सन्धि खारेज गर्न माग

कायरो : चरमपन्थी संगठन अलकायदाले इजरायलसँग भएको शान्ति–सन्धि खारेज गरी इस्लामिक कानुन लागु गर्न इजिप्टसँग माग गरेको छ । अलकायदाका सर्वोच्च नेता यमन अल जवाहरीले आइतबार अडियो सन्देश जारी गर्दै यस्तो माग गरेका हुन् । जेरुसलमलाई ‘यहुदी सहर’ बन्नबाट रोक्न इजिप्टले इजरायलसँगको सन्धि खारेज गर्न अत्यावश्वक भएको धारणा उनले व्यक्त गरेका छन् ।
जिहादी वेबसाइटमा अप्लोड गरिएको ४७ मिनट लामो सन्देशमा भनिएको छ, ‘गद्दार अन्वर सदात (इजिप्टका पूर्वराष्ट्रपति) लाई शान्तिसन्धिमा हस्ताक्षर गराएर इजिप्टलाई युद्धमैदानबाट नहटाएको भए यहुदीवाद अहिलेको स्तरमा उठ्न सक्दैन भन्ने उसको नियमित आपराधिक क्रियाकलापले पुष्टि गरिसकेका छन् । यदि जेरुसलमको यहुदीकरण रोक्नु छ भने इजिप्टले सारिया कानुन लागु गर्नु, इजरायलमाथि दबाब बढाउनु र उसँगको सन्धि खारेज गर्नुको विकल्प छैन,’ सन्देशमा भनिएको छ ।
इजरायल र इजिप्टबीच सन् १९७९ मा शान्तिसन्धि भएको थियो । जेरुसलमको विवाद इजरायल र प्यालेस्टाइनबीचको द्विपक्षीय विवादजस्तो देखिए पनि सारमा यो इस्लाम र यहुदी धर्मबीचको द्वन्द्वको मूल कारण रहेको विश्लेषकको ठम्याइ छ । इजरायलले जेरुसलमको सम्पूर्ण भूभागमाथि स्वामित्व दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने जेरुसलमको पूर्वी भूभाग आफ्नो हुनुपर्नेमा जोड दिँदै आएको छ । पूर्वी भागमा इस्लाम धर्मावलम्बीहरूको पवित्र स्थल भएकाले प्यालेस्टाइनले यसलाई देशको राजधानी बनाउन चाहेको भए पनि इजरायलले असहमति जनाउँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया