ओटा उजुरी विभागमा परेका छन् ।
विभागमा परेका उजुरीमध्ये सबैभन्दा बढी व्यक्तिगत ठगीका छन् । जेठमा मात्र आठ करोड ७१ लाख ७७ हजार चार सय ५० रुपियाँ बिगो दाबीसहित विभागमा व्यक्तिगत ठगीका एक सय ३६ उजुरी परेका छन् । ती उजुरीमा अधिकांश सम्झौताअनुसार सेवा सुविधा नपाएको तथा मोटो रकम लिएर विदेश पठाउने भन्दै फरार भएको उल्लेख छ ।
यस्तै सोही महिना संस्थागत रूपमा विदेश पठाउने भन्दै एक करोड ७९ लाख ३१ हजार पाँच सय रुपियाँ ठगी भएको भन्दै विभागमा एक सय नौवटा उजुरी परेका छन् । योसहित चालु आवको ११ महिनामा वैदेशिक रोजगारीका नाममा भएको ठगीका घटनालाई लिएर विभागमा परेको उजुरीको संख्या एक हजार आठ सय ९८ वटा पुगेको छ । यी उजुरीमा बिगो दाबी भएको रकम एक अर्ब चार करोड ८९ लाख ४२ हजार नौ सय ३५ रुपियाँ छ ।
खास गरी म्यानपावर कम्पनीले कामदारलाई झुटो विवरण उल्लेख गरी सम्झौता गराएको, लागतभन्दा बढी रकम असुल गरेको तथा विदेश पठाएर अलपत्र पारेको संस्थागत उजुरीमा उल्लेख छ । सो महिना ४० हजारको हाराहारीमा मानिस वैदेशिक रोजगारीमा गएका छन् ।
यस्तै, सो महिना विभागमा परेका ठगी उजुरीमध्ये १६ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । यस्मा १५ वटा व्यक्तिगत ठगीका छन् भने एउटा संस्थागत ठगीको रहेको विभागले जनाएको छ । अदालतमा दर्ता भएको ठगी मुद्दामा तीन करोड ११ लाख ६४ हजार तीन सय ३३ रुपियाँ बिगो दाबी भएको पनि विभागले जनाएको छ । व्यक्तिगत ठगी मुद्दामा दुई करोड ९० लाख १६ हजार तीन सय ३३ र संस्थागत रूपमा भएको ठगी मुद्दामा २१ लाख रुपियाँ बिगो दाबी भएको विभागको उजुरी तथा अनुसन्धान शाखाले जनाएको छ ।
एकै महिनामा साढे १० करोडभन्दा बढी ठगी भएको भनी बिगो दाबीसहित विभागमा उजुरी परे पनि फरफारत भएको रकम भने न्यून छ । सो महिना विभागमा परेको उजुरीमा दाबी भएबमोजिमको ८१ लाख ८२ हजार पाँच सय रुपियाँ ठगी रकम फरफारत भएको विभागले जनाएको छ ।
यस्तै वैदेशिक रोजगारीका नाममा भएका ठगी, कानुनी प्रावधान पूरा नभएको भन्दै जेठमा विभागले ३१ संस्थाको इजाजत पत्र खारेज गरेको जनाएको छ । रोजगारीका नाममा भएको ठगी र पीडितको उजुरीका आधारमा अनुसन्धान गर्दा दोषी भेटिएका तथा कानुन पालना गर्न सचेत गराउँदासमेत अटेर गर्ने ती संस्थाको इजाजत खारेज गरिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कानुन पालना नगर्ने र जोरखारीका नाममा ठगी धन्दा गर्ने ३१ वटा संस्थाको इजाजत खारेज भएको जनाए । सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित बनाउन लागिरहेको तथा सुसासनका कामसमेत अघि बढाएको अवस्थामा कानुनी प्रावधान पालना नगर्ने जोकोहीलाई विभागले नछाड्ने उनले बताए ।
रोजगारीका नाममा भएका व्यक्तिगत ठगीलाई न्यूनीकरण गर्न अहिले विभागले व्यक्तिगत श्रम स्वीकृतिमा समेत कडाइ गरेको र गत वर्षभन्दा चालु आवको जेठमा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि विदेश जानेको संख्या ७० प्रतिशत घटेको उनको दाबी छ । तर, सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनालाई न्यूनीकरण गर्ने तथा व्यक्तिगत श्रम स्वीकृतिलाई कडाइ गरिरहेको जनाए पनि व्यक्तिगत रूपमा हुने ठगी भने कम हुन नसकेको व्यवसायी बताउँछन् । सरकारले म्यानपावर कम्पनीलाई मात्र कडीकडाउ गर्ने गरेको तर व्यक्तिगत रूपमा ठगी धन्दामा संलग्नलाई कारबाही गर्न नसकेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया