वैरागीको चञ्चले बुढ्यौली

मान्छे क्रियाशील हुन उमेर नै चाहिन्छ भन्ने हुँदो रहेनछ । मन र तन क्रियाशील भयो र काम गर्नुपर्छ भन्ने भावना भयो भने पाका उमेरकाहरू पनि सामाजिक काममा निरन्तर लाग्दा रहेछन् । अअ र हह भन्दै परिवारलाई झिजाउने उमेरका वैरागी काइँला ७३ वर्ष पार गर्दा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिको जिम्मेवारी सम्हाल्दै छन् । उनको शरीर रोगबाट पूरै अछुतो भने छैन । ग्यास्ट्रिक, प्रेसर, टाउको दुख्ने, नाथ्री फुट्नेलगायतका थुप्रै रोग छन्, शरीरमा । कान पनि कम नै सुन्छन् कुलपति । ‘देब्रेकान त काम नै नलाग्ने भएको छ, दाहिनेले काम चलाउँछु’, यसो भन्ने यी बूढा ग्यास्ट्रिकको औषधि नियमित खाँदा रहेछन्  ।
बिहान ६ बजे ओछ्यान छोड्छन् । नित्यकर्मपछि उनका कमै सुनिने कान रेडियोमा बज्ने देशको गतिविधितिर चनाखा हुन्छन् । उनी आफूलाई अल्छी मान्दछन्, त्यसैले ध्यान मर्निङवाकतिर जाँदैन । ‘म अलि अल्छी छु क्या, त्यसैले यो ध्यानस्यानमा मलाई मनै लाग्दैन,’ उनले आºनाबारेमा प्रस्ट पारे । नबुझेका भने होइनन्, ध्यान गरे मन अलि स्थिर हुन्थ्यो होला । तर, किन हो उनलाई जाँगर नै चल्दैन रे । दस मिनेटसम्म पनि उनको मन स्थिर नरहने, चञ्चल भइहाल्ने बताउँछन् । यो उमेरमा पनि किन मन यस्तो चञ्चल त ? भन्ने प्रश्न गर्न नभ्याउँदै मुस्कराउँदै उत्तर दिए उनले– ‘यही उमेर त हो चञ्चल हुने ।’
उनलाई उमेरमा खाएको खानाको स्वादले छोडेको छैन । तर, शरीरमा भएको रोग र उमेरको कारण त्यो स्वाद सम्झेरै मात्र चित्त बुझाउँछन् । माछामासु, गुलियो, अमिलो, चिल्लो तथा बढी प्रोटिन युक्त खाना खाँदैनन्  । सामान्य नेपाली खाना नै हो उनको दैनिकीमा । अरूले निष्फिक्री सबै खाले खाना खाएको देख्दा उनको मन पनि नलोभिने कहाँ हो र ? ‘अरूले खाएको हेर्‍यो, चोखे लगायो बस्यो के गर्नु खान हुँदैन’, दुखेसो पोखे । खाना नमीठो हँुदैन तर सधैँ एकै प्रकारको खाना खान नपरे हुन्थ्यो भन्नेचाहिँ लाग्छ रे†
‘पूजापाठको काम घरको आमैलाई जिम्मा लगाएको छु,’ हाँस्दै भने । उनी श्रीमतीलाई ‘आमै’ भनेर सम्बोधन गर्दा रहेछन् । कतै टाढाको हवाइयात्रामा निस्कनुपरे पशुपति दर्शन गर्न जान्छन्, यात्रा सुरक्षित होस् भनेर आशीर्वाद माग्न । हुन पनि आजसम्म उनलाई पशुपतिनाथले हात थामेकै छन् । नत्र बाटो परेका देवी देवतालाई हात जोर्ने र प्रणाम गर्ने मात्र हुन् । धाएर मन्दिर जाँदैनन् वैरागी । दिनहुँ नुहाउने बानी छैन, हप्तामा चारपटक नुहाउँछन् । तर, झुस्रुक्क देखिएला भनेर दाह्री भने दिनहुँ काट्छन् ।
