पहिलो चरणको अन्तिम खेलमा दुई तथा क्वार्टरफाइनलमा एक गोल गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यसपटक आफ्नो देशलाई युरोकपको उपाधि दिलाएमा विश्व फुटबलमा एउटा बहस सुरु हुनेछ– युसिबियो, लुइस फिगो र रोनाल्डोमध्ये पोर्चुगलको सर्वकालीन उत्कृष्ट खेलाडी को ?
इतिहासको कालखण्डमा दक्षिण अमेरिकामा स्पेन र ब्राजिलले साम्राज्य कायम गर्दा ब्राजिल पोर्चुगलको अधीनमा थियो । आकर्षक र कलात्मक फुटबलका दुई पर्याय राष्ट्र ब्राजिल र अर्जेन्टिनाको फुटबलले यी दुई पूर्वसाम्राज्यलाई पनि प्रभाव पार्यो । यसै कारण ९० को दशकदेखि पोर्चुगललाई मिनी ब्राजिलको नामले पनि चिनिन थालियो । विश्व फुटबलमा पृथक् र गर्विलो पहिचान बोकेको ब्राजिलको झैं खेल भएको पोर्चुगलको राष्ट्रिय टोली सन् २००० को दशकको सुरुवातमा फिगोको अलावा, मानुइल रुइ कोस्टा, जावो पिन्टो र नुनो गोमेजजस्ता स्टारले भरिपूर्ण थियो । यी सबै स्टारले भरिएको पोर्चुगलको राष्ट्रिय टोली उपाधि विहीन नै थियो । पुस्तान्तरसँगै स्टार खेलाडी पाउलेटासहितको पोर्चुगलको टोलीले पनि सफलता पाएन ।
यो त भयो आधुनिक फुटबलको कुरा । यी स्टारको उदयभन्दा धेरै अगाडि पोर्चुगलको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने काम भने ६० को दशकको अन्त्यमा उदाएका फरवार्ड युसिबियोले गरे । मोजाम्बिकमा जन्मिएका युसिबियोले पोर्चुगललाई सन् १९६६ को विश्वकपमा तेस्रो स्थान दिलाए । प्रतियोगितामा ९ गोल गर्दै उनी शीर्ष गोलकर्ता भए । उनले त्यो वर्ष ब्रन्ज बल पनि पाए । यसअघि उनले सन् १९६५ मा फिफा ब्यालोन डी अवार्ड पाएका थिए । सन् १९६२ मा भने उनी दोस्रो स्थानमा रहेका थिए । २२ वर्षे खेलजीवनको १५ वर्ष बेनफिकामा बिताएका युसिबियाले आफ्नो क्लबलाई ११ पटक पोर्चुगल लिग च्याम्पियन बनाए । उनकै समयमा बेनफिका चारपटक युरोपियन कप फाइनलमा पुग्दै एकपटक उपाधि जित्यो ।
ब्ल्याक प्याइन्थर, ब्ल्याक पियर्ल र ओरेइको उपनामबाट परिचित युसिबियोले ७४५ खेल खेलेर ७३३ गोल गरे । स्पिड, शक्तिशाली प्रहार र निसानामा अचुक भएकै कारण उनी विश्व फुटबलको महान् खेलाडी तथा पहिलो अश्वेत विश्वस्तरीय फुटबल स्टारका रूपमा पनि चिनिए । उनी फुटबलका विज्ञहरूबाट २०औं शताब्दीका नवौं उत्कृष्ट फुटबलर तथा फुटबल म्यागेजिनबाट शताब्दीका १० आंै उत्कृष्ट फुटबलर घोषित भए । उनका आलोचक भनौं या कम आँक्नेहरू पनि नभएका होइनन् । सन् २००४ मा पेलेले उनलाई जीवित फुटबलरमध्ये १२४ औं स्थानमा राखे । यसअघि २००३ को अनलाइन पोलले उनलाई सातौं स्थानमा राखियो । २००३ मा उनलाई पोर्चुगलको अनलाइन र फुटबल विश्लेषकले इतिहासकै महान् खेलाडी भएको घोषणा गरे । उनकै टोलीका अर्का खेलाडी एन्टेनियो सिमोसले भने युसिबियोलाई कम महत्त्व दिँदै भने, ‘बरु ऊ नभएको भए बेनफिकाले तीनपटक युरोपियन कप जित्थ्यो होला ।’
