प्रधानाध्यापकलाई मोसो दलियो

राजविराज, ११ असार । विद्यार्थीका लागि आएका पाठ्यपुस्तक उपलब्ध नगराएको आक्रोशमा कञ्चनपुरस्थित सर्वोदय उमाविका विद्यार्थीले आइतबार विद्यालयका निमित्त प्रधानाध्यापकलाई मोसो दलेर विद्यालयमा तालाबन्दी गरेका छन् ।

समयमा पुस्तक उपलब्ध नभएका कारण पठनपाठन प्रभावित भएको गुनासो लिएर कार्यालय पुगेका विद्यार्थीलाई प्रधानाध्यापक महेन्द्रकुमार यादवले दुव्र्यवहार गरेपछि आक्रोशित विद्यार्थीले मोसो दलेर विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयमा भएका विभिन्न गतिविधिका कारण पढाइ प्रभावित भइरहेकाले सुधारका लागि आठसूत्रीय मागसहित जाँदा प्रअ यादवले सार्वजनिक मुद्दा लगाएर प्रहरीको जिम्मा लगाउने धम्की दिएपछि मोसो दलिएको विद्यार्थीले बताए । गत वर्षदेखि नै विद्यालयले ऐच्छिक विषयका पाठ्यपुस्तक उपलब्ध गराएको छैन । कक्षामा सधैँ प्रथम हुँदै आएकी नूतन साहसमेत ०४८ सालको एसएलसी परीक्षामा ऐच्छिक गणित विषयमा फेल भएको विद्यार्थीले बताए । साहले पाठ्यपुस्तक अभावमा परीक्षामा असफल भएको बताइन् ।

प्रतिक्रिया