सैनिक घेरामा ६९ मारिए

बेरुत : सिरियाको मध्यसहर होम्सका विभिन्न क्षेत्रमा सरकारी सैनिकले घेरा हालेर ६९ जनाको हत्या गरेको मानवअधिकारवादीहरूले जनाएका छन् । होम्स सहर शनिबार पनि थुप्रै गोलीप्रहार भएको र त्यसबाट कम्तीमा पाँचजनाको मृत्यु भएको सिरिया अब्जरभेटरी फर हुम्यान राइट्सले जनाएको छ । हिंसामा एक हजार परिवार फसेको जनाइएको छ ।
आक्रमणमा सयभन्दा बढी घाइते भएको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि जनाइएको छ । घाइतेमा औषधी उपचारको कमीले गर्दा मर्नेको संख्या बढ्नसक्ने मानवअधिकारवादी रामी अब्दुल रहमानले एएफपीलाई जनाएका छन् ।
होम्स सहरमा विद्रोहीहरू लुकेको आशंकामा सरकारी सैनिकले बारम्बार आक्रमण गर्दै आएका छन् । सिरियाली राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै सन् २०११ को मार्च महिनादेखि जारी आन्दोलनका क्रममा करिब १४ हजार चार सयको मृत्यु भइसकेको छ । (एएफपी)

प्रतिक्रिया