कलामले हात झिके

नयाँदिल्ली, ५ असार । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले आसन्न राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार नदिने घोषणा गरेका छन् । सोमबार विज्ञप्ती जारी गरी उनले यस्तो घोषणा गरेका हुन् ।
वर्तमान राजनीतिक अवस्था र परिस्थितिको समग्र मूल्यांकनपछि निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेको उनले जनाएका छन् । ‘मेरा प्रिय साथीहरू, राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विकसित घटनाक्रमबारे तपाईंहरू सबै जानकार हुनुहुन्छ । मैले पुन: राष्ट्रपति बन्ने आकांक्षा राखेको थिइनँ, न त यस्तो इच्छा जाहेर गरेको नै थिएँ । तर, तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जी र अन्य राजनीतिक दलले मेरो उम्मेदवारी चाहेका थिए,’ विज्ञप्तीमा भनिएको छ, ‘धेरै भारतीय जनताले पनि यस्तै चाहना व्यक्त गरेका थिए । यो सब उनीहरूको मप्रतिको प्रेम, अनुराग र जनताको आकांक्षा हो । यस्तो अभूतपूर्व सहयोगबाट म ज्यादै आभारी भएको छ । मप्रति विश्वास व्यक्त गर्नुभएकोमा म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यसअघि विपक्षी दल भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले पनि उम्मेदवारी दर्ता गराउन कलामसँग आग्रह गरेका थिए । तर, आफ्नो स्वविवेकले उम्मेदवारी नदिन भनेको भन्दै कलामले आडवाणीको आग्रह अस्वीकार गरेका थिए । कलामले सन् २००२ देखि २००७ भारतको राष्ट्रपतिको कार्यभार सम्हालिसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया