कथित ‘डन’ बस्ने घर र सेल्टरमा छापा

काठमाडौं, ९ असार । साना हतियार र विभिन्न आपराधिक कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले राजधानीमा पाँच दजर्न बढि स्थानमा छापामारेको छ ।
राजधानीका विभिन्न ६४ स्थानमा छापामारेपनि जम्मा दुई जनालाई मात्रै पक्राउ गरिएको महानगरीय प्रहरी परिषर हनुमानढोका नायव उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौं मखनटोल बस्ने बर्ष २४ का सुदीप स्थापित तथा नरदेवी र हनुमानढोकाको वीचमा पर्ने दमाईटोलबाट बर्ष २० का रवीन्द्र देउला रहेको सिंहले जानकारी दिए । स्थापितसँग लागूऔषध फेला परेको छ ।
राजधानीमा हुने साना हतियारको अपराध र अन्य आपराधिक कार्यमा संलग्नहरुको खोजीका क्रममा आज विहानै विभिन्न  ६४ स्थानमा छापामारिएको उनले बताए ।
‘समाजमा अपराध गर्न सक्रिय रहेका समूह वा आपराधिक समूहलाई दबावमा राख्न छापामारिएको हो,’ नायव उपरीक्षक सिंहले भने, ‘आपराधिक गतिविधि गर्ने जो कोही पनि बच्न सक्दैन भन्ने म्यासेज दिन छापामारेका हौं ।’
प्रहरीले बौद्धमा–६, महाराजगञ्जमा–६, कालीमाटीमा–६, बालाजुमा–६, बानेश्वरमा–६, गौशालामा–२, कपनमा–३, जनसेवाबाट–३, कमलपोखरीबाट–३, लैनचौरबाट–३, कोटेश्वरबाट–४, स्वयंभूबाट–३, बुढानिलकण्ठबाट–१, बलम्बुबाट–४, गंगबुबाट–४, सिंहदरबार प्रहरी प्रभागबाट–४ स्थानमा छापामारेको थियो ।
छापामा कथित डनका रुपमा परिचित समूह बस्ने घर सेल्टरमा छापामारिएको नायव उपरीक्षक सिंहले बताए । प्रहरी कब्जामा भने कथित डन भनिने कुनै पनि पक्राउ परेका छैनन् ।

प्रतिक्रिया