खोजखबर

शून्यताको शृंखलाबाट

सौर्य अनलाइन २०६९ असार ९ गते २:१७ मा प्रकाशित

प्रिय शंकरहरू † रोबर्ट ए. क्यारोको ‘द प्यासेज अफ पावर’ पढ्दै थिएँ । तिम्रो याद मडारिएर आयो, कल्कलाउँदो दुबोमा बाख्राको पाठो मडारिए जसरी । लेखनशैली तिम्रोजस्तै रहेछ † देशमा संविधानसभाको मृत्यु भएको यो पल म बाँच्न खोज्दै छु, सिर्फ तिम्रा लागि । यो तिम्रो नाउँउपरको सम्बोधन सायद मेरो अस्तित्त्वभित्रको इतर विरोधाभास तत्त्व हुनसक्ला स्वयंसँग या अन्य कोहीसँग पनि । म यो लेखमार्फत जन्मदै छु † ‘सोरेन किर्केगार्ड’, ‘फ्रेडरिक नित्से’, ‘पारिजात’ र ‘जाँ पल सात्र्र’लाई पर हुत्याएर । शंकर, तिम्रो मृत्युको घामले लाखौँ फेरो मारिसक्यो । आज म जन्मदै छु † यद्यपि, तिम्रो मृत्यु र मेरो जन्मबीचको फेज लेखाजोखा गर्न भने खोजिरहेको होइन यतिबेला मैले । तर पनि, खेद छ मलाई यो प्रहर । किन तिम्रो भन्दा अगावै भएन मेरो जन्म (?)
यसो भनिरहँदा म ‘मिखाइ बाख्तिन’लाई सम्झिरहेको छैन, छैन बिर्सिरहेको पनि । अपितु जान्दिनँ म — जन्मिन किन खोजँे तिमी पूर्व नै † बाख्तिनलाई जस्तो ‘सेन्स अफ बिलेटेडनेस’ पनि आएको होइन † हुनसक्छ, चेतनाको प्रवाहहरूमा तिम्रोजस्तो सशक्तता पाउन सक्दिनँ म । र, सक्नेछैनन् पनि यी अक्षरहरूले † तथापि, एउटा इतर सम्बोधनलाई जन्म दिँदै छु यतिबेला र यसैबाट सर्वनाम जन्मदै छ भविष्यमा — भोलि † म जान्दछु तिमीबाहेक यहाँका (अ) मान्छेहरू मलाई पागल भएको ठान्नेछन् । तर, पनि कुनै सरोकार छैन यतिबेला मलाई ।
नेपाली साहित्यले भोग्नुपरेको एउटा मूक पीडा र छटपटीमा कुनै निम्न ‘डोज’को ‘पेनकिलर’सम्म पनि प्राप्त गर्न नसकेको ‘फेज’ हो यो । प्रिय शंकर † म विवश छु उक्त पीडा भोगिदिन । म कसरी औषधि खुवाऊँ ? यही एउटा विवशताको परिधि र असंख्य अमानुषिक तत्त्वहरूको प्रवृत्तिगत समस्या पिउनु प्रत्येक लेखकीय जीवनहरूको परम्परा बनिसकेको छ, आज र हिजोसँगै । म चाहन्छु, नजमोस् र नपग्लियोस् पनि भोलिहरू सँगै उक्त गलत चेतनाको इतिहास । सायद जन्मनेछ आगतसँगै जसबाट शंकर, शंकर हुनुको बोध अंकुराउनेछ मट्टिधसानबाट । र, तिम्रो अनुमानित र घोषित युगको अभ्युदय हुनेछ— प्राग् प्रातसँगै । हुनसक्छ, यो सम्बोधनभित्र पार्थिवता नबाँचेको होला यद्यपि ‘पोस्टह्युमस’का संस्कारजन्य ‘प्लाज्मा’ पक्कै बाँच्नेछ । र, तिम्रो सपनाको ‘कन्सिअस–लाइन’ले उचित मार्ग अवलम्बन गर्न पुग्नेछ, मेरो अभीप्साजन्य सम्बोधनभित्र । तिमी नहुनु, र म हुनुको भित्र ।
प्रिय कुमुदिनीहरू † अनायासै गर्न मन लाग्यो एउटा सम्बोधन । शनिबार आज, प्राय: फुर्सदहरू उदाउने गर्छन्, प्रत्येकका जीवन क्षितिजहरूबाट । मानौँ एउटा अक्षरिक विन्दुमा रूख जसरी टक्क अड्याएको छु स्वयंलाई । यसो भनूँ, अझ अखबारका हेडलाइनहरूउपर । ‘कुमुदिनी’ को होलिन् ? कुुमुदिनीको आरोप छापिनु, शंकरले लेखन यात्राबाट सन्न्यास लिनु । अनि, लगत्तैको शून्य प्रस्थान, म जान्दिनँ । संयोग मिल्यो या के, त्यो पनि जान्दिनँ । कुमुदिनीले शंकरका नाममा लेखेको चिठीको हरफ सम्झेँ : ‘…अँ, यदि त्यो साहित्यिक तपाईं नै हुनुहुन्छ (दुर्भाग्यत:) भने के यिनै ‘ट्रिक’ र यिनै ‘टेक्टिस’ अपनाएर म अर्को ‘शंकर लामिछाने’ बन्न सक्दिनँ र ? …’
यी वाक्यांशहरू तिम्रो आरोपित पत्रबाट शब्दश: साभारित हुन् । अपसोच यदि तिम्रा नै वाक्यांशहरू हुन् यी भने — तिमी वर्तमानको पर्दा च्यातेर बाहिर आउनु पर्छ । मसँग तिम्रा लागि सोधिने एउटा प्रश्न छ ।
प्रिय भूपीहरू † कविताजन्य मानसबीच अल्झाइएर रक्सीका प्यालाहरूउपरको रिक्तता–जीवन जिउनुको अस्तित्वभरि म यतिबेला खोजिरहेछु, या बाध्य छौ तिमी मेरा निमित्त खोजिनुको भित्र । कारण, रक्सीद्वारा पिइएको छु यतिबेला म † तिम्रो प्रस्थानको कयौँ कालपछि आज आएर तिम्रो जीवन्त आदर्श पुनरावृत्त हुन सकेन, सायद यी अक्षर अभ्यन्तरभित्र ।
प्रिय प्राञ्जलीहरू † एउटा पृथक् र अहम् सम्बोधन गर्ने अठोट गरे जीवनमा पहिलोपटक, सार्वनामिक तत्त्वहरू भएर आफ्ना र आफ्नै नाउँसँग । हुनसक्छ, लेखाइबीच लेखक प्रत्येक पटक पागल बन्छ र मर्छ पनि । रोलाँ बाथलाई भुल्नै सक्दिनँ म । जसरी कि आज यो जो भोगिरहेको छु यतिबेला सायद मेरो पागलपनको उपादेयता हो । म नजानेरै भन्नसक्छु यतिबेला यहाँ यो पंक्तिकारको मृत्यु भएको छ अर्को एकपटक । असलमा, यो नामसँग कत्ति गुनासो छैन । कारण, तैँले कहिल्यै एउटा मात्रै धार पछ्याइनस् †
अनि तैँले केवल लेख्नका लागि मात्र पनि लेखिनस्, लेखिनस् नलेख्नका लागि पनि । तँ माथि साथीहरूको ठूलो विडम्बना रह्यो † तेरा लेखाइ बुझिदिन सक्ने क्षमता बोकेकाहरू कमै भेट्टाउन सकिस् † आवरणीय हेराइबीच म स्वयं तँलाई एउटा बौद्धिक प्यास भएको प्राणी देख्न पुग्छु । कहिलेकाँही † र, जतिबेला ‘सेन्टिमेन्टस्’हरू पिएको हुन्छु मलाई लाग्छ— तँ कतै असमयमा जन्मन त आइपुगिनस् यो पृथ्वीको गर्भमा ? होइन, होइन । तँ आएर ठीकै गरिस् यो भौगोलिक संश्लेषणसँगै । युगहरू बाँच्नुका प्रयोजनहरूमा ।
हुन त, तँलाई यतिबेला यो सहरसँग मौन सम्झौता गरेर जीवन बाँच्नुपर्ने कम्पल्सन आइपरेको छ । वसन्तपुरका खुल्ला क्युरियो पसलजस्तै बिक्रीमा राखेको तेरो अस्तित्वको तौल बेखबर खोजी रहेछस् तँ आफैँ † मानौँ कालीगण्डकीको बालुवामा सुन खोज्दै गरेको माझी होस् तँ यतिबेला † अझ त्यो सम्प्राप्तिको बोधबाट हारेको एउटा बोटे मात्रै † इतरमा जीवन, जीवनप्रति नै निर्भर रहन्छ प्रत्येक कोणबाट । यद्यपि मृत्युको संस्कारसँगै पग्लिन नसकेको इतिहास सायद अन्तिमपटक एउटा अस्तित्त्वको खोजीमा ‘प्राञ्जली’ यतिबेला सायद अक्षर–अस्तित्वजन्य जीवन विचरण गरिरहेको हुनुपर्छ †
इतरमा, हो म मान्छु तँमाथि लेखक शंकर लामिछानेको ठूलो प्रभाव परेको छ । सायद आजसम्म कोहीमाथि परेको भन्दा पनि विराट् रूपको । र, पृथक् शैलीको पनि । इतरमा, बाँच्न सिक्दै छु म जीवनहरू । प्रत्येक जीवनका भ्रूणहरू बाँच्नुसँग एउटा प्राप्ति – ‘मिराज’ मोहसँग । र, म सिक्दै छु एउटा सिकाइ । शंकर लामिछाने भन्छन्, ‘अनुभवले मानिसलाई सिकाउँछ ।’ यद्यपि म जान्दिनँ भोगाइ र सिकाइबीचको तादात्म्य कुन कोणसँग र कुन बिन्दुमा अल्झिएको हुन्छ । बल्छीमा माछो अल्झिए जसरी वा मियलको काँडामा मेरी प्रेमिकाको सल अल्झिए जसरी ? एउटा मोह जीवनभित्र ‘इन्टरप्रेट’ हुनुसँग कम्पित छ— एउटा अबुझाइ । इतरमा, यही अबुज्रुकता नै जीवनप्रतिको एउटा अहं सम्बोधन अक्षर–कंकालभित्र अडेको छ ।
प्रिय कोविदहरू † ‘प्रेमपत्र’देखि ‘देवता’हरूसम्म अभ्यन्तर पीडा बाँचेको एउटा अस्तित्व यात्राले सायद उपन्यास चेतना घुलिनुहरूसँगै ‘सिम्फोनिक’ जीवन उभिन्छ प्रत्येक कर्कश भोगाइहरूको विरूद्ध । यसैबीच देश बाँचेको एउटा सैनिक अधिकृत, देश बाँचेको माटो, मैतरह बाँचेको मेरो मित्र अशोक । त्योभन्दा बढी प्रेमिकाइतर बाँचेको प्रेमी, जो ‘अर्कोजन्म’की एउटी नारी पात्रउपर आफ्नी प्रेमिकाको प्रतिविम्ब भेट्टाउँछ । र, अनायास सम्बोधन गर्न पुग्छ आफ्नी प्रेमिकालाई, ‘एउटी उपन्यासकी पात्र जस्तै’ भनेर ।
ऊ लेख्छ, ‘म मनभरि माया बोकेर वियोगान्त कर्तव्यपूर्ण प्रेमहरूको अग्निभित्र भिजेर एउटा प्रेमपत्र कोरेँ भने यस बखत तिमी मलाई सम्झिरहन्छ्यौ र चुमिरहन्छ्यौ अवयवहरूभरि † म प्रेमबाट अत्यन्तै दूर हुन बाध्य प्रेमहरूबाटै चिथोरिन्छु र म पुनश्च: कयौँ पुनश्चहरूपछि फेरि पुनश्चहरूको योग गरेर प्रकाश कोविदको ‘अर्को जन्म’मा पौडिन्छु र मुटुभरि श्रद्धा बोकिरहन्छु सुजाहरूभरि † सुजाता मेरी प्रेमिका हो र सुजाता देवी हो ‘फ्लोरेन्स नाइटिंगेल’की आदर्श सुजा † सुजात †† र सुजाता †††’ इतरमा ‘अशेष’ र ‘प्रेमपत्र’ भित्र ‘पोट्रेट’ भएको तरल प्रेम आलोकित इतिहासका भित्ताभरि ठोस बनेर ‘मेनुका’जन्य (प्रेमपत्रकी एक नारी पात्र †) नीला फूलहरू फक्रिरहन्छन् कुनै वास्तविक संसारको पूर्णतासँगै— ‘मोती दिएर आँसु बटुलेँ/हार भएन जित/ हाँगाबाट खसेको फूलले/ भुल्न सकेन प्रीत…।’
प्रत्येक यायाबर सम्झाइभित्र सम्झिने एउटा थलो दार्जिलिङ मेरो पनि अन्तस्थलको एक अवयव–अंश बनिसकेको कुरा म नकार्न सक्दिनँ । कोविद र कलेबरीय सम्झाइसँगै सम्झिन्छु दार्जिलिङकी एक मित्र असुना राई ‘अञ्जान’, जोसँग सिंगो भूगोल अट्ने हृदय छ । हुनसक्छ साहित्य जन्मियो, हुर्कियो र मरिसक्यो । अथवा, साहित्य जन्मिएकै छैन, जन्मँदै जन्मिदैन । किमार्थ, पागल चेतना हटाइरहेछु यो प्रहर, कुनै प्रेमाशक्तिजन्य अभीप्साहरू बोकेर । व्यतीत काल : उत्तरआधुनिक र रोमान्टिक युगका साहित्य इतिहासहरू बाँचेर एउटा साहित्येतर मृत्यु जन्मिनु विरोधाभाष अवश्य हुनेछ — लेखिरहेको यो युगसँगको ।
कोविद, तिमीले एउटा सारयुक्त सफल मृत्यु मरिसक्यौ । वास्तवमा जीवनको सबैभन्दा विशिष्टतम प्राप्ति भनेको मृत्यु हो जुन सम्प्राप्तिभित्र तिमी सम्पृक्त भइसकेका छौ । कारण, तिमी रियल बनिसक्यौ जति म अनरियल छु । यो ‘भर्चुअल’ दुनियाँसँगको सह–अस्तित्वभित्र । तिम्रो बौद्धिक र चेतनाजगत् प्यासले अमूर्तता प्राप्त गरिसकेको छ मृत्युजन्य आगो पिएर । यो प्रहर पिकासो र दाभिन्चीबाट उद्गमित भएको एउटा अस्तित्वका किरणले तिम्रो जीवनको क्यानभास रंगाएर लम्बिसकेको छ, अनन्तसम्म ।
शून्यवादका बहुपक्षीय आयाम उल्टाएर चेतनाको अन्तर्गर्भमा विलुप्त भएको तिम्रो जीवनले निराशावादी अस्तित्व बोधहरू भेट्टायो । म जान्दिनँ, भेट्टाउनका लागि मात्र भेट्टायो या कुनै भोगाइ संश्लेषणका प्रयोजनहरूका खातिर पनि । असलमा, विश्व उपन्यासका शृंखलाबीच अटाउन तिम्रा औपन्यासिक कृतिहरूले कुन ‘टेक्टिस’ अपनाउनु पर्ने हो (?) कुनै नूतनवादको जन्मसँगै उभिनुपर्ने हो ? या अन्य कुनै ? आगतको कुनै सपनाकालीन ‘फेज’मा बताइदिने छौ— प्रेमवादभन्दा पृथक् एउटा तत्त्व बनेर ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय