धोनी दम्पती खाली खुट्टै विमानस्थल

काठमाडौं, ४ असार । दुईदिने आफ्नो नेपाल भ्रमण का क्रममा नेपालको कमजोर व्यवस्थापन मज्जैले अनुभव गर्न पाए भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले । यतिसम्म कि आइतबार स्वदेश फर्कने क्रममा धोनी खालीखुट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न बाध्य भए । आइतबार बिहान पशुपतीनाथको दर्शन गर्न पुगेका धोनीले मन्दिरबाट फर्कने क्रममा जुत्ता लगाउन पाएनन् । उनी मात्र होइन, उनकी श्रीमती साक्षी पनि खाली खुट्टा नै विमानस्थल पुगिन् ।
मन्दिरबाट बाहिर निस्कने क्रममा मन्दिरको मुलगेटमै फ्यानहरूको ओहिरो लागेपछि धोनीलाई सुरक्षाकर्मीले सोझै गाडीमा राखेर विमानस्थल पुर्‍याएका थिए । धोनीको पछिपछि अर्को गाडीमा गएका सुरक्षाकर्मीले धोनी दम्पतीको जुत्ता/चप्पल विमानस्थल पुर्‍याए ।
‘हाम्रोतर्फबाट धोनीलाई शनिबार नै बिदा गरिएको हो,’ क्यान महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘आइतबार भएका धोनीको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन भारतीय दूतावासले गरेको थियो ।’ विश्व प्रसिद्ध खेलाडीको भ्रमणमा नेपाल क्रिकेट संघ (क्यान) ले गरेको व्यवस्थापकीय कमजोरीको चर्को आलोचना भएको छ । धोनीले नेपाल बसाइका क्रममा गरेका गतिविधिमा क्यानको व्यवस्थापकीय भूमिका कमजोर रह्यो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य पवन अग्रवाल धोनीको नेपाल भ्रमणमा क्यान व्यवस्थापकीय र एजेन्डागत दुवै हिसाबले चुकेको बताउँछन् । ‘धोनीको भ्रमणका हरेक स्थानमा क्यानले प्रत्यक्ष र परोक्ष उपस्थिति जनाउनुपर्ने थियो,’ अग्रवालले भने, ‘जोसुकैले ल्याए पनि धोनीले नेपाली क्रिकेटमा चासो देखाएपछि क्यानले धोनी यहाँ सहभागी हुने हरेक कार्यक्रममा व्यवस्थापकीय चासो दिनुपर्ने थियो ।’ उनी यस प्रकारका कमजोरीले आगामी दिनमा धोनीजस्ता ‘हाइ प्रोफाइल’का मानिसले नेपाल भ्रमण गर्ने निर्णय गर्नुअघि धेरै बेर सोच्ने बताउँछन् । यस्ता कमजोरीमा अतिथिले गुनासो गर्नेभन्दा आगामी दिनमा गरिने भ्रमणअघि सोच्ने बताउँछन् ।
यसअघि शनिबार बिहान नेपाल आउँदा विमानस्थलमा धोनी दम्पतीलाई ग्रहण गर्न नेपाली प्रतिनिधि तथा क्यान पदाधिकारीको उपस्थिति देखिएन । शनिबार दिउँसो कीर्तिपुर क्रिकेट मैदानमा भएको धोनीको भ्रमण व्यवस्थापन पनि अस्तव्यस्त थियो । मैदानमा खेलाडी र धोनी मात्र हुने जनाइए पनि क्यान पदाधिकारी र तिनका आफन्त मैदानको बीचमा फोटो खिच्न र अटोग्राफ लिन व्यस्त थिए । प्राय: सञ्चारकर्मी मैदानबाटै रहन बाध्य भए भने कतिपय फोटोपत्रकार तथा भिडियो पत्रकारले धोनीलाई प्रस्टसँग कैद गर्ने अवसरसमेत पाएनन् । क्यानका जिम्मेवार पदाधिकारी वातावरण सहज बनाउनेभन्दा पनि ‘आफ्ना’लाई मैदानमा प्रवेश गराउनमै व्यस्त रहे । भिड व्यवस्थापनमा प्रहरीले प्रयास गरे पनि त्यहाँ क्यान पदाधिकारी हराएजस्तै देखिएको थियो ।
अझ शनिबार साँझ होटल याक एन्ड यतीमा भएको अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन त भद्रगोल नै भयो । यस कार्यक्रममा क्यानको उपस्थिति देखिए पनि व्यवस्थापन सम्पूर्ण भारतीय दूतावासले गरेको पाइएको थियो । क्यान सल्लाहकार आमिर अक्तर अन्तरक्रिया हलको बाहिर व्यवस्थापनमा सक्रिय भएको देखिए पनि उनी त्यहाँ क्यान प्रतिनिधि भएको पटक्कै महसुस भएन । अन्य क्यान पदाधिकारी अन्तरक्रियाका सामान्य सहभागीझंै देखिए । अन्तरक्रिया कार्यक्रम ‘अन्तरक्रिया’ कम र फ्यान भेटघाट बढीजस्तो भयो । नेपाली क्रिकेट खेलाडी र सञ्चारकर्मीसँग उक्त अन्तरक्रिया कार्यक्रम राखिएको भनिए पनि त्यहाँ उपस्थित हुने धेरै धोनीलाई हेर्न र अटोग्राफ लिन गएजस्तो लाग्थ्यो ।
यसै विषयमा पूर्व राष्ट्रिय खेलाडी अग्रवाल कमजोर व्यवस्थापनका कारण नेपालले ‘ठूलो’ अवसर खेर फालेको बताउँछन् । ‘धोनीजस्तो खेलाडीको भ्रमणलाई नेपालले घरेलु क्रिकेट विकासका लागि केन्द्रित गर्नुपथ्र्यो,’ शनिबारको उक्त अन्तरक्रिया कार्यक्रममा देखिएको कमजोरीलाई इंगित गर्दै अग्रवाल भन्छन्, ‘यस कार्यक्रममा नेपाली खेलाडी र धोनीबीच अन्तरक्रिया हुनुपथ्र्यो, नेपाली खेलाडीले धोनीसँग कुरा गरेर धेरै कुरा सिक्न पाउँथे । उनको अनुभव हासिल गर्ने र आफ्ना अनुभव सुनाउने अवसर थियो नेपाली खेलाडीलाई तर हामीले स्थिति र अवसरलाई चिन्न सकेनौँ ।’
आइतबार बिहान भारत फर्कनुअघि धोनीले राष्ट्रपती डा. रामवरण यादवसँग शिष्टाचार भेटघाट गरेका थिए भने चेलिबेटी बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपाल पनि पुगेका थिए ।

प्रतिक्रिया