फूलपातले बाँचेकाहरू

‘अगाडि भगवान्, पछाडि भगवान्, बीचमा बसेर उनैका लागि फूल बेच्नुजस्तो अर्को धर्म के होला र हो ?’ काठमाडौंको पशुपति मन्दिर परिसरमा बसेकी सीता खड्का धर्म मात्र कमाउँदिनन्, व्यवसाय पनि गर्छिन् । ‘भारी–कोदाली नगरी खान पुगेकै छ ।’ १५ वर्षदेखि फूल र पात बेच्दै आएकी सीता आफ्नो पेसाप्रति सन्तुष्ट मात्र होइन गर्व पनि गर्छिन् । रामेछापको खन्नेपानीमा ०३० साल पुस १४ गते जन्मिएकी सीताका देबर–जेठाजुका ‘दरबार जस्तै’ घर छन् । उनले भनिन्, ‘म कोठा भाडामा बस्छु, खानलाउन पुगेकै छ, मन्दिरछेउमा मन पनि कहिल्यै अशान्त भएन ।’
तीन छोरी, दुई छोराकी आमा सीता पेसाबाट हताश नभए पनि पेसा नै गर्न नदिनेहरूबाट भने कहिलेकाहीँ दिक्दार बन्छिन् । ‘कतिले कतिपटक यहाँबाट हटाउन खोजे’, उनले भनिन्, ‘भगवान्को कृपाले उठिहाल्नु परको छैन ।’ सीताभन्दा पाँच वर्ष पहिलादेखि फूलपात बेचेर परिवार धान्दै आएकी मनकुमारी राना आफूलाई मन्दिरपरिसरबाट धपाउन आउनेलाई सम्झिएर जंगिइन्, ‘उठाउनेले घिनलाग्दो काम गर्नेलाई उठाउनु नि † कलकलाउँदा छोरीचेलीहरू उता ठमेलतिर तिघ्रा बेचेर बसेका छन् ।’ मनकुमारीको एउटै तर्क छ, ‘फूल बेचेर कसैको भविष्य बिग्रिएको छैन बरु धेरैलाई धर्मकर्म गर्नमा सहयोग पुर्‍याएको छ ।’
सरकारका नाममा जनताको तिरो उठाएर भएभरको पैसा कुम्ल्याउनेहरूले गरिखानेलाई मात्रै सास्ती दिने गरको आरोप मनकुमारीको छ । उमेरले ५७ वर्ष टेक्नै लागेकी मनकुमारीको परिवार पनि सानो छैन । तीमध्ये छोराछोरी र बुहारी गरेर उनका जहानपरिवारका छजनाले उनीसँगै फूल र पातको व्यापार गर्दा रहेछन् । उनी महिनाको १८ हजार घरभाडा, त्यत्तिकै खानखर्च र बालबच्चाको पढाइ खर्च यही फूलपात बेचेर धान्ने गरेको बताउँछिन् । भन्छिन्, ‘गरिखान गह्रो छैन, कसले आएर दिन्छ र, यसैले पुगेको छ ।’
अहिलेको पुस्ताले गरेर नखाएको प्रति भन्ने गरेका कुरामा उनको धेरै ठूलो गुनासो छैन । उनले भनिन्, ‘बाबुआमाले पुर्‍याउन्जेल किन गर्नुपर्‍यो ? तिघ्रा देखाएर हिँडे भइगयो नि †’ आक्रोशसँगै उनले सुझाइन् पनि, ‘काम सानो ठूलो हुँदैन, सधैँ फुर्मासिएर हिँड्न उमेर रहँदैन, बैंस पनि आफ्नो नभएको बेला कसले हेर्छ र ?’ उनकामा धेरै युवायुवती फूलपात त किन्छन्, तीमध्ये कतिले उनको कामप्रति हेयभाव देखाउँछन् । ‘शरीर त राम्ररी छोप्न भुले, मिठो बोल्ने कुरा त परैको भयो बाबु †’ मनकुमारीजस्तै सीता पनि आजको पुस्ताप्रति त्यति सन्तुष्ट छैनन् । उनले भनिन्, ‘सहरमा बस्नेको समाज, धर्म, लाज हुँदैन र बाबु †’ उनले प्रस्ट पारिन्, ‘छिटो र सजिलो लाउने, राम्रो गर्ने, राम्रो सिक्नका लागि सहरबजार हो, ‘जे’ पनि गर्न त होइन होला नि †’
आफूहरूको व्यापारमा नगरपालिका, सरकार र पशुपति क्षेत्र विकास कोषले बेलाबेलामा तगारो हाले पनि, कसैले ‘सानो’ काम भनेर हेयको नजरले हेरे पनि उनीहरू भने फूलपात बेच्नुमा कमाइ मात्र नभएर पुण्य पनि देख्छन् । भन्छन्, ‘चाहियो भनेर कम्तीमा इज्जत त बेचेका छैनाँै नि ? यहाँ त मोजमस्तीकै लागि आफूलाई बेच्नेको पनि कमी कहाँ छ र ?’ मनकुमारी र सीता त प्रतिनिधि पात्र मात्रै हुन, । द्वारिका, टीका र पवित्राले पनि उनीहरूकै ‘होमा हो’ मिलाउन कति बेर लगाएनन् ।

प्रतिक्रिया