फोन लाइन काटेपछि डिएसपीको धम्की

काभ्रे, ४ असार । प्रहरीले प्रयोगमा ल्याएका टेलिफोन लाइनको महसुल संकलन नभएपछि लाइन काटिदिँदा नेपाल टेलिकम काभ्रेका प्रमुखले डिएसपीबाट धम्की पाएका छन् । टेलिफोन लाइन काटेकोमा आक्रोश पोख्दै डिएसपीले सुरक्षामा तलमाथि भए टेलिकमका प्रमुखलाई नछाडिने धम्की दिइएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा र दोलालघाट प्रहरी चौकीले नेपाल टेलिकमले प्रदान गरेको टेलिफोनको महसुल वर्षौं बित्दा पनि नतिरेपछि जेठको पहिलो साताबाट कार्यालयका टेलिफोन लाइन काटिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको ०११–४९००९९, इलाका प्रहरी कार्यालय बनेपाको ०११–६१११८८, दोलालघाट प्रहरी चौकीको ०११–४९८१०० नम्बरको टेलिफोन नेपाल टेलिकम बनेपा शाखाले सम्पर्क विच्छेद गराएको हो । जिल्ला प्रहरी कार्यालयको ०११–४९००९९ नम्बरको लाइनको मात्रै भदौ ०६७ देखि वैशाख ०६९ सम्मको एक लाख १५ हजार नौ सय ८५ महसुल प्रहरीले तिरेको छैन । प्रहरीले ९ फागुन ०६८ मा पाँच हजार तीन सय ११ रुपियाँ तिरेर लाइन नकाट्न टेलिकमलाई आग्रह गरेको थियो । इलाका प्रहरी कार्यालय बनेपाको ०११–६१११८८ नम्बरको टेलिफोन प्रयोगबापत् ७८ हजार तीन सय ६१ रुपियाँ तिरेको छैन । दोलालघाट प्रहरी चौकीले १५ हजार सात सय ४६ रुपियाँ तिर्न बाँकी छ ।
काभ्रेमा प्रहरी कार्यालयका मात्रै टेलिफोन काटिएपछि डिएसपी सुरेन्द्र मैनालीले टेलिकमका शाखा प्रमुख शिवजी शाहलाई अप्रत्यक्ष रूपमा जिल्लाको शान्तिसुरक्षामा तल माथि भए नछाड्ने चेतावनी दिएका थिए । प्रहरी र देशको संक्रमणकालीन अवस्थालाई ख्याल गर्दै टेलिकमले एकतर्फी लाइन काटिदिएको शाहले बताए । यो सुविधा प्रहरीबाहेक अन्य कुनै ग्राहकलाई उपलब्ध नगराएको शाहले जानकारी दिए । प्रहरीका काटिएका सबै टेलिफोन एकतर्फी मात्रै चल्ने गरेका छन् ।
टेलिकमले प्रहरी कार्यालयलाई समयमै रकम तिर्न एक दर्जनभन्दा धेरै पत्र पठाइसकेको छ । लाइन काट्नुअघि टेलिकम शाखाले सिडिओ रुद्रनाथ बस्याल, डिएसपी मैनाली र क्षेत्रीय कार्यालयमा जानकारी गराएका थिए । ‘लाइन काटेको महिना बितिसक्दासमेत प्रहरी पैसा तिर्न आउँदैन,’ शाहले भने । ‘डिएसपी मैनालीले जिल्लाको शान्तिसुरक्षामा केही भए तपाईंलाई छाड्दैनाँै भनेका छन्, हामीले प्रहरी र अन्य ग्राहकलाई गर्ने एउटै व्यवहार गर्ने भए पनि सुरक्षाको दृष्टिकोणले दुईतर्फी लाइन नकाटेर एकतर्फी मात्रै काटिदिएका छौँ,’ शाहले भने ।
गत वर्ष कात्तिकमा रकम नतिर्ने सेनाको पाँचखाल कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालयको समेत टेलिफोन लाइन काटिएको थियो । लाइन काटेलगत्तै ती कार्यालयले रकम तिरेको शाहले बताए । टेलिफोनको रकम नतिर्ने अधिकांश सरकारी कार्यालयको लाइन काट्ने अभियान नै सुरु गरेपछि प्रहरीबाहेक सबै कार्यालयले समयमै रकम बुझाउने गरेका छन् ।
बाँकी फोन डिएसपीको कब्जामा
जिल्ला प्रहरी कार्यालय काभ्रेको ०११–४९००९९ नम्बर एकतर्फी काटिदिएपछि डिएसपी मैनालीले कार्यालयका ०११–४९०२३० र ०११–४९०२०२ नम्बर आफू र लेखापालबाहेक अन्यलाई छुन दिएका छैनन् ।
प्रहरी कार्यालयका सूचना अधिकृतसमेत रहेका इन्स्पेक्टर राजेन्द्रबाबु रेग्मीले कार्यालय प्रयोजनका लागि समेत कार्यालयको टेलिफोन प्रयोग गर्न पाएका छैनन् । अर्का इन्स्पेक्टर भरत कार्कीसमेत कार्यालयको टेलिफोन प्रयोग गर्नबाट वञ्चित भएका छन् । कार्यालयका चालु अवस्थामा रहेका दुवै टेलिफोन डिएसपी मैनाली आफैँले नियन्त्रणमा लिएपछि कार्यालयका अन्य प्रहरी अधिकृतसमेत असन्तुष्ट बनेका छन् ।
यस्तै, डिएसपी मैनालीले कार्यालयमा बिदामा बसेका वा कुनै कारणले अनुपस्थित भएका मातहतका प्रहरीहरूको ट्राभल डेली एलाउन्समार्फत मासिक २८ हजार बुझेर आफैँले राख्ने गरेका छन् । केही समयअघि प्रहरी चौकी हिगुवापाटीका सई दीपक घिमिरेलाई गाउँ विकास समितिमार्फत प्राप्त गरेको आठ हजार रुपियाँ कार्यालयमा आफू खुसी खर्च गरेको भन्दै निलम्बन गरेका छन् । घिमिरेले आठ हजार रुपियाँमध्ये केही रकम कार्यालयमा भाँडाकुँडा किन्न खर्च गरेका थिए । मैनालीले घिमिरेलाई आफूअनुकूल काम नगरेको भन्दै अपराध अनुसन्धान विभागमा सरुवा गरिदिएका छन् ।

प्रतिक्रिया