अब त बूढो भएजस्तो लाग्दैन भन्ने प्रश्नमा उनले सहमति जनाएनन् । बरु दृष्टान्त दिन थाले– ‘नेपालमा पचास काटेपछि बूढो भयो भन्ने चलन छ । पेन्सन बुझेर बस्छन् । विदेशतिर असी वर्षको मान्छेलाई पनि बूढो भन्दैनन् र उनीहरू काम गरेर खाइरहेका हुन्छन् ।’ बसी–बसी खान पल्केका नेपालीहरूको जीवनशैली उनलाई मन पर्दैन । वैरागीको विचारमा काम गर्दा पो दिन काट्न सजिलो हुन्छ त । मान्छे खाली बस्नु हुँदैन भन्ने मान्यता छ उनको । बुझेका छन्– शरीर र उमेरले सकेको काम गरे जीवन सरल र सहज हुन्छ । हिजोआज उनको कविता लेखाइ उतिसारो हुँदैन । ‘सधैँ त लेख्न पनि मन लाग्दैन नि । भात सधैँ दसै बजे किन खाने, आज ढिला खाउँm न भने जस्तै हो ।’
‘नामले मात्र होइन, स्वभावले नै वैरागी छु म’, आºनो नामबारे प्रस्ट पारे– नामसँग मेरो स्वभाव पनि मिल्छ, लोभानि पापानि छैन ।’ मिहिनेत गरेर खानुपर्नेमा उनको विश्वास छ । ‘म पूरै लोभी छैन भन्दिनँ तर तुलनात्मक रूपमा छैन’, आफूलाई प्रस्ट्याए । उनीसँग बाबुआमाले दिएको नाम छैन । चिना बनाउने बेलामा पुरेतले जुराएको नाम भने ‘ओझाङ हाङ’ हो, जुन सीमितलाई थाहा छ । स्कुल छिर्दा उनको नाम ओझाङ हाङबाट तिलविक्रम नेम्वाङ भयो । यो नाम उनलाई गुरुहरूले शिक्षासँगै दिएका हुन् । साहित्यमा प्रवेशसँगै आफूलाई उनले वैरागी बनाए । आज पनि उनी त्यही नामले चिनिन्छन् ।
उनी आफूलाई रक्सी नखाने मतवालीको छोरा भन्छन् । मुखमा नै नहालेका भने होइन स्वाद थाहा छ । तर, आजभोलि चिया र रक्सी खाँदैनन् ।
उनको मनले बूढो भइस् कहिले नि’ भन्दैन रे†  तर, यसो ऐनामा अनुहार हेर्दा भने चाउरी परेको अनुहार र सेताम्मे कपालले जिस्काएजस्तो लाग्दो रहेछ । शरीरमा बढ्दै गएको आलस्य र घट्दै गएको स्फूर्तिले पनि उनलाई म बूढो भएँ, घेरामा परेँछु भनेर जिस्क्याएजस्तो लाग्छ रे बेलाबखत । ‘तर, आराम गरेर बस्न मन छैन ?’, उनले भने काम नगरी बसे त दिनै जाँदैन नि ।’ सामाजिक उत्थानको काम गर्दा जसरी दिन सजिलै बित्छ धुमधुम्ती लमतन्न ओछ्यानमा सुतेर कहाँ समय बित्छ र † घरमा भने उनले चिया पनि पकाएर खाएका छैनन् रे † उनको सबै काम उनै ‘आमै’ले गरिदिन्छिन्  । उनी समाजमा देखिने काम मात्र गर्छन् ।
उमेरसँगै उनलाई झर्को पनि लाग्छ । अझ आफूले भनेको कुरा अरूले सुनिदिएनन् भने बूढो भएकाले नटेरेको हो कि भन्ने मनमा बिझ्दो रहेछ । घरमा उनकी श्रीमतीबाट ‘अब त बूढो भइयो नि, कति हिँडेको ? बिरामी भयो भने कसले हेर्छ ?’ भनेर बेलाबेला सम्झाउने बुढ्यौली गन्थन पनि नहुने होइन । तर, उनी सुनेको नसुन्यै गरिदिन्छन् आºनै सुरमा । उनको अजिबको मन छ, जसले जे भने पनि उनी लागेको लाग्यै छन् निरन्तर । आफूले गरेको कामले अरू खुसी भए भने सन्तुष्ट हुन्छ वैरागीको मन ।

प्रतिक्रिया