टुँडाल सम्भोग कुण्ठाको विघटन

काठमाडौं खाल्डोका मन्दिर–मन्दिरमा रहेका टुँडालले हाम्रो अतीतको रहस्यको पर्दा उघार्छन् । कुनै बेला हाम्रो समाजको यौनसम्बन्धी मान्यता कति उदार थियो, समाज कति खुला थियो र यौनकर्म कति पवित्र थियो भन्ने तिनले देखाउँछन् । कालान्तरमा त्यो उदारता बाधित भयो, हाम्रा यौनाकांक्षी आनन्दमार्गीहरू क्याबिनमा भेटिन थाले । यसै मेसोले मलाई पनि टुँडालको यात्रा गरायो । यात्राको क्रममा सोचेँ, यो हाम्रो समाजको उदारता थियो कि त्यसका पछाडि कुनै अन्धविश्वास पनि जीवित थियो ? यसपटकको लोकेसन उपत्यकाका तिनै टुँडालहरू हुन् जहाँ पुगेपछि मानिस एकछिन उत्तेजनामा प्रवेश गर्छ ।
ख्वप कलेज पढ्दाका स्मृति । सूर्यास्तसँगै भक्तपुर दरबार स्क्वायरको पशुपति मन्दिरमुनि गर्लप्रेmन्डसँग बसेर छानातिर नियाल्दाका आकर्षक अनि कामुक टुँडालहरूको विम्ब अझै मनबाट हटेको छैन । एउटी किशोरीसँग बसेर हेर्ने हो भने लाज मान्न सकिने प्रशस्तै ‘अश्लीलता’ बोकेका छन् ती पुराना र कुँदिएका काठहरूले । तर, म कुशलतापूर्वक खोपिएको छिनोले कुमारी काठमा आघात गरेझैँ घाइते भइरहेको थिएँ । र, आफूलाई कलाको दर्शकका रूपमा सम्हाल्ने प्रयास गरिरहन्थेँ । ४५ डिग्रीको कोणमा छड्किएर मन्दिर एवं भवनका छानालाई भर दिने यी काष्ठकृतिले कैयौँ वर्षा अनि भूकम्पबाट मन्दिरलाई जोगाएका त छन् नै, ओत लाग्ने कैयौँ अनुरागीलाई आफ्ना विभिन्न मुद्रातर्फ आकर्षित पनि गरेका छन् (कोही आँखा छलेर भए नि त्यता हेर्छन् र पूर्वावस्थामा फर्कने प्रयास गर्छन्) । यसबाहेक टुँडालमा त्यस युगको प्रतिविम्ब हुन्छ जसका लागि विभिन्न खाले मानवाकृति कुँदिएको हुन्छ । तर, मन्दिरहरूमा चाहिँ यौनविम्ब बढी भएका कलाकृतिकै आधिक्य हुन्छ । कोकशास्त्रका अनुभूति गराउने यौनआसनका विभिन्न काष्ठचित्र मान्छेलाई पानीपानी बनाउने खालका छन् । र त, हातमा बट्र्रन्ड रसेलको बायोग्राफी लिएकी ती युवती मतर्फ एक मुस्कान फाल्थिन् अनि किताबले अनुहार छोप्थिन् । उनको अनुहार लाजले रातोरातो भएको हुन्थ्यो ।
कलेजमा फेसनजस्तै झाँगिएको बंक र डेटिङमा रमाउँदा दरबार स्क्वायरतिरका मन्दिरमा टुँडाल हेरिन्थ्यो, मस्तसँग । त्यसै बेलादेखि उनको र मेरो सान्निध्य बढ्न थालेको थियो । कतिपय साँझ टुँडालमुनि बसेर रोएकी थिइन्, मुस्कुराएकी थिइन् उनी । त्यतिखेर उनको अनुहार रुँदारुँदा कुनै गहिरो पीडामा परेकी थकित नाट्यकर्मी युवतीभैँm क्लान्त देखिन्थ्यो । आज फेरि दरबार स्क्वायरको पशुपति मन्दिरमुनि बसिरहँदा म फ्ल्यासब्याकमा पुगेको छु, टुँडाल हेरेर उनका अनुहारमा लाजका रेखाहरू एकाएक दौडिएका छन् । हुन त यसअघि मैले अँध्यारो कोठाको सस्तो सिडी प्लेयरमा साथीभाइको संगतमा परेर पद्मासन कस्तै कामुक चलचित्र पनि हेरेँ हुँला । तर, टुँडालमा कुँदिएका यौनविम्बले जागृत गराउने शृंगार तीभन्दा बेग्लै हुँदो रहेछ । त्यसबेला टुँडाल हेर्नु र अहिले हेर्नुमा केही फरक छ । अहिले यसका गूढ अर्थ र दार्शनिकता केही छ कि भन्नेतिर मेरो ध्यान गएको छ । सायद यो सांस्कृतिक अध्ययनको पाटो हो ।
नारी वा पुरुष जो होस्, कोही ती टुँडालनजिकै छ भने उसले चाहेरै पनि ती मूर्तिबाट आफ्नो ध्यान हटाउन सक्दैन । प्रत्येक टुँडालमा खोपिएका बुट्टा यसरी नै शताब्दियौँदेखि निर्वस्त्र छन्, सम्भोगरत । यी नांगा जीव जुरुक्क उठेर मसँग कपडा माग्न भुइँमा ओर्लन्छन् झैँ टाठा देखिन्छन् । यी यौनक्षुधाले प्रताडित नरनारीका भावभंगिमाहरूको अर्थ बुझ्नु, ती आकृतिका पछिल्तिर लुकेका दर्शन, इतिहास, समय र तिनले संकेत गरेका लक्षणको खोजी गर्नु बेग्लै काम हो । सायद यसले दार्शनिक स्तरमा हाम्रो समाजको निरन्तरता र खुलापन प्रतिविम्बित गर्छ ।
सैयौँ वर्षअघि निर्माण भएका यी सम्पदा वास्तवमै निकै कौतूहलपूर्ण छन् । हो, गयासुद्दीन तुगलक र शंकराचार्यले इतिहासका हजारौँ हजार महत्त्वपूर्ण सम्पदा नाश गरे । यसो भए पनि हाम्रा टुँडालले सभ्यता निर्माण गरेका छन्, हाम्रो कलामय अतीत, हाम्रा तत्कालीन विश्वास र हाम्रो जीवनदृष्टिलाई यिनले आफ्नो खुला पेटारोमा कोचेर राखेका छन् । भनौँ, औपचारिक घोषणा नगरिए पनि यी हाम्रो मुलुकका खुला संग्रहालय हुन् । मन्दिर, दरबार, सत्तलतिर आइरहने पर्यटकको एउटै जिज्ञासा हुन्छ– यहाँ रतिक्रियाका कला किन कोरिएका होलान् ? यसबारे अहिलेसम्म कतै ठ्याक्कै विश्लेषण गरिएको दृष्टान्त पाउनु दुर्लभ छ ।

म देखिरहेछु, भक्तपुर दरबार स्क्वायरको कामातुर नरनारी कुँदिएको टुँडालमा गुँड छ परेवाको । टुँडाल हेरेर सम्भोगमा लीन परेवाका भाले–पोथीले थोरै गीत दिन्छन् रोमान्टिक पलका । त्यहीँ तल एकजोडी केटा–केटी आलिंगनमा मस्त छन् । (म पर माथितर हेरी टोलाइरहेकी एक युवतीलाई मानसिक रूपमा आफ्नो नजिक तान्छु र टुँडालमा झैँ गर्न थाल्छु ) । सोच्छु, टुँडाल सधैँ ‘सेक्सी’ जीवन बाँच्छ । टुँडालका मान्छेहरू मैथुनरत हुन्छन् । तर, कुनै आवाज छैन । के यी मूर्ति मौन छन् ? यहाँ अवलोकनका लागि आएकाहरू चाँडै घर फर्कन थाल्छन् । एक कामुक (इरोटिक) गतिका साथ आफ्ना जोडीका लागि प्रार्थना गर्छन् र सिधै बेडरुममा दाखिला हुन्छन् ।
बुझ्न गार्‍हो छ– यौवन बाँकी भएकी मस्त विधवा आइमाईलाई आफ्ना नांगो कामुक देह देखाएर टुँडालले विधवाको सुहागरात किन सम्झाउँछ ? अनि आजभैँm त्यतिबेलाको हाम्रो समाजमा पनि सामूहिक मैथुन कर्म हुन्थ्यो र, हामीलाई यो दृश्य देखाइएको ? यसले हामीलाई के सन्देश दिन्छ ? तिमीहरू पनि यस्तै कर्मका फल हौ भनेको हो वा यसका पछाडि अन्य कुनै बलियो विश्वास पनि छ । यी प्रश्नको उत्तर खोज्नुअघि मेरो उमेरका केटाहरू उत्तेजनाले पागल हुन्छन् र टुँडालको छाया बोकेर कतैतिर कुलेलम ठोक्छन् ।
टुँडालमा मान्छेका आकृति विभिन्न पोजमा छन्, जसलाई कामशास्त्रमा आसन भनिन्छ । ती ठिंग उभिएका छन्, सुतेका छन्, बसेका छन्, कोही कतै फर्केर कोही कतैतिर फर्केर सम्भोग गरिरहेका छन् । टुँडालमा बैँसले उन्मत्त नभएका कुनै पनि नरनारी देखिन्नन् । तर, तिनमा पनि छन् महिलाहरूका खाटा नबसेका शताब्दीऔँ पुराना घाउ, जो सायद कहिल्यै निको हुँदैनन् । अथवा, यो कुनै पीडा नै होइन, फगत आनन्द हो, बहुगामिता हो, देहको सम्पूर्ण भोग हो ।
सबै समय बास बस्छ, टुँडालकै सेरोफेरोमा । हरेक साँझ घाम आमहत्या गर्छ टुँडालमै ठोक्किएर । ती सबै दृश्य टुँडालले हुेर्नुपर्छ, चुपचाप सहनुपर्छ । टुँडालका युवायुवती यति खुल्ला र निर्दोष छन् कि यिनको यौवनमा बिहे छैन, नाता–सम्बन्ध छैन, मायाको कर्के नजर छैन । के हो र किन छैन, छुट्याउन कठिन छ । तर, तिनले असीम आनन्दको भोग गरिरहेका छन् । भनौँ, तिनले त्यस पवित्र कर्मबाहेक केही जानेकै छैनन् । यौन सामाजिक स्वीकृति र परम्पराको बन्धन होइन, अझ बिहेमा बाँधिएको गृहस्थ मात्रैमा यसलाई सीमित गर्ने मानवनिर्मित संस्कारले प्राकृतिक सनातनीको सत्यानन्दलाई मेटाउन खोजेको छ । टुँडाल यसै भन्छन्, ‘मान्छे † तिमीहरू प्राकृतिक सिर्जना हौ किन आफैँले खडा गरेका कृत्रिम बन्धनमा आफूलाई बाँध्छौ र भित्र एउटा भएर बाहिर अर्कै देखिन्छौँ ?’

उपत्यकाका टुँडाललाई लिएर कृष्ण धरावासीले उपन्यासै लेखे– टुँडाल । टुँडाल निर्माणको वस्तुगत आधार नपाइए पनि धरावासीले विभिन्न किंवदन्ती र कल्पनाहरू उपन्यासमा प्रस्तुत गरेका छन् । ती कल्पना यो लेखमा उल्लेख गर्नु जरुरी छैन । उनले टुँडाल र भक्तपुरका वृद्धाहरूबीच के सामञ्जस्य देखे, किन सजीव पात्रहरूलाई टुँडालका यौनकलाका भोक्ता बनाए भनी बुझ्न पनि सजिलो छैन । इटालियन अन्वेषक जिसेप टुचीले नेपाली मन्दिरहरूमा पाइने यौन कलाकारितालाई मुख्य विषय बनाएर सन् १९६० तिर किताब लेखेका छन्– ‘रतिकला’ । किताबमा ठिमी, ठमेल, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायरका नेपाली न्युड–आर्टस्को सभ्यता, इतिहास खोतलेका छन् । यौनलाई उनले ‘प्रेमको खेलकुद’ (स्पोर्टस् अफ लभ) मानेका छन् ।
पौराणिक कहानीहरूमा आधारित भएर टुँडालमा न्युड–आर्ट खोपिएका छन् । त्यहाँ कुँदिएका कथा त्यसै समाजका हुन् । भगवान् श्रीकृष्णका १६ सय गोपिनी थिए । गोपिनीहरू श्रीकृष्णका पत्नी थिएनन्, बरु प्रेम र सौन्दर्यबाट सिर्जित आत्मविलयन थियो जसलाई अनुदार समाजले सिधै यौनसँग गाँस्यो र त्यही मिथकबाट आफ्ना यौन कुण्ठा मेटाउने क्षणिक आनन्द लियो । राणा, मल्ल, शाह शासकले पनि बहुविवाह गरे । मल्लकालीन राजा योगनरेन्द्र मल्लले ४४ जना श्रीमती बिहे गरे । ३३ रानीहरू त योगनरेन्द्रसँगै सती गएको इतिहासमा लेखिएको छ । त्यसैले टुँडालहरू पौराणिक कालदेखि शासकका पालासम्मको जीवनशौलीको प्रतिविम्ब हो भन्न सकिन्छ । उसबेलाका सिद्धहस्त कलाकर्मीले रचेका प्रतिभाशाली रचना हुन् यी सम्पदा ।
घर छोडेर शान्ति र जीवनको खोजीमा हिँड्ने बैरागी दिनानुदिन बढ्दै थिए । बैराग्यहरू कि त मठ–मन्दिरतिर पुग्थे कि आत्महत्या गर्थे । राज्यमा परिवारमोह तथा दाम्पत्यमोह भंग हुँदै गएको थियो । नागरिकको बढ्दो वैराग्यपन र भंग भएको दाम्पत्यमोहलाई दूर गर्न, तिनीहरूको मन बहलाओस्, वैरागीहरूले यौनकला सिकून् भन्ने हेतुले उसबेलाका शासकहरूले मन्दिरतिर उत्तेजनायुक्त कला बनाउन लगाएको हुनसक्ने अनुमान गर्छन् केही ‘बौद्धिक’हरू । अनि, यौन–शिक्षाको सहज माध्यम कलालाई बनाएर सबैभन्दा बढी मानिस पुग्ने धार्मिक स्थलमा न्युड–आर्ट राखिएको हुनसक्छ ।
‘नांगा चित्रहरूले खराब सोच, भूतप्रेत, पिसाच, डंकिनी, राक्षस अपसकुन मन्दिरभित्र पस्न सक्दैनन् र देउताको रक्षा हुन्छ । यस्ता कलाले चट्याङ पर्नबाट पनि रोक्छ,’ मेरी हजुरआमाले अथ्र्याएको उद्धरण हो यो । अचम्म लाग्छ, अहिले पनि हामीकहाँ सहज बन्न नसकेको यौन, यौनशिक्षा र नग्नताजस्ता अश्लील क्रियाकलापलाई हाम्रा शासक र उसबेलाका मान्छेहरूले कसरी सहज रूपमा पचाएका थिए होलान् ?
शिवलिंग, यौनमुद्राका ८४ आसन, वात्सायनको कामसूत्रमा उल्लेखित प्रयोगवादी यौनसाहित्य, कोकशास्त्रलगायत यौन साहित्यसम्बन्धी पूर्वीय दर्शनमा उल्लेखित विभिन्न तर्क, अहिलेका नीला चलचित्रका उत्तेजक दृश्यहरूलाई समेत हाम्रा टुँडालहरूले उछिन्न सक्छन् । हिन्दूधर्म र बुद्धधर्मसँग सम्बन्धित सयौँ घटना यौन क्रियाकलापसँग सम्बन्धित छन् । लाग्छ, टुँडाल एउटा यौन संग्रहालय हो ।
भनिन्छ, चीनमा प्राचीन बादशाहहरूले आफ्ना रानीहरूको यौनसम्बन्ध आफूसँग मात्र सीमित राख्न उनीहरूको योनिमा ताल्चा लगाउने गरेको इतिहास त्यहाँको यौन संग्रहालयमा जीवित छ । सुन वा तामाको पेन्टीजस्तो साधन योनिमा राखेर त्यसमा ताल्चा लगाउने र आफूलाई चाहिएको समयमा खोल्ने गरेको कथा छ, जुन पेन्टी अहिले चीनको संग्रहालयमा छ । हाम्रा न्युड–आर्टहरू संग्रह गर्न कुनै निजी संग्रहालय चाहिँदैन, टुँडाल नै सार्वजनिक यौन संग्रहालय हुन् । स्वागत छ उत्सुकहरू † हनुमानढोका, पाटन र भक्तपुर दरबार स्क्वायरका मन्दिरमा आउनुहोस्, तपाईंले नजानेको वा प्रयोग गर्न नसकेको यौन कला फेला परिहाल्छ कि ?

यी पुराना मन्दिरतिर पुग्दा लाग्छ, समय बडो सेक्सीे छ । केटाकेटी एकाबिहानै ‘डेटिङ’ गर्न मन्दिर पुग्छन्, अँगालो मार्छन्, ओठमा ओठ जोड्छन् । युवायुवतीमा आएको ‘चेन्ज’ लाई रिफ्रेस गराइदिन्छ– टुँडालले । देवताका कामोत्तेजक टुँडालले मज्जासँग कस्छ केटाकेटीलाई । यिनीहरूलाई के थाहा–टुँडालको रहस्यमय कहानी † टुँडालले त मात्र उत्तेजित तुल्याउँछ । ‘चट्याङ नपरोस् भनेर टुँडालमा यौनआकृति बनाइएको’ भनिन्छ । टुँडालमा चट्याङ पर्छ/पर्दैन थाहा छैन, टुँडाल देखेर सेक्सी मुन्नामुन्नीको मनमा चाहिँ पक्कै चट्याङ पर्छ । र, कुनै अँध्यारो गल्लीमा टुँडालका यौनविम्बहरू सँगाल्दै मुन्नीहरू मायाको अन्तिम विकल्प निकाल्न तयार हुन्छन् र बदनाम हुन्छन् । काठमाडौंका मायालोकमा विलीन हुन्छन् । र, सयौँ टुँडालहरू बनाउँछन्, स्थापत्य खडा गर्छन् । बुढिन्छन्, शान्तिको खोजमा त्यसै मन्दिरभित्र पस्छन्, जहाँबाट मानिस उम्केर बाहिर आउन सत्तैmन ।
यी टुँडालका चित्र र यसका पुराना कविता आज लेखिएन भने भोलि टुँडालको मृत्युमा भविष्यले आजको, हिजोको, शताब्दीऔँदेखिको इतिहास गुमाउनेछ ।

प्रतिक्रिया