विमान खसाएको बारे नेटोले छलफल गर्ने

आंकारा, ११ असार । सिरियाले आफ्नो जहाज अन्तर्राष्ट्रिय हवाइक्षेत्रमा खसाएको आरोप टर्कीले लगाएपछि नेटोको आपत्कालीन बैठक बस्ने भएको छ । टर्कीले आइतबार यस्तो आरोप लगाएको थियो । विमान खसाएपछि दुई देशबीच तनाव बढ्न थाल्दा यसले हिंसात्मक रूप लिनसक्ने आशंका गरिएको छ ।
टर्कीका विदेशमन्त्री अहमेत दाभुटोग्लुले टर्कीको एफ–४ फ्यान्टम जेट विमान केहीबेर सिरियाली आकाशमा पुगेको स्वीकार गरे पनि अन्तर्राष्ट्रिय हवाई क्षेत्रबाट विमान खसालिएको दाबी गरेका छन् । एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले सिरियाको अकाशभन्दा केही माइल पर उडिरहेको विमान खसालिएको निष्कर्षमा आफूहरू पुगेको उल्लेख गरेका छन् । उक्त विमानले सिरियाविरुद्ध कुनै उग्रता प्रदर्शन नगरेको उनले प्रस्ट पारेका छन् । सिरियाली हवाई क्षेत्र उल्लंघन भएको १५ मिनेटपछि विमान खसाइएको उनले बताएका छन् ।
विमानलाई खसाउनुपूर्व सिरियाले कुनै चेतावनी नदिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘विमान नि:शस्त्र तालिम तथा राडार परीक्षणको अभियानमा रहेको अवस्थामा झारिएको हो ।’ विमान टर्किस सेनाको रहेको थाहा पाउँदापाउँदै सिरियाली सैनिकले खसाएको दाबी उनले गरेका छन् । विमान खसालिएपछि क्रुद्ध बनेका उनले टर्कीको सैन्य क्षमतालाई परीक्षण नगर्न चेतावनी दिएका छन् । टर्कीको सुरक्षामाथि चुनौती सिर्जना नगर्न उनले सचेत गराएका छन् ।
विमान खसाएको घटनाबारे छलफल गर्न मंगलबार नेटोको आपत्कालीन बैठक बस्ने भएको छ । टर्कीले नेटो गठबन्धनको धारा ४ अनुसार आफ्नो सुरक्षामा चुनौती देखिएकाले यस विषयमा छलफलल गर्न अनुरोध गरेपछि बैठक बस्ने भएको हो । नेटोका प्रवक्ता ओना लंगेस्कुले टर्कीको अनुरोधमा उत्तर एट्लान्टिक परिषद्को बैठक मंगलबार बस्ने जानकारी दिए । राष्ट्र संघ सुरक्षा परिषद्का सदस्य बेलायतका विदेशमन्त्री विलियम हेगले सिरियाको सरकारलाई उसको व्यवहारका लागि जिम्मेवार बनाइने बताए । सिरियाले भने टर्किस विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेपछि खसालिएको दाबी गरेको छ ।
देशभित्र नरसंहार मच्चाएको भन्दै सिरियाली सरकारको सर्वत्र आलोचना भइरहेका बेला सिरियाली फौजले शुक्रबार टर्कीको युद्धक विमान खसालेको थियो । सिरिया र टर्कीको सम्बन्ध सुमधुर रहेकामा सिरियाली राष्ट्रपति बासर अल असदविरुद्धको विद्रोह उत्कर्षमा पुगेपछि टर्कीले विद्रोहीको पक्ष लिँदै असदलाई सत्ता त्याग गर्न दबाब दिएपछि दुई देशबीचको सम्बन्धमा कटुता उत्पन्न भएको थियो । विमानभेदी पोतको सहयोगले विमान खसालिएको र पछि उक्त विमान टर्कीको रहेको पत्ता लागेको सिरियाली समाचार एजेन्सी सानाले जनाएको थियो । विमान खसालिएलगत्तै टिप्पणी गर्दै टर्कीले जवाफमा ‘दृढतापूर्वक आवश्यक कदम चाल्ने’ चेतावनी दिएको थियो ।
राष्ट्रसंघ महासचिव बान कि मुनले विमान खसालिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले गम्भीर परिणाम नित्याउनसक्ने आशंका व्यक्त गरेका छन् । सिरियाको सहयोगी राष्ट्र इरानले भने शान्त रहन सबैसँग आग्रह गरेको छ । (एजेन्सी)

प्रतिक्रिया