झडपमा घाइते भएकाको मृत्यु

मोरङ, १० असार । कांग्रेस कार्यकर्तासँग पाँच दिनअघि भएको झडपमा घाइतेमध्ये रोशन मगरको मृत्यु भएपछि विराटनगरमा कांग्रेस र एकीकृत नेकपा (माओवादी)बीच दूरी बढेको छ । मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ९ का सभापति खड्ग फागोलाई राति ११ बजे घरमै घेरेर आक्रमण गर्न आएको आरोपमा स्थानीय कांग्रेस कार्यकर्ताले आक्रमण गर्दा मगरसहित तीनजना गम्भीर घाइते भएका थिए । घाइते तीनैजना वाइसिएल नेता सुशन लिम्बू समूहका सदस्य भएको बताएको छ ।
मगरको शवलाई शनिबार उर्लाबारीमा नगर परिक्रम गरेर एकीकृत नेकपा (माओवादी)ले कोणसभा गरेको छ । इहटरा–९ झुनामारी घर भएका मगरको पनि गाउँमै दाहसंस्कार गरिएको छ ।
कोणसभामा बोल्दै एकीकृत नेकपा (माओवादी)का नेता गोपीबहादुर अछामीले अपराधीलाई राजनीतिक संरक्षण नदिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । एकीकृत नेकपा (माओवादी) र कांग्रेसबीच दूरी बढेपछि नेकपा (एमाले) उर्लाबारीले प्रेस विज्ञप्ति जारी गर्दै दुवैलाई संयम रहन आग्रह गरेको छ ।
आक्रमणमा घाइते भएका राजघाट–९ का अमर धिमाललाई थप उपचारका लागि भारत सिलिगुडीमा लगिएको छ । अर्का घाइते उर्लाबारी–२ का राजीव लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
मगर उर्लाबारी–सिजुवा सडक खण्डमा बस व्यवसायी थिए । ५ असारमा भएको झडपपछि घटनाका आरोपी कांग्रेस नेता फागो र वाइसिएलका लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले फागोसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया