साढे तीन लाख बिदेसिए

काठमाडौं, ८ जेठ । वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको ११ महिनामा साढे तीन लाख मानिस बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा तीन लाख ४९ हजार नौ सय ४३ जना वैदेशिक रोजगारीका लागि विदेश गएका हुन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशत बढी हो ।
विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा संस्थागत रूपमा दुई लाख ३३ हजार पाँच सय ५४ र व्यक्तिगत रूपमा एक लाख १६ हजार तीन सय ८९ जना रोजगारीका लागि विदेश गएका छन् । यसमा तीन लाख २८ हजार नौ सय ७२ पुरुष र २० हजार नौ सय ७१ महिला छन् । गत वर्षको यो अवधिमा तीन लाख नौ हजार आठ सय २८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
यसैगरी, जेठ मसान्तसम्ममा संस्थागत रूपमा विदेश जाने पुरुष दुई लाख २७ हजार नौ सय ९६ र महिला पाँच हजार पाँच सय ६८ जना छन् । चालु आवको ११ महिनामा व्यक्तिगत रूपमा एक लाख नौ सय ८६ पुरुष र १५ हजार चार सय तीनजना महिला रोजगारीका लागि विदेश गएका छन् ।
तर, विभागका अनुसार चालु आवको जेठमा गत वर्षको सोही अवधिको तुलनामा विदेश जानेको संख्या करिब नौ प्रतिशतले घटेको छ । गत वर्षको जेठमा ४० हजार चार सय ६१ जना रोजगारीका लागि विभिन्न मुलुक गएका थिए भने यस वर्ष जेठमा बिदेसिनेको संख्या ३६ हजार आठ सय ५० छ । यसमा ३१ हजार चार सय ८४ जना संस्थागत र पाँच हजार तीन सय ६६ जना व्यक्तिगत रूपमा विदेश गएको विभागले जनाएको छ ।
विभागका अनुसार जेठमा ३० हजार पाँच सय ५९ जना पुरुष र नौ सय २५ महिला संस्थागत रूपमा विदेश गएका हुन् । यस्तै, व्यक्तिगत रूपमा विदेश जाने पुरुषको संख्या जेठमा तीन हजार पाँच सय ५७ र महिला एक हजार आठ सय नौजना छन् । जेठमा बिदेसिने कुल पुरुषको संख्या ३४ हजार एक सय १६ छ भने महिला दुई हजार सात सय ३४ जना छन् ।
साथै चालु आवको मंसिरदेखि जेठ मसान्तसम्ममा एक लाख ३१ हजार ४७ जनाले विभागबाट पुन: श्रम स्वीकृति लिएका छन् । यसमा एक लाख २८ हजार एक सय १९ पुरुष र दुई हजार नौ सय २८ महिला छन् । उनीहरूले रोजगारीकै क्रममा घर बिदामा आई पुन: श्रम स्वीकृति लिएका हुन् । जेठमा पुन: श्रम स्वीकृति लिनेको संख्या १८ हजार चार सय ९७ जना छन् । यसमा १८ हजार ३७ पुरुष र चार सय ६० महिला छन् ।
विभागले गत वर्षको जेठको तुलनामा यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ७० प्रतिशत घटेको जनाएको छ । गत वर्ष जेठमा १७ हजार नौ सय ३३ जना व्यक्तिगत श्रम स्वीकृतिमा विदेश गएकामा चालु आवको जेठमा पाँच हजार तीन सय ६६ मात्र रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया