कुलेखानी तेस्रोको निर्माण ३५ प्रतिशत मात्र

भैसे (मकवानपुर), ३ असार । ११ डिसेम्बर ०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण ३५ प्रतिशत मात्र पूरा भएको छ ।
आयोजनाको मुख्य सिभिल निर्माण ठेकेदार सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेपछि र बन्द–हडताल, विरोधका कारणले ढिलाइ हुँदा निर्माण सम्पन्न हुनुपर्ने ६ महिनापछि पनि बल्ल ३५ प्रतिशत निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समयमा आएर गत २५ पुसमा ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणले ठेकेदारसँग वार्ता गरी पुन: काममा फर्काएको थियो । वार्तापछि अब सेप्टेम्बर ०१४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ । ‘ठेकेदारले ठेक्का तोडेपछि र विभिन्न बाधा–अवरोधका कारणले आयोजना निर्माणमा ढिलाइ भयो, अहिलेसम्म सबै कामको प्रगतिको आधारमा ३५ प्रतिशत काम पूरा भएको छ ।’ आयोजना प्रमुख मधुसूदन प्रताप मल्लले भने ।
आयोजनाका अनुसार मुख्य सुरुङको चार हजार तीन सय मिटरमध्ये एक हजार चार सय पाँच मिटर पूरा भएको छ भने एडिट नम्बर १ को तीन सय सात मिटर, एडिट नं. ३ को एक सय ९८ मिटर, एडिट नं. ४ को एक सय ९० मिटर र पेनस्टक टनेलको दुई सय ३४ मिटर सुरुङ पूरा भइसकेको छ । त्यसैगरी एडिट नम्बर २ को चार सय ४८ मिटरमध्ये दुई सय १२ मिटर निर्माण पूरा भएको छ । ठेकेदार पुन: काममा फर्केपछि मुख्य सुरुङको काम थप ९५ मिटर सकिइसकेको बताइएको छ । अहिले प्रतिदिन ३.२८ मिटर सुरुङ खन्ने कार्य भइरहेको छ । सुरुङको ३‘ए’ साइटमा भने सुरुङ निर्माणमा माथिबाट अवरोध आएपछि ६ महिनादेखि निर्माण रोकिएको छ । विशेषज्ञ ल्याएर उक्त सुरुङ निर्माण छिट्टै गर्ने लक्ष्य आयोजनाको छ ।
३५ प्रतिशत मात्र काम पूरा भए पनि मकवानपुर जिल्लाको भैसेमा निर्माणाधीन १४ मेगावाटको उक्त आयोजनाको कुल लागत अर्ब ४३ करोड रुपियाँमध्ये एक अर्ब ४० करोड खर्च भइसकेको छ । ढिलाइका कारणले थप एक अर्ब रुपियाँ लगानी बढ्ने आयोजनाले जनाएको छ । ‘ठेकेदार कम्पनीलाई थप तिर्नुपर्ने, नयाँ परामर्शदाता नियुक्ति गर्नुपर्ने, बन्दहडतालका कारणले ठेकेदारहरूले दाबी गर्नेजस्ता थप एक अर्ब लगानी बढ्ने देखिएको छ ।’–आयोजना प्रमुख मल्लले भने । विवादका कारण प्राधिकरणले कुलेखानी तेस्रोमा परामर्शदाताका रूपमा काम गरिरहेको डब्लुआरसी हेड, सिल्ड र हाइड्रो इन्जिनियरिङलाई कालोसूचीमा राखेको थियो । त्यसपछि अहिले प्राधिकरणका अवकाश प्राप्त इन्जिनियर नियाज अहमतलाई परामर्शदाताका रूपमा नियुक्ति गरिएको छ । प्राधिकरणले विदेशी परामर्शदाता नियुक्ति गर्ने प्रक्रिया अघि बढेको छ ।
आयोजना स्रोतका अनुसार, समयमै भुक्तानी नहुनाका कारण सिनो हाइड्रोले दु्रतगतिमा काम गरेको छैन । आयोजना निर्माणमा चाहिने सबै उपकरण र सामग्रीहरू अभाव भए पनि सिनोले ल्याएको छैन । त्यस्तै डिजेलको कमी, शान्ति सुरक्षाको अभाव, बेलाबेलामा स्थानीयवासीबाट आउनसक्ने अवरोध, समयमै भुक्तानी नदिँदाको समस्या, विद्युत्गृहको डिजाइनको पुनरावलोकन गरी निर्माण, बन्द–हडतालको राजनीतिक अस्थिरता, विस्फोटक पदार्थ उपलब्धतामा ढिलाइलगायतका कारणले आयोजनामा अझै ढिलाइ हुने देखिएको छ । शनिबार आयोजनास्थल पुगेका ऊर्जासचिव हरिराम कोइराला, प्राधिकरण कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, प्राधिकरण उत्पादन निर्माण विभाग महाप्रबन्धक रामचन्द्र पाण्डेसँग सिनो हाइड्रोको आयोजना प्रबन्धक गोउ चाओजिईले समयमै भुक्तानी गर्न माग गरे । ‘समयमै भुक्तानी भएमा बाँकी रहेका दुई वर्षभित्र निर्माण पूरा गर्छौँ,’ उनले थपे, ‘तातोपानीमा उपकरणसमेत आइसकेका छन्, एक महिनाभित्र ल्याउँछौँ ।’
भुक्तानीमा ढिलाइ भइरहेकामा ऊर्जासचिव कोइरालाले भुक्तानीमा कुनै समस्या नहुने बताए । ‘भुक्तानीमा कुनै समस्या हुँदैन, ढिलाइ भए मन्त्रालय आउनू, तुरुन्तै व्यवस्था हुन्छ तर दुई वर्षभित्रै आयोजना सक्नुपर्छ,’ उनले भने ।
प्राधिकरण निर्देशक श्रेष्ठले थपिएको समयभित्रै आयोजना सम्पन्न गर्न सबै बाधा–अवरोध पन्छाउने बताए । ‘समयमै आयोजना सिध्याउनुको विकल्प छैन, भएका बाधा–अवरोध हुन दिँदैनाँै,’ उनले भने ।
बेलाबेलामा सुरक्षाको समस्या आएकाले समयमै आयोजना सम्पन्न गर्नका लागि ऊर्जा मन्त्रालयलाई अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘आयोजनामा चाहिने विशेष सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने पहल सुरु भइसकेको छ, ऊर्जा मन्त्रालयलाई चिठी लेखेका छौँ,’ उनले भने ।
प्राधिकरणको ७५ प्रतिशत र सरकारको २५ प्रतिशत लागतमा ४ एप्रिल २००८ मा कुलेखानी तेस्रोको निर्माण सुरु भएको थियो । आयोजनामा विदेशीसहित दुई सय ९० कर्मचारी संलग्न छन् ।

प्रतिक्रिया