प्रधानमन्त्रीको विदेशमोह

मुलुकको विषम परिस्थितिमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई विदेश भ्रमणमा निस्किएका छन् । आफ्नै पार्टी एनेकपा (माओवादी) विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्री विदेश हुइकिएका छन् । विपक्षी दलहरूले पनि कामचलाउ प्रधानमन्त्रीले यस्ता बैठकमा सहभागिता जनाउन नहुने र कुनै सरकारी उच्च अधिकारीलाई प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिइरहेका थिए । अन्ततोगत्वा उनी विरोधका बाबजुद मुलुकसामु रहेको तमाम समस्याप्रति आँखा चिम्लँदै उनी ब्राजिलतर्फ उडेका छन् । आर्थिक पारदर्शिता अपनाउने उद्घोष गर्दै स्वदेशमा निर्मित मुस्ताङ म्याक्समा बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री धर्मपत्नीसहित जम्बो टोली लिएर विदेशमोह देखाउनुले उनमा द्वैध चरित्र देखाउँछ । राष्ट्रपतिलाई बैठकमा सहभागी हुन निम्ता आएको बताइए पनि कामचलाउ सरकारका प्रधानमन्त्री आफैँ बैठकमा सहभागी हुनुले उनमा रहेको विदेशमोहको आतुरतालाई देखाउँछ । विपक्षी दल तथा भातृसंगठनका कार्यकर्ता प्रधानमन्त्रीको विदेश भ्रमण गर्न नहुने माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मै विरोध गर्न पुगेका थिए । प्रहरीसँग भिडन्तको रमिते हुँदै प्रधानमन्त्री विमानस्थल प्रवेश गर्न सफल भए । उनको यो सफलता सिंगो मुलुकको सफलतासँग त अहिले नै तुलना गर्न नसकिएला तर बैठकमा उनको सहभागिताबाट मुलुकले कस्तो सहयोग प्राप्त गर्न सक्छ भन्ने कुराले यसको मापन गर्ला । हुन त, उनकै पार्टीले समेत मुलुकको यस्तो विषम परिस्थितिमा भ्रमणमा नजान सुझाब दिएको थियो । पार्टी विघटनको संघारमा पुगेको र मुलुकमा राजनीतिक तथा संवैधानिक संकट चुलिएका बेला उनकै पार्टी तथा विपक्षीले समेत विदेश भ्रमणमा जान नसुहाउने बताउँदै आएका थिए । तर, प्रधानमन्त्रीको विदेशमोहका सामु कसैको सुझाब, सल्लाह र विरोधले केही चलेन ।

(रिमालसँग टेलिफोनबाट मागिएको धारणा)

प्रतिक्रिया