बाठीचाहिँ नहुनु नि

चपली हाइट हिट भएपछि नायिका विनीता बरालको चुरीफुरी खुब बढेको छ । भलै अहिलेसम्म उनका अरू कुनै चलचित्र प्रदर्शनमा आइनसकेका हुन् । त्यसमाथि त्यही बीचमा ग्ल्यामर क्विन रेखा थापाले धरी उनको प्रशंसा गरिदिइन्– अबको नम्बर वान विनीता बराल भन्दै । मिडियाभरि छाइन् चपली नानी, हटकेक बनेर । अनि त के थियो, उनको भुइँमा खुट्टो छैन हिजोआज । हो न हो, म नै नम्बर १, मैले जे गरे नि हुन्छ भन्दै पुलपुलिन थालेकी जस्तो छ ।
केही समयअघि थुप्रै रंगपत्रकारको मोबाइलमा उनले पठाएको एउटा म्यासेज टिङटिङ गर्‍यो, जसमा उनले आफूले अभिनय गरेको एक चलचित्रको इन्डक्ल्यापमा उपस्थित हुन निम्तो पठाएकी थिइन् । अहिलेकी हटकेक फिल्मी यौवनाले पठाएको निम्तो, नजाने कुरा पनि भएन । थुप्रै पत्रकार पुगी पनि हाले ।
तर, यो के ? त्यहाँ इन्क्ल्यापसम्बन्धी न कुनै कार्यक्रम थियो न त अरू कुनै सुरसार । एकाएक पत्रकारहरू झुम्मिएको देखेर चलचित्रको युनिट नै अलमल्ल पो पर्‍यो । निर्माता भन्दै थिए– होइन कसले बोलाएछ, मलाई नै थाहा छैन । चलचित्र क्षेत्रकै धूर्त मानिएका निर्देशकचाहिँ इन्डक्ल्यापको चाँजोपाँजो मिलाएजस्तो गरेर त्यहाँबाट सुइँकुच्चा ठोके । अब विनीता परिन् फसादमा, पत्रकारलाई के उत्तर दिने ? भनिन्– ‘मलाई उनीहरूले बोलाइदिनु भनेका हुन्, अहिले मलाई नै झूटो पो साबित गरिदिए ।’ जे उत्तर दिए पनि खुब आलोचना खेप्नुपर्‍यो हाम्री नायिकाले । यस्तै हो, चपली नानी आफूले भनेको मान्छन् भन्दैमा बुझ्दै नबुझी बाठी हुनु हुँदैन क्या † चलचित्रलाई चर्चा दिलाउन कुनै धूर्तले भनेको खुरुखुरु मानेर भकाभक पत्रकार बोलाउँदा बदनाम कसको भयो ? चलचित्रमा लागेको केही समय त भइसक्यो त । धूर्तहरूले केसम्म गराउन सक्छन् भन्ने अब पनि बुझ्नु पर्दैन त चपली मैयाँ †

प्रतिक्रिया