ऋण तिर्ने पैसा लुटिएपछि चिन्ता

दाङ : ‘ऋण तिर्नु धेरै छ,’ आइतबार लमहीमा लुटिएपछि प्युठानकी मीनादेवी महतराले भनिन्, ‘अब ऋण कसरी तिर्ने ?’
महतराको साथमा रहेको एक लाख तीन हजार रुपियाँ दिनदहाडै लुटिएको छ । पैसा लुटिएपछि महतरा दिनभरि बेहोस भएकी थिइन् । ‘ऋण, थपिएको ब्याजले धुरी नाघेपछि छोरालाई पैसा पठाउन कर गरेकी थिएँ,’ उनले भनिन्, ‘घरको ऋण चुकाउन छोराले साउदीबाट साथीहरूसँग सापट गरेर पठाएको पैसा पनि बजारबाट दिउँसै लुटियो ।’ ‘साथीसँग मागेर पठाएको भन्दै थियो,’ उनले थपिन्, ‘उता उसलाई कमाउन समस्या पर्ने भयो, यता हामी बर्बाद भयौँ ।’
छोराले पैसा पठाएपछि ऋण तिर्ने सोचमा थिइन् महतरा । अरबबाट छोराले पठाएको पैसा वेस्टर्न विकास बैंकबाट निकालेर फर्कँदै गर्दा बाटोमै उनी लुटिएकी हुन् । प्युठान बांगेसालकी ७० वर्षीया महतरा विक्षिप्त बनेकी छन् । ‘पैसा निकालेर बाटोमा आउँदै थिएँ,’ उनले सुनाइन्, ‘एकजनाले आफैँले हिलो छ्यापेर तपाईंको पछाडि के लागेको छ भनेपछि हेर्दा हातको ब्याग खोसेर भाग्यो ।’ अपरिचित व्यक्तिले झुक्याएर रकम केही मिनेटमै लुटेपछि महतरा विक्षिप्त बनेकी हुन् ।
इलाका प्रहरी कार्यालय लमहीले लुटेराको खोजी भइरहेको बताएको छ । यसअघि पनि लुटेरा यसैगरी रकम लुटेर फरार भएका थिए । लमहीमा केही समययता लुटेरा सक्रिय भएपछि ग्रामीण भेगबाट आउने सर्वसाधारण लुट्ने क्रम बढेको छ । लुटेराहरूले बैंकबाट पैसा निकाल्ने व्यक्ति पहिचान गरी लुट्ने गरेका छन् । (सौस)

प्रतिक्रिया