९० को दशकको मध्यमा पोर्चुगल फुटबलको पुनरुत्थानको युग सुरु हुँदा लुइस फिगो त्यसका नायक बने । पोर्चुगल राष्ट्रिय टोलीका लागि सर्वाधिक १ सय २७ खेल खेलेर कीर्तिमान कायम गरेको फिगोले २० वर्षे खेलजीवनमा पाएका सफलता साँच्चै आश्चर्य लाग्दो छ । स्पेनका दुई प्रमुख विपक्षी क्लब रियल म्याड्रिड र बार्सिलोनाका साथै सेरी ए क्लब इन्टरमिलान र स्पोर्टिङ सिपीका लागि थुप्रै घरेलु उपाधि दिलाए । साथमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि पनि ।
फिगो, रुइ कोस्टा र जावो पिन्टो सम्मिलित पोर्चुगलको ‘गोल्डेन जेनरेसन’ यु–२१ विश्व च्याम्पियन जित्न सफल भएपछि सन् १९९१ मा राष्ट्रिय टोलीमा प्रवेश गरेको थियो । १९९१ मा १८ वर्षको राष्ट्रिय टोलीमा प्रवेश पाएका फिगोले सन् १९९६, २००० र २००४ को युरोकपमा सहभागिता जनाए । साथै, सन् २००२ र २००६ को विश्वकपमा पनि उनी सहभागी भए । सन् २००४ को युरोकपको फाइनलमा ग्रिससँग पराजित भएपछि तत्कालीन प्रशिक्षक लुइस फिलिप स्कोलारीसँग विवाद भएकाले सन्न्यास लिएका फिगो फेरी राष्ट्रिय टोलीमा फर्किए । २००६ मा ४० वर्षपछि पोर्चुगल विश्वकप सेमिफाइनलमा प्रवेश गर्यो । सन् २००१ का फिफा वर्ष खेलाडी फिगोको नेतृत्वमा रहेको पोर्चुगल सेमिफाइनलमा जिनेदाने जिदानको पेनाल्टी गोलमा फ्रान्ससँग पराजित भयो । तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग ३–१ ले पोर्चुगल पराजित भयो । त्यसै खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका फिगोले मिलाइदिएको बलमा नुनो गोमेजले गोल गरे । त्यो नै फिगोको अन्तिम अन्तर्राष्ट्रिय खेल भयो ।
म्यानचेस्टर युनाइटेडका डेबिड बेकह्याम रियल म्याड्रिड पुगे । म्यानचेस्टरका मेनेजर एलेक्स फर्गुसनले जोखिम मौल्दै स्पोर्टिङ लिस्बनका युवा खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याएका थिए । सन् २००१ मा पोर्चुगलका यी स्टारलाई क्लबमा आबद्ध गराउँदा धेरैले पैसाको दुरुपयोगको आरोपसमेत लागाए । पहिलो सिजन त्यति नजमेका रोनाल्डोले पछिल्लो समय म्यानचेस्टर युनाइटेडका स्टार बने । तीनै रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड दुवै क्लबलाई उत्तिकै सफलता दिलाए । विंग र स्ट्राइकर दुवै भूमिकामा खेल्ने रोनाल्डोले ३५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । सन् २००७ मा सानदार फर्ममा रहेका उनी वर्षका चार महत्त्वपूर्ण उपाधि जित्न सफल भए । सन् २००८ मा युरोपियन गोल्डेन बुट जित्दै यो सफलता पाउने पहिलो विंगर पनि बने ।
आधुनिक व्यावसायिक फुटबलका यी हस्तिलाई यी सफलताका बाबजुद युसिबियोको समकक्षमा राख्न नमिल्ने पनि धेरैले बताउँछन् । तर, एउटा के साँचो हो भने पोर्चुगल फुटबलका दुई मिथक व्यक्तित्व यिसुबियो र फिगो दुवैले राष्ट्रिय टोलीलाई कुनै उपाधि भने दिलाएनन् । के यसपटक रोनाल्डोले दिलाउन सक्लान् ?
